‘कालो पोथी’ जेठमा

जेष्ठ ५, २०७३- अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा सहभागी भई वाहवाही कमाइसकेको फिल्म ‘कालो पोथी’ लाई स्वदेशी दर्शकले भने जेठ २१ देखि हेर्न पाउने भएका छन् ।

मीनबहादुर भामको डेब्यु निर्देशन रहेको यस फिल्मले ७२ औं भेनिस अन्तर्राष्ट्रिय फिल्म महोत्सवको क्रिटिक्स विकतर्फको सेक्सनमा उत्कृष्ट फिल्म घोषित भएपछि चर्चा बाक्लिएको थियो ।

मुगुका दुई बालसखा प्रकाश र किरणबीचको मित्रतालाई माओवादी युद्धको पृष्ठभूमिमा राखेर निर्देशक भामले फिल्म तयार पारेका हुन् ।

जात र वर्गका आधारमा भिन्नता रहे पनि प्रकाश र किरणले मित्रतालाई कसरी कायम राख्छन् भन्ने फिल्ममा देख्न सकिन्छ ।

आफ्नो सपना साकार पार्न द्वयले कालो पोथी पालेर अन्डा बेच्दै पैसा जम्मा गर्छन् । तर पोथी हराएपछि फिल्मले नयाँ मोड लिन्छ भने दुई साथीले पनि पोथीको खोजीमा नयाँ यात्रा सुरु गर्छन् । यात्राका दौरान फिल्मले युद्धका बाछिटालाई मझधारमा रहेर पस्कन्छ ।

‘तटस्थ नै छुजस्तो लाग्छ,’ निर्देशक मीनबहादुरले युद्धका कुनै पनि पक्षको फिल्मले वकालत नगरी बीचमा बस्ने प्रयास गरिएको दाबी गर्दै थपे, ‘तर मानव हुनुका नाताले पनि मलाई युद्ध भने मन पर्दैन ।’

भामले नै यसअघि बनाएको सर्ट फिल्म ‘बाँसुल्ली’ ले पनि भेनिस फिल्म फेस्टिभलमा सहभागिता जनाएको थियो । भामले ‘कालो पोथी’ आफ्नै फिल्म बनाउने भोकको उपज रहेको प्रस्ट्याउँदै भने, ‘मेरो फिल्म बनाउने भोकले ‘कालो पोथी’ जन्म्यो ।

तर यसमा मिहिनेत सबैको छ । मेरो अनुभवले फिल्मलाई सुरु गर्न मात्रै सहज बनाएको हो ।’ भामले आफ्नै कथामा अविनाशविक्रम शाहसँग मिलेर फिल्मको पटकथा तयार पारेका हुन् ।

‘कालो पोथी’ ले स्क्रिप्टकै आधारमा स्विट्जरल्यान्डको भिजन सुडएस्ट, बर्लिन फिल्म फेस्टिभलको वल्र्ड सिनेमा फन्ड र फ्रान्सको एक संस्थाले निर्माणमा आर्थिक सहयोग गरेको छ । फिल्मका एक निर्माता छिरिङ रितार शेर्पाले ‘कालो पोथी’ ले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय प्लेटफर्म दिलाएको जिकिर गर्दै भने, ‘यस्तै राम्रो फिल्म बनाइयो भने हामी पनि विश्व समुदायमा पुग्न सक्छौं ।

‘कालो पोथी’ ले त्यसको लागि ढोका खोल्ने काम गरेको छ,’ छिरिङ रितारले कुनै पनि खान्की चाखिसकेपछि मात्रै स्वाद थाहा हुने उदाहरण पेस गर्दै थपे,
‘हामीले यतिबेला अन्तर्राष्ट्रिय तहमा नेपाली फिल्म/कथाको स्वाद चखाउने काम गरेका छौं ।’

फिल्ममा खड्गराज नेपाली र शुक्रराज रोकायाले दुई बालकको मुख्य भूमिका निर्वाह गरेका छन् भने जितबहादुर मल्ल, हंस खडका, बेनिशा हमाल, नन्दप्रसाद खत्री, विपिन कार्की र प्रवीण खतिवडाको पनि फिल्ममा अभिनय देख्न सकिनेछ ।

सोमबार फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । आठ भाषामा सब टाइटल दिइएको फिल्मको पूरा छायांकन मुगुमा खिचिएको हो ।

३ करोड ८५ लाख रुपैयाँ बजेटमा तयार फिल्मलाई अजिज झाम्बाकिएभले खिचेका हुन् भने ज्यासन कुँवरले यसमा संगीत भरेका छन् । फिल्ममा आनी छोइङ डोल्माको गायनसमेत राखिएको छ ।

स्वदेशी बजारका लागि ठूलो बजेट खर्चिएको ‘कालो पोथी’ ले अवार्ड र समीक्षात्मक रूपमा तारिफ बटुले पनि व्यावसायिक सफलताबारेमा आशा कत्तिको छ भन्ने सवालमा लगानीमा समेत जोडिएका निर्देशक मीनबहादुरले भने, ‘पहिलो फिल्म हो, हलमा लाग्दै छ । धेरैभन्दा धेरै दर्शकले हेरिदिए हुन्थ्यो भन्ने त लाग्छ नै ।

तर हामी मेकरले आफ्नो मनले चाहेको फिल्म बनाउने हो । त्यो अरूका लागि मन पर्न पनि सक्छ, नपर्न पनि ।’ फिल्म हालसम्म कम्तीमा २३ फिल्म महोत्सवमा सहभागी भइसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार