काठमाडौं : केन्द्रीय पञ्जीकरण विभागले आर्थिक वर्ष ०७३÷७४ मा २२ लाख ८९ हजार २ सय ८२ लाई सामाजिक सुरक्षा भत्ता दिने भएको छ ।
विभागले ७० वर्ष उमेर नाघेका ज्येष्ठ नागरिक, दलित र कर्णाली अञ्चलका ६० वर्ष नाघेका ज्येष्ठ नागरिक, एकल महिला, विधवा, लोपोन्मुख जाति, अपांग भएका व्यक्ति र दलित तथा कर्णाली अञ्चलका ५ वर्ष नपुगेका बालबालिकालाईसमेत सामाजिक भत्ता दिन लागेको हो ।
जसमा ७० वर्ष उमेर नाघेका ज्येष्ठ नागरिकलाई भत्ता १ हजार र औषधि उपचारका लागि १ हजार गरी मासिक २ हजार दिनेछ भने दलित र कर्णाली अञ्चलका ६० वर्ष नाघेका ज्येष्ठ नागरिक, एकल महिला, विधवा, लोपोन्मुख जातिलाई मासिक १ हजार दिइनेछ ।
यस्तै अपांगता भएका व्यक्तिको हकमा पूर्ण अपांग (रातो कार्ड) प्राप्त गरेकालाई २ हजार र अति अशक्त (निलो कार्ड) प्राप्त गरेकालाई ६ सय दिइनेछ । यसैगरी दलित र कर्णाली अञ्चलका ५ वर्ष उमेर नपुगेका बालबालिकालाई मासिक ४ सय दिइनेछ ।
विभागका सूचना अधिकारी खिलप्रसाद सुवेदीले विभागले सामाजिक सुरक्षा भत्ताका लागि ३२ अर्ब ६९ करोड ९९ लाख ९९ हजार रकम छुट्याएको जानकारी दिए ।