दानाबारी : वारीपटी पुर्व प्रधानमन्त्री झलनाथ खनालको निर्वाचन क्षेत्र र पारी पटी पुर्व सभामुख सुवासचन्द्र नेम्वाङको निर्वाचन क्षेत्रको सिमानामा रहेको माइखोलामा पुल निर्माण अलपत्र छ ।
बर्खाको समयमा जोखिम मोलेर बाढी तर्नुपर्ने या त पुरानो डुँगामा नदी तर्नु बाहेक स्थानीयसँग अन्य विकल्प छैन । दक्षिण इलामको दानावारी–८ र महमाई–८ स्थित माइखोलामा गत शुक्रवार (असोज २८ गते) पुल नहुनुको यही नियतिको शिकार भए दसैँ मान्न हिँडेका सर्वसाधारण ।
कोही टिका लगाउन महमाईतिर जाँदै थिए, कोही टिका लगाएर आफनो गन्तव्य तर्फ फर्किदै । सवैलाई गन्तव्यसम्म पुग्न हतारो थियो त्यही अवसरको मौका छोपेर डुङगा चालकले आफु खुशी सय देखि २ सयसम्म असुलेर गुन्द्रुक खाँदै झै यात्रुहरुलाई खोला पार गराइरहेको थियो । सधै दोभानभन्दा केही परबाट खोला तार्न संचालकले दशैको मौका छोपेर लोदिया र माइखोला जोडिने दोभानबाट यात्रु पार गराइरहेको थियो । कति यात्रु आए कति गए भन्नेसम्म संचालकलाई जानकारी थिएन । त्यही भार थेग्न नसकेर पुरानो डुङगा करिव ६० जनासँगै माइमा डुव्यो । हेर्दा हेदै माइखोलामा ह्वारह्वारती मानिसहरु बग्न थाले कोही पौडिएर किनार तिर आए त कोही नदीको बेगसँग बगेर गए ।
खोलाबाट उद्धार गरिएका ३४ जनाले नयाँ जीवन पाए भने ८ जनाको अमुल्य जिवन माइखोला बिलायो । हेदौ हेदै दसैँको उल्लासलाई शोकमा परिणत गर्दै मुलुकलाई नै स्तब्ध पा¥यो । यो घटनापछि कसैले क्षमताभन्दा बढी यात्रु खाद्ने डुङ्गा सञ्चालकलाई दोष दिए भने कतिले एउटा पुल पनि बनाउन नसक्ने राज्य र जनताको प्रतिनिधित्व गर्ने नेतालाई । कसै कसैले आत्मसुरक्षामा ध्यानै नदिइ डुङ्गामा चढ्न जाने यात्रुलाई पनि दोष दिएका छन् । दुर्घटना कसैको रोजाई हुन्न, यो एउटा आकस्मिक घटना नै हो । तर बर्षौदेखि जनताले भोगिरहेको दुःख नदेख्ने र एउटा पुल समेत समयमा बनाउन नसक्ने हाम्रो राज्य र सोही क्षेत्रका जनप्रतिनिधि यस्ता दुर्घटना निम्तिनुमा नैतिक रुपले जिम्मेवार छन् । उनीहरूले यसको अनुभूति अलि बढी मात्रामा गर्नै पर्छ ।
झापाबाट दानावारी हुँदै महमाई, लारुम्बा हुँदै राँके, रविसम्म जाने यो चल्तीको बाटो हो । हिउँदमा दुखः सुख खोलै खोला भए पनि बस चल्ने गर्छ । बर्खाको असारदेखि असोजसम्म डुङ्गामा भर पर्नु बाहेक दक्षिणी इलामको अन्य विकल्प छैन । जहाँ डुङ्गा बग्यो, त्यहाँबाट ८ सय मिटर उत्तरमा पक्की पुल बनाउन पूर्व सभामुख सुभाष नेम्वाङले २०६९ सालमा शिलान्यास गरे । चुनावमा भोट माग्दा नेम्वाङ र खनाल दुबैले माइखोलामा पक्की पुलको आश्वासन पटकपटक दिएरै चुनाव जिते । २०६९ असार २६ गते काठमाडौँको सूर्य इलाइट जेभीले निर्माण सुरु गरेको पुलको एघार पिल्लरमध्ये अहिलेम्ममा २ वटा पिल्लरमा मात्र स्ल्याव हालिएको छ । अरु पिल्लर बुच्चै छन् ।
पूर्व सभामुख नेम्वाङ र पूर्व प्रधानमन्त्री खनालले आफ्नो चुनाव क्षेत्रमा पर्ने यति महत्वपूर्ण पुलको काम द्रुत गतिमा अघि बढाउनका लागि राज्यलाई अग्रसर गराउने सामथ्र्य राख्दैनन् भनेर कसैले पत्याउन सक्दैन । विगतमा यो स्थानमा पक्की पुल नभएपनि झोलुङ्गे पुलमात्र बनिदिएको भएपनि यत्रो विपत आउने थिएन ।
विगत १ दशकदेखि यहाँ डुङ्गा सञ्चालनलाई व्यवसाय बनाइएको छ । महमाईका परशुराम बाँस्तोलाले बर्खाका चार महिनामा डुङ्गा चलाएर लाखौँ आर्जन गर्थे । इलाम जिविसले वार्षिक रुपमा कहिले ५ हजार र कहिले १० हजार रुपैयाँ कर असुल्ने गथ्र्यो । स्थानीय पुलिस र दादाहरूले पनि डुङ्गा सञ्चालकबाट सलामी पाउने गरेको आरोप छ । तर राज्यले कर समेत असुल्ने डुङ्गा सेवा सुरक्षित र भरपर्दो हुनु पर्छ भन्नेतर्फ न त इलाम जिविस, न त सुरक्षा निकायकै ध्यान गयो । दुर्घटना भइसकेपछि मात्र यात्रु सुरक्षाका विषयमा सबैको ध्यान आकर्षित भएको छ । शुक्रवार दिउँसोको त्यो दुर्घटनापछि यात्रुको चाप र आवश्यकतालाई ध्यानमा राखेर फेरि डुङ्गा सञ्चालनमा ल्याइएको छ । तर यसपटक यात्रुको सुरक्षामा बढी ध्यान दिइएको छ । नेपाली सेना र नेपाल प्रहरीले स्थानीय गाविसलाई दिएको १७ वटा लाइफ ज्याकेट यात्रुलाई लगाउन दिएर मात्र डुङ्गाको यात्रा गराउन थालिएको छ ।
प्रहरी र स्थानीय गाविसका कर्मचारी डुङ्गा सेवाको अनुगमनमा निरन्तर खटिन थालेका छन् । चन्डालघाट र कोदोवारी गरी दुई गौडामा डुङ्गा चलाइएको छ । हरेक यात्रुको नाम र ठेगाना रेकर्ड गर्न थालिएको छ । एउटा डुङ्गामा १५ जना भन्दा बढीलाई यात्रा गर्न प्रतिबन्ध लगाइएको छ । भरखरै जिल्ला स्थित दैविक प्रकोप उद्धार समितिको बैठकले प्रति मृतकलाई १ लाख रुपैया दिने निर्णय ग¥यो । त्यसै गरी कार्तिक २ गते जिविसको सर्वदलिय बैठकले प्रति मृतकलाई १० हजार रुपैयाँ राहत दिने निर्णय ग¥यो ।
यात्रुको सुरक्षामा अहिले जस्तो व्यवस्था यस अघि पनि गरिएको भए विपत झेल्नु पर्ने थिएन भन्छन् स्थानीयबासी । आठ आठ जनाले ज्यान गुमाएपछि चेत खुलेको राज्यले अब चाहिँ छिटै त्यो पुलको निर्माणलाई उच्च प्राथमिकता देला कि !