हिचानको आन्दोलनले प्रा.डा. मङ्गलसिद्धि मानन्धरलाई सधैं सम्झिरहने छ

Dr Manandhar1
बहुआयामिक व्यक्तित्व प्रा.डा. मङ्गलसिद्धि मानन्धर

सानुराजा शाक्य

व्यक्तिगत स्वार्थलाई नै प्रमुख मानिरहेको भए स्वर्गीय प्रा.डा. मङ्गलसिद्धि मानन्धर बाचुञ्जेल सत्ताको महत्वपूर्ण स्थानमा रहन सक्थे । तर, आफ्नो व्यक्तिगत स्वार्थलाई तिलाञ्जली दिई नेपालका उत्पीडित समुदायको हक, हित संविधानमा लेखाउन र पहिचान सहितको संघीयताको पक्षमा जीवनको अन्तिम समयसम्म आफूलाई उभ्याउनुभयो । प्रा.डा. मानन्धर भूगोलका मात्र गुरु थिएनन् नेपाललाई समृद्धि दिन सक्ने किसिमको पहिचान र सामथ्र्यलाई मिलाएर राज्यपुनर्संरचना गर्ने भूगोलकै पनि गुरु हुनुहुन्थ्यो । पहिलो संविधानसभामा राज्यपुनर्संरचना तथा राज्यशक्ति बाँडफाँड समितिको सदस्य भएर पहिचानका पाँच आधार र सामथ्र्यका चार आधारमा १४ प्रदेशको राज्यपुनर्संरचना प्रस्तावको रचनाकारको रुपमा विशेषज्ञताको समेत भूमिका खेल्नुभएको थियो । त्यस समितिमा रहेका त्यसबेलाका सभासद्हरू धेरैलाई अहिले पनि सम्झना होला ।
काठमाडौंको भित्री शहरमा जन्मी हुर्केका प्रा.डा. मानन्धर युवा अवस्थादेखि नै सामाजिक क्षेत्र, खेलकुद र राजनीतिमा क्रियाशील हुनुहुन्थ्यो । साथै नेपालभाषाको भाषिक कार्यकर्ताका रुपमा पनि क्रियाशील हुन रुचाउनुहुन्थ्यो । युवा अवस्थामा वहाँ खेलकुद र त्यसमाथि पनि फुटबलको अब्बल खेलाडी नै हुनुहुन्थ्यो त्यसैले त्यसबेलाको ‘ए’ स्तरको फुटबल क्लब न्यूरोड टेबहालको संकटा क्लबबाट फुटबलको खेलाडीको रुपमा लोकप्रियता हासिल गर्नुभएको थियो । पछि त्यस क्लबबाट फुटबल टोलीको क्याप्टेन भएर ‘ए’ क्लबको फुटबल प्रतियोगितामा सहभागिता जनाई नेपालको राष्ट्रिय फुटबल खेलाडीको रुपमा परिचित हुनुभयो ।
खेलकुद, राजनीति र समाजसेवामा मात्र होइन कि वहाँ अध्ययनमा पनि अब्बल हुनुहुन्थ्यो । त्यसैले पनि अमेरिकाको अक्लोहामा विश्वविद्यालयबाट भूगोलमा विद्यावारिधि गर्न छात्रवृत्ति प्राप्त गरी सन् १९७३ मा विद्यावारिधि गरी नेपाल फर्कनुभयो । नेपाल फर्केपछि नेसं. १९७९ देखि त्रिभुवन विश्वविद्यालयको त्रिचन्द्र कलेजमा भूगोलको शिक्षक हुनुभयो । शुरुदेखि नै वामपन्थी राजनीतिमा रहेको कारणले वहाँ त्रिभुवन विश्वविद्यालयमा प्रगतिशील प्राध्यापक संघमा क्रियाशील रहनुभयो । त्यसबेला नेपाली कांग्रेस नजिकको प्रजातान्त्रिक प्राध्यापकहरूको प्रभाव त्रिभुवन विश्वविद्यालयमा अधिक थियो । वामपन्थी पार्टीहरू विभाजित रहेको अवस्थामा विश्वविद्यालयमा प्रगतिशील प्राध्यापकहरू कमजोर अवस्थामा पनि विश्वविद्यालयमा प्रगतिशिल प्राध्यापकहरू नेतृत्व गरी विसं २०३९ सालमा त्रिभुवन विश्वविद्यालयको प्राध्यापक संघमा सभापति निर्वाचित हुनुभयो । प्रगतिशील प्राध्यापकहरूको तर्पmबाट सभापतिमा उम्मेदवार दिने व्यत्तित्वको समेत खडेरी पर्ने त्यस अवस्थामा समेत वहाँले खुलेर प्रगतिशील प्राध्यापक संघबाट सभापतिको उम्मेदवार हुन तयार हुनुभयो । त्यसबेला प्रगतिशिल प्राध्यापक संघ भुमिगत नेकपा (माले)को नजिकको भातृसंगठन थियो । यसरी वहाँले प्राध्यापक राजनीतिमार्पmत त्यसबेला नेकपा मालेको संगठन विस्तार गर्न भूमिका खेल्नुभयो । वहाँ जस्तो बौद्धिक व्यक्तित्वलगायत त्रिभुवन विश्वविद्यालयमा लोकप्रिय प्राध्यापकहरू डा. हर्षनारायण धौबडेल, राममान श्रेष्ठ, डा. सुन्दरकृष्ण जोशीलगायत थुप्रै नेवार समुदायका बौद्धिक प्राध्यापकहरूको साथ प्रगतिशील प्राध्यापक संघमा रहेको कारणले काठमाडौं उपत्यकाको नेवार समुदायमा समेत नेकपा मालेको सकारात्मक प्रभाव बिस्तार हुन योगदान पुगेकोमा कुनै शंका छैन ।

पहिचानवादी नेता प्रा.डा. मङ्गलसिद्धि मानन्धर कार्यक्रममा सरिक भएको क्षण
पहिचानवादी नेता प्रा.डा. मङ्गलसिद्धि मानन्धर कार्यक्रममा सरिक भएको क्षण

विसं २०४६ को राजनीतिक परिवर्तनपछि विसं २०४८ र २०५१ सालमा सम्पन्न भएको प्रतिनिधिसभाको चुनावमा नेकपा एमालेका उम्मेदवारहरूलाई विजयी गराउन प्रत्येक सभाहरूमा प्राध्यापकहरूको तर्पmबाट वहाँ पनि सक्रिय रहनुभयो । विसं. २०५१ सालको मध्यावधि निर्वाचनपछि एमालेको अल्पमतको सरकार बन्यो । सो सरकारको तत्कालिन एमालेका अध्यक्ष मनमोहन अधिकारीको प्रधानमन्त्रीत्वमा गठन भयो । उक्त सरकारबाट राष्ट्रिय योजना आयोगको उपाध्यक्षको जिम्मेवारीमा प्रा.डा. मानन्धरलाई जिम्मेवारी दिइएको थियो । त्यसबेला एमालेमा बौद्धिक व्यक्तिहरूमा नेवार समुदायका धेरै थिए भने बाहुन क्षत्री समुदायका बौद्धिक व्यत्तित्वहरू साह्रै कम मात्र थिए । त्यतिबेला एमालेको आधार क्षेत्र आदिवासी जनजाति बहुल क्षेत्र नै थियो । त्यसबेलाका निर्वाचनहरूमा आदिवासी जनजाति बहुल क्षेत्रबाट एमाले अधिक मात्रामा विजयी भएको तथ्यबाट पनि यसको पुष्टि हुन्छ । एमाले भएर प्रा.डा. मानन्धरजस्ता व्यक्तिहरूले योजना आयोगमा उपाध्यक्ष भएको होइन त्यसबेला एमालेमा बौद्धिक व्यक्तिहरू नेवार समुदायबाट बाहेक ब्राम्हण क्षत्री समुदायबाट थोरै भएकोले त्यस्ता अवसर नेवार समुदायलाई प्राप्त भएको हो । त्यति मात्र होइन कि एमालेको मनमोहन अधिकारीको अल्पमतको सरकारले लोकप्रिय बजेटको ‘माष्टर माइन्ड’मध्ये त्यस बेलाको राष्ट्रिय योजना आयोगको नेतृत्व गर्नुहुने योजना आयोगका उपाध्यक्ष प्रा.डा. मानन्धर पनि एक हुनुहुन्थ्यो । यस्ता तथ्यप्रति एमालेले प्रा.डा. मङ्गलसिद्धि मानन्धरजस्ता व्यक्तिहरूलाई सम्मान गर्न अनिच्छुक रह्यो । यसरी एमालेलाई लोकप्रिय बनाउन पर्दा पछाडिबाट योगदान दिनुहुने बौद्धिक व्यक्तित्वहरू पछिल्लो कालमा ब्राम्हण क्षत्री समुदायका सिमित व्यक्तिहरूबाहेक प्रा.डा. मानन्धरका समकालिक बौद्धिक व्यत्तिहरू एमालेमा कोही पनि रहेको देखिदैन । एमालेले सुनियोजित रुपमा राजनीतिक नियुत्ति र सम्मानित स्थानहरूमा नश्लवादी चिन्तनबाट ग्रस्त भई ब्राम्हण समुदायबाट मात्र अवसर प्राप्त हुने किसिमले ब्राम्हण समुदायबाटै आवश्यक जनशक्ति तयार गर्नतिर लाग्यो । पछिल्लो कालमा एमाले लगातार सरकारमा छ र एमाले सङ्लग्न भएको सरकारबाट एमालेको कोटाबाट राजनीतिक नियुक्त पाएका व्यक्तिहरूको जातीय विश्लेषण गर्ने हो भने एकल जातिलाई अधिकतम अवसर दिएको पाइन्छ । वर्तमान ओली सरकारमा एकजना पनि नेवार समुदायबाट क्याबिनेटमा पर्न सकेका छैनन् ।

बौद्धिक प्रभुत्व व्यक्तित्व प्रा.डा. मङ्गलसिद्धि मानन्धर कार्यक्रममा आफ्नो विचार राख्दाको क्षण
बौद्धिक प्रभुत्व व्यक्तित्व प्रा.डा. मङ्गलसिद्धि मानन्धर कार्यक्रममा आफ्नो विचार राख्दाको क्षण

एमालेको अल्पमतको सरकारले विसं २०५१ मा पेस भएको बजेट र संविधानसभाको पहिलो निर्वाचनपश्चात् संविधानसभाको सदस्य भई राज्यपुनर्संरचना तथा राज्यशक्ति बाँडफाँड समितिको सदस्य भएर पहिचानका पाँच र सामथ्र्यका चार आधारमा १४ प्रदेशको राज्यपुनर्संरचनाको प्रस्तावमार्पmत प्रा.डा. मानन्धरको बौद्धिक क्षमताबाट राष्ट्रले लाभान्वित हुने मौका प्राप्त भयो । वहाँ संघीयता र पहिचान सहितको राज्यपुनर्संरचनाको वक्ताको रुपमा लोकप्रिय सभासद् हुनुहुन्थ्यो । पहिलो संविधानसभाको नाटकीय अवसान र एमालेले राज्यपुनर्संरचना सम्बन्धमा तत्कालिन संविधानसभामा पेस गरेको १५ प्रदेश सहितको राज्यपुर्नंरचना प्रस्तावबाट ‘ब्याक’ हुन पुग्यो । र विकृत संघीयताको पक्षमा एमाले नेतृत्व गएपछि एमालेभित्र आदिवासी जनजाति, मधेसीलगायत नेतृत्वले फरक मत पेस गर्दै अग्रगामी विचार समूह एमालेको तत्कालिन उपाध्यक्ष अशोककुमार राईको नेतृत्वमा गठन भयो । नेकपा एमाले अब उत्पीडित समुदायको पक्षमा नरहेको ठहर गर्दै व्यापक परिवर्तनको नेतृत्व एमालेबाट हुन नसक्ने निर्णयका साथ उत्पीडित समुदायको नेतृत्वमा नै नेपालको राज्यपुनर्संरचनाको नेतृत्व हुनुपर्ने निष्र्कषसहित प्रा.डा. मानन्धर पनि अग्रगामी विचार समूहमा सक्रिय रुपमा आवद्ध हुनुभयो ।
मूलतः सार्थक संघीयता जुन संघीयताले उत्पीडित समुदायको जातीय, भाषिक, आर्थिक र सामाजिक समस्याको समाधान गरी समुन्नत नेपालको स्थापना गर्ने महान् अभियानको अभियन्ताको रुपमा प्रा.डा. मानन्धरले जीवन अर्पण गर्नुभयो । व्यक्तिगत स्वार्थ र प्रलोभनलाई त्याग गर्ने निर्णयका साथ एमाले परित्याग गरी अशोककुमार राईको नेतृत्वमा सङ्घीय समाजवादी पार्टी नेपालको स्थापनामा उल्लेखनीय योगदान दिनुभयो । यसरी पार्टी स्थापना गर्दा व्यक्तिगत स्वार्थ र प्रलोभनलाई तिलाञ्जली मात्र दिनुभएन एक समय प्रतिनिधिसभाको निर्वाचनमा आफूसँग पराजित भएको व्यक्ति राजेन्द्र श्रेष्ठलाई पार्टी महासचिवमा स्वीकार गरी वहाँको मातहतमा बसेर पार्टीमा योगदान दिने उदारता समेत वहाँले देखाउनुभयो । महाकाली सन्धीलाई लिएर विसं २०५५ सालमा नेकपा एमाले विभाजित भयो । पार्टी विभाजन हुँदा त्यसबेला एमालेका अध्यक्ष मनमोहन अधिकारी केही समय निष्क्रिय जस्तै रहनुभयो । पार्टी विभाजनपछि एमालेमा माधवकुमार नेपाल, खड्गप्रसाद शर्मा ओली, झलनाथ खनाललगायत नेताहरू थिए भने सहना प्रधान, वामदेव गौतम, सिपि मैनाली, अशोककुमार राई, राजेन्द्र श्रेष्ठहरूले नेकपा मालेको नेतृत्व गरेका थिए । विसं. २०५६ साल प्रतिनिधिसभाको निर्वाचनमा विभाजित एमाले र मालेबिच मुनमुताव तीव्र मात्र थिएन चुनावी प्रतिष्पर्धा पनि एकले अर्कोलाई सिध्याउने ध्याउन्नमा थिए । तर त्यसबेला प्रा.डा. मङ्गलसिद्धि मानन्धर एमाले मै क्रियाशील हुनुहुन्थ्यो । उक्त चुनावमा काठमाडौंका नेवारहरू पनि माले र एमालेमा विभाजित अवस्थामा थिए । विसं २०५६ सालको प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौं–५ मा एमालेबाट प्रा.डा. मानन्धर विजयी हुनुभएको थियो भने वहाँको निकत्तम प्रतिद्वन्दी मालेबाट राजेन्द्र श्रेष्ठ हुनुहुन्थ्यो । तर सङ्घीय समाजवादी पार्टी नेपाल गठन गर्दा पार्टीको महासचिवमा राजेन्द्र श्रेष्ठलाई अगाडी बढाउन वहाँले महत्वपूर्ण योगदान दिनुभयो । प्रतिनिधिसभामा आफूसँग पराजित व्यक्तिलाई महासचिवमा सहर्ष स्वीकार गरी उत्पीडित समुदायको नेतृत्वमा नेपालको वैकल्पिक पार्टी निर्माणलाई प्राथमिकतामा राख्ने वहाँको उदारतालाई उच्च मूल्याङ्कन गर्नैपर्छ ।

01
पहिचानवादी नेता प्रा.डा. मङ्गलसिद्धि मानन्धरको शवलाई पशुपति आर्यघाटमा सङ्घीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले झण्डा ओढाउँदै गर्दा अध्यक्षलगायत नेताहरु भावुक भएको क्षण

व्यक्तिगत सुख सुविधा छाडेर दुःखका साथ पहिचानको पक्षमा पार्टी स्थापना गर्नुपर्ने अभियान नै वहाँको जीवनमा अन्तिम लक्ष्य रह्यो । नेपालका आदिवासी जनजाति, मधेसी, दलित र खस समुदायलगायत उत्पीडित समुदायको नेतृत्वमा वैकल्पिक पार्टी निर्माण गरी विशाल पार्टी बनाउन सकेमा मात्र उत्पीडित समुदायको अधिकार र पहिचान सहितको संघीयता लागू हुन सक्ने निचोडमा प्रा.डा. मानन्धर पुग्नुभयो । जसका लागि गत सन् २०१५ जुन १५ मा तत्कालिन मधेसी जनाधिकार फोरम, सङ्घीय समाजवादी पार्टी नेपाल र खस समावेशी राष्ट्रिय पार्टीसहितको एकीकरण गरी फोरमका अध्यक्ष उपेन्द्र यादवको नेतृत्वलाई सहर्ष स्वीकार गरी सङ्घीय समाजवादी फोरम नेपालको गठनमा समेत प्रा.डा. मानन्धरले महत्वपूर्ण योगदान पुर्याउनुभयो । एकीकरण पश्चात् पनि सल्लाहकार समितिको सभापति भई पार्टीका राजनीतिक समितिमा क्रियाशील रहनुभयो । वहाँको स्वास्थ्यको प्रतिकुलताको बाबजुद् पनि अन्तिम समयसम्म पार्टीमा वहाँको सक्रियतामा कमी देखिएन । गएको २०७३ वैशाख ३ गते पार्टीको काठमाडौं जिल्लाको कार्यालय उद्घाटनमा वहाँको सहभागिता नै सार्वजनिक कार्यक्रममा अन्तिम सहभागिता हुनसक्छ ।
जीवनको अन्तिम समयसम्म पनि नेपालको वास्तविकतामा आधारित पहिचान सहितको संघीयता लागू गराउन नै वहाँको अभिष्ट रहँदै गयो । नेपालको पहिचानजनित आन्दोलन र उत्पीडित जाति समुदायको आन्दोलनमा वहाँको अभाव सधै खड्कीरहनेछ । पहिचानको आन्दोलन र उत्पीडित, उपेक्षित जाति समुदायको आन्दोलनले प्रा.डा. मानन्धरलाई जुगौंजुग सम्झिरहने छन् । नेपालको उत्पीडित समुदायलाई अधिकार सम्पन्न हुनसक्ने पहिचान सहितको राज्यपुनर्संरचनाको पक्षमा वकालत गर्दागर्दै जीवनबाट विदा लिनुहुने पहिचानवादी नेता प्रा.डा. मङ्गलसिद्धि मानन्धरलाई अलविदा । अलविदा ।। अलविदा ।।

(शाक्य, सङ्घीय समाजवादी फोरम, नेपालका केन्द्रीय सदस्य हुन् ।)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार