वान कि मुनले कोरियाको राष्ट्रपतिमा प्रतिस्पर्धा गर्न सक्ने

संयुक्त राष्ट्रसंघ: संयुक्त राष्ट्रसंघबाट बिदा हुन केही दिन बाँकी रहँदा महासचिव बान की मुनले दक्षिण कोरियाको राष्ट्रपतिका रूपमा प्रतिस्पर्धा गर्न सक्ने सम्भावना व्यक्त गरेका छन् । राष्ट्रसंघ प्रमुखका रूपमा ‘अन्तिम पत्रकार सम्मेलन’ गर्दै दक्षिण कोरियामा राजनीतिक समस्या पैदा भएको र आफूले यस्तो धारणा बनाएको बताएका छन् ।

कोरियाली राजनीतिमा बानको पुनः संलग्नताको सम्भावनालाई बताउँदै उनले भने, ‘मैले अझै १५ दिन राष्ट्रसंघमा बिताउन बाँकी छ । म अहिले पनि संयुक्त राष्ट्रसंघको महासचिव हुँ । राष्ट्रसंघबाट बिदा भएपछि केही समय आराम गर्ने र त्यसपछि कोरिया फर्किने योजना छ ।’

कोरियामा फर्केपछि आफू राजनीतिक भेटघाटमा व्यस्त हुने पनि उनले जानकारी दिएका छन् । ‘मैले राजनीतिक नेतृत्वसहित सकेसम्म धेरै जनतालाई भेट गर्नेछु र मेरो राष्ट्रका लागि सकेसम्म गम्भीर रूपमा सोचेर विचार लिनेछु’, महासचिव वानले भने । दक्षिण कोरियाले अहिले ‘राजनीतिक अस्तव्यस्तता’को अवस्थामा रहनुपरेको बताउँदै भने, ‘मलाई थाहा छ कोरियाली जनताले समावेशी नेतृत्वका लागि अभिलाषा प्रकट गरेका छन् ।’

उनीहरूको सामाजिक एकीकरण, पुनर्मिलन र अति परिपक्व प्रजातान्त्रिक संस्थाको चाहलाई अब आउने नेतृत्वले सम्बोधन गर्नुपर्ने छ ।दक्षिण कोरियाका पूर्व विदेशमन्त्रीका रूपमा समेत अनुभव भएका ७२ वर्षीय नेताले वर्तमान राष्ट्रपति पार्ककै दलबाट अर्को वर्षमात्रै निर्वाचनमा प्रतिस्पर्धा गर्न सक्ने योजना भएको अनुमान गरिएको छ ।

‘मलाई थाहा छ, दक्षिण कोरियाली जनताले कडा संघर्षबाट प्राप्त गरेको प्रजातन्त्र र आर्थिक विकासलाई गुमाउन चाहन्नन्, किनकि यसैका कारण दक्षिण कोरिया विश्व जगतसँग सहयोगको याचना गर्नुपर्ने राष्ट्र एक समृद्ध र दाता बन्न सफल भएको छ । यो कोरियाली जनताले गर्ने एउटा गर्वको विषय हो ।’

जनताको हितमा काम गर्ने लचिलो र परिपक्व प्रजातान्त्रिक मुलुकका कोरियाली जनताले छिटै विद्यमान समस्याबाट मुक्त हुनेछन् । रासस/एएफपी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार