
इलाम : इलामको माङसेबुङ गाउँपालिका-३ स्थित चतुरे बजारमा मङ्गलबारदेखि ‘चतुरे बजार कृषि तथा पर्यटन महोत्सव’ सुरु भएको छ । चतुरे बजार कृषि तथा पर्यटन प्रवर्द्धन समितिको आयोजनामा वैशाख १ गतेसम्म सञ्चालन हुने महोत्सवको उद्घाटन माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले गरे ।
महोत्सव अन्तर्गत पहिलो दिन आज खुला नकआउट फुटबल प्रतियोगिता, कृषि तथा व्यापार प्रदर्शन, पिङ, स्वीङ झुल्लालगायत सुरु भएको । उद्घाटन खेलमा एमपीसी मानपुर र काका एफसी विजयी भएका छन् ।
उद्घाटन खेलका लागि गगन एफसी निर्धारित समयमा मैदानमा उपस्थित नभएपछि एमपीसी मानपुर स्वत विजेता घोषित भयो । दोस्रो खेलमा पावा एफसीलाई ७-० गोलको फराकिलो अन्तरले पराजित गर्दै काका एफसी विजयी बन्यो । काकाको जितमा मनोज जिम्बू र ओसन चाम्लिङले ह्याट्रिक गरेका थिए भने आशिस लावतीले एक गोल थपेका थिए ।
प्रतियोगिता अन्तर्गत बुधबार गोर्खे स्पोर्टिङ क्लब र युथ अफ माङसेबुङ एवम् दोस्रो खेलमा इभाङ ३ एफसी र चर्ज बोइज माङसेबुङबिच प्रतिष्पर्धा हुने खेलकुद संयोजक प्रविन लिम्बूले जानकारी दिए ।
फुटबल प्रतियोगितामा झापा, इलाम र पाँचथरका १६ टिमको सहभागिता रहेको छ । फुटबलका विजेता टिमले नगद ५० हजार र उपविजेता टिमले नगद ३० हजार रुपैयाँसहित ट्रफी पाउनेछन् ।
महोत्सव अन्तर्गत भेट्रान्स फुटबल प्रतियोगिता, मैत्रीपूर्ण महिला फुटबल, मैत्रीपूर्ण कर्मचारी र शिक्षक फुटबल एवम् मैत्रीपूर्ण जनप्रतिनिधि र पत्रकारबिच समेत मैत्रीपूर्ण खेल हुनेछ ।

महोत्सवसँगै फुटबल प्रतियोगिताको उद्घाटन माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले गरेका थिए । महोत्सव वैशाख १ गतेसम्म सञ्चालन हुने महोत्सवमा कृषि तथा व्यापार प्रदर्शन, पिङ, स्वीङ झुल्ला, कृषिजन्य सामग्री प्रदर्शनी, व्यापारिक स्टल तथा सांगीतिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन हुनेछन् ।
चैत ३० गते कलाकार पदम राई र सम्झना योङहाङसहित अन्य स्थानीय कलाकारको साँगीतिक प्रस्तुती रहनेछ भने नयाँ वर्षको दिन वैशाख १ गते गायक प्रमोद एण्ड परम्परा ब्याण्ड र सिद्धान्त एण्ड लोटस ब्याण्डको साथमा अन्य स्थानीय कलाकारको प्रस्तुती रहनेछ ।
स्थानीय कृषि उत्पादनको प्रवर्द्धन, पर्यटन सम्भावनाको प्रचारप्रसार, स्थानीय व्यापार व्यवसायको विकास तथा युवाहरूलाई खेलकुद र सांस्कृतिक गतिविधिमा संलग्न गराउने उद्देश्यले ‘चतुरे बजार कृषि तथा पर्यटन महोत्सव’ आयोजना गर्न गरिएको आयोजक समिति अध्यक्ष पूर्णबहादुर राई (रोशन) ले बताए ।
महोत्सवका लागि माङसेबुङ गाउँपालिकाले छ लाख रुपैयाँ सहयोग गरेको आयोजक समिति सचिव अनिस सुनुवारले जानकारी दिए ।
् 



















































