दक्षिण कोरियाले २०१७ का लागि ५६ हजार प्रवासी कामदार भित्र्याउने

सोलः दक्षिण कोरियाले २०१७ का लागि ५६ हजार प्रवासी कामदार भित्र्याउने भएको छ। प्रवासी मजदुर नीति तथा कोटा निर्धारण प्रणाली (ईपीएस) लागू गरिएका १६ मुुलुकबाट ५६ हजार कामदार भित्र्याउने निर्णय गरेको हो।

यो संख्यामा नयाँ र पुनः प्रवेश गर्ने दुबै कामदार रहनेछन्। तीमध्ये दुई हजार कामदार कम्पनीले मागेमात्रै आपूर्ति गरिनेछ। ४१ हजार ६ सय ६८ जना अवधि सकिएर फिर्ता हुनेहरुको ठाउँमा पूर्ति गरिनेछ। समितिले १० हजार अबैधानिक आमदार फिर्ता हुने अनुमान गरेको छ। उक्त संख्या पूरा गर्न सोही बराबर कामदार भित्र्याउने निर्णय कोरियाले गरेको छ। यस्तै चार हजार तीन सय ३० जना नयाँ कामदार माग गरिने भएको छ।

निर्धारित कोटाबाट उत्पादन क्षेत्रका लागि ४२ हजार तीन सय कामदार छुट्याइएको छ। यस्तै कृषि तथा पशुपालन क्षेत्रका लागि ६ हजार ६ सय कामदारले प्रवेश पाउने छन्। यसैगरी मत्स्यपालनमा दुई हजार ६ सय, निर्माणमा दुई हजार चार सय र सेवा क्षेत्रमा एक सय कामदार भित्र्याउने समितिले निर्णय गरेको छ। नव प्रवेशी कामदारहरु ४३ हजार हुनेछन् भने १३ हजार सीबीटीमार्फत आपूर्ति गरिनेछ।

निर्धारित कोटालाई चार चरणमा पूर्ति गर्ने समितिको निर्णय छ। कुल माग गरीएका कामदारलाई जनवरी, अप्रिल, जुलाई र अक्टुबरमा संख्या छुट्याएर माग गरिने छ। कोटा निर्धारण समितिका अनुसार २०१७ का सुरुका तीन महिनाका लागि १० हजार पाँच सय ३० कामदारले कोरिया प्रवेश पाउनेछन्। अप्रिल, मे र जुनका लागि १० हजार तीन सय २० कामदारलाई कोरिया ल्याइनेछ भने जुलाई, अगष्ट र सेप्टेम्बरमा सबैभन्दा बढी १० हजार पाँच सय ५० मजदुर कोरिया भित्र्याउने निर्णय समितिले गरेको छ।

वर्षको अन्तिम तीन महिनामा ९ हजार ६ सय कामदार कोरिया आउनेछन्। नेपाली कामदारहरुलाई सेवा, निर्माण र मत्स्यपालनमा काम गर्न अनुमति खुला गरिएको छैन।

अवैधानिक कामदारमा नेपाली सबैभन्दा कम
समितिले ईपीएसअन्तर्गत आएर बिना भिसा काम गरिरहेका मजदुरका साथै अन्य माध्यमबाट आएर काम गरिरहेको प्रवासी मजदुरको संख्या पनि सार्वजनिक गरेको छ। ईपीएसअन्र्तगत आएर बिना भिसा काम गर्ने प्रवासी मजदुरको संख्या ३८ हजार ७२ छ। ईपीएसअन्तर्गत दुई लाख ३३ हजार ६३ कामदार कोरियमा कार्यरत छन्।

यस्तै अन्य माध्यमबाट प्रवेश गरी बिना भिसा काम गर्नेको संख्या एक लाख ७४ हजार ७३ छ। अवैधानिकमध्ये सवैभन्दा बढी भियतनामी छन्। भियतनामी अवैधानिक कामदारको संख्या १४ हजार ४ सय ७० छ। सवैभन्दा कम अवैधानिक कामदार भएको नेपालीको संख्या सात सय ७३ मात्रै छ। कोरियामा २९ हजार ३ सय १५ जना नेपाली कामदार कार्यरत छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार