सम्झनामा सूर्यकुमार : हाँस्दै आउ है सपनीमा विपनीमा जस्तै

लक्ष्मण कार्की

भनिन्छ जहाँ आशा हुन्न त्यहाँ प्रयास गरिन्न । तर जीवनमा कति काम यस्ता हुन्छन् जुन हुँदैन भन्ने थाहा पाएर पनि गरिटोपल्नुपर्छ । पार लागि पो हालिन्छ कि भन्ने आशाको त्यान्द्रो समातेर लामो सागर तर्न खोजे जस्तो ।

पर कतै देखिएको झिल्कोको उज्यालोमा हराएको बाटो भेटिने अपेक्षा जस्तो । शायद सूर्यकुमार क्षेत्री बाँचोस भनेर हामीले गरेको प्रार्थना यस्तै मध्येको एक प्रयास थियो ।

रिपोर्ट हेरेपछि डाक्टर वसन्त पन्तले उसलाई ब्रेन ट्युमर भएको मात्र भनेन् । उनले थपेका पनि थिए ‘अपरशेनपछि पनि पुरै विसेक हुन कठिन छ ।’

सुनिसक्दा घाँटी केहीले अठ्याएजस्तो भएको थियो । दिउँसै सूर्य अस्ताएजस्तो मनको ब्रह्माण्डमा अध्यारै अँध्यारो छाएको थियो । डाक्टर पन्तले कुनै आश्चर्य अर्थात मेडिकल मिराकल हुनसक्ने सम्भावनाको जुनकिरी पनि पनि देखाइदिएका थिए ।

हो त्यहि जुनकिरी रुपी दियोमा आशाको तेल थप्दै परिवार नाता गोता साथीभाइ र शुभचिन्तकले भगवानको पुकारा गरेका थियौं । जुन आखिर व्यर्थ भयो ।

अपरेशन गर्न लैजाने दिन ऊ केही डराएको थियो । अलि अतालिएको जस्तो गरेर उसले भन्यो ‘हाऊ लाखे मेरो अपरेशन कस्तो हो भन त ?’

भलाई भाउन्न भयो । तर अचम्म सानै कुरामा पनि पिलपिल गरिहाल्ने मेरा आँखा खै कसरी सुख्खै भए । मैंले उसको हात सुम्सुम्याउँदै भनें ‘ह्या मुला यो त सानो अपरेशन रैछ, मैंले गुगलमा खोजेको थिएँ । तिमी जस्तो बहादुर मान्छे पनि डराउँछन् ? तिमीले रामेशको गीत सुनेको छैनौ संकट पर्दछ मान्छेलाई ढुंगालाई के पर्छ भन्ने ?’

त्यसपछि ऊ केही उज्यालो भयो र भन्यो ‘मैंले फुटवल खेल्दा हेडिङ गर्न मिल्छ उसो भए ?’ मँ फिस्स हासें र सिसाबाट बाहिर हेरें ।

अपरेशनपछिको भेटमा पनि मैंले ढाडस दिँदै भनें ‘हाउ लाखे तिमी त पुरै ठीक भइसकेछौ त यार ।’

पूर्वेली लयमा ऊ मलाई र म उसलाई लाखे लाखे भन्थ्यौं । जति ठुलो पिर परेपनि मुहारमा कहिल्यै नदेखाउने र उसलाई सधैं हौसला दिने भाउजू ऊसलाई खाना खुवाउन कर गर्दै हुनुहुन्थ्यो । मैंले क्याम्पसबाट उठाएको अलिकति सहयोग रकम पनि लगेको थिएँ ।

दोश्रोपल्ट ऊ अस्पतालमा भर्ना भएपछि म एकपल्ट मात्र उसलाई भेट्न गएँ । भेटेपछि उसलाई के छ ? कस्तो छ ? सोध्नुपर्ने केही कुरा हुन्थेन । जे थियो उसको हुलिया आँखै अगाडी थियो । मनले डाक्टरको भनाई बिर्सिने कुरै थिएन ।

‘लाखे तिमी त ठीक भइहाल्यौ नि यार अब’ भनेर अभिनय गर्नसक्ने आँट ममा भएन । ऊपनि गल्दै गएको थियो । फुटवल गर्दा हेडिङ गर्न त मिल्छ नि लाखे भन्ने उसको आत्मविश्वासको धपक्कै बलेको अनुहारमा आभा हराउँदै गएको जस्तो देखिन्थ्यो । हौसला दिनुपर्नेमा आफैं पिलपिल भएर फर्किएँ ।

…………………………………

रुदै हुन्छौ जहिले पनि मैले देख्ने सपनीमा……….

मैंले धेरै गुन्गुनाउने मध्येको एउटा गीत । यो गीतको स्थायीको अन्तिम लाइनले साँच्चै साँच्चै मन छोएको थियो र छ पनि । आफूबाट छुटी सके पनि जब्बर सम्झना मनमै छोडेकी÷छोडेको मान्छेलाई सम्झिँदै उसले लेखेको छ ‘तिमै्र चिन्ता लाग्छ के गरुँ ।’

उसको उपचारका लागि १०/२० रुपैयाँ संकलन गर्दै गर्दा कलेजका मेरा विद्यार्थीलाई मोबाइलबाट यो गीत पनि सुनाएको थिएँ । धेरैले त पहिल्यै सुनिसकेको भन्थे केहीले पहिलोपटक सुन्दै मन पराएका थिए । मैंले उसका बाँकी गीत पनि उस्तै विछट्ट राम्रा भएको सुनाएको थिएँ उनीहरुलाई ।

उसका अरु धेरै गीतले एकपल्टमै अरुको जस्तै मेरो पनि मन छोएका थिए । तर त्यसको सर्जक सूर्यकुमार थियो भन्ने चाहिं मैंले उज्यालोमा आएपछि मात्र थाहा पाएँ । जब जब ती गीतहरु उसले लेखेको वा संकलन गरेको हो भन्ने थाहा भयो त्यति बेलादेखि नै मैंले उसलाई गर्ने आदर उकालो लागेको हो ।
सूर्यकुमार पत्रकारका रुपमा औषत थियो । रेडियोमा उसको आवाज त्यस्तो विधी सुमधुर र कोमल थिएन, तर आफ्नै पहिचानको थियो । पत्रकारभन्दा बढी ऊ लागेको कुरा हाकाहाकी भन्ने मान्छे थियो त्यसभन्दा माथि मिल्ने साथी थियोे र सबैभन्दा माथि औधी राम्रो गीतकार र संकलक थियो ।

सूर्यकुमारसँग त्यस्तो उत्पात विशेष वा कसैसँग नभएको सम्बन्ध भएन । तर नराम्रो कहिल्यै भएन । कति कुरा नमिल्दापनि र दुवैजना उग्रउग्र हुँदाहुँदै पनि हामी एकैछिनमा ‘हाउ लाखे’ भन्दै नजिक भइहाल्थ्यौं । मनको कुरा सवै ओकलेपछि मन माझिन्छ शायद । मनमा केही नभएपछि के को ठुस्काठुस्की होस् र ?

दुब्लो चेडा, लगभग उत्रै उचाई मात्र होइन लागेको कुरा भन्न कुनै साइत हेर्नु नपर्ने र मनमा यौटा र मुखमा अर्कै कुरा नगर्ने स्वभाव हाम्रा साझा थिए । गीत संगित कला साहित्य र खेललाई गर्ने माया र राष्ट्रियताका धेरै कुरामा उस्तै उस्तै अडान र धारणा बन्थ्योे । नेपालले ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट खेल्दा नेपालको जर्सी किन्दा उसले कसरी पैसोको प्रवन्ध गरेको थियो भन्ने मैंले अहिले पनि भुलेको छैन ।

………….. …………….

‘सर सूर्य दाइलाई भोली भेट्न जाउँ न’ नेपाल दर्पणको ब्रेकमा सुनिताले प्रस्ताव गरिन् ।

मैंले आनाकानी गरें । कारण थियो गएर के गर्नु त्यसलाई देखेपछि आँशु आइहाल्छ । रोएको देखेपछि उसको आत्मबल झनै कमजोर हुन्छ । त्यसैले मैंले भने ‘होस नजाउँ’

ब्रेकपछिको समाचार पढ्दै गर्दा पनि दिमागबाट सूर्य हटेन । जाउँ कि नजाउँ भइरह्यो । जोग कस्तो पर्यो भने नेपाल दर्पण सकेको आधा घण्टा नवित्दै हामी भेट्न जानु पर्यो तर उसलाई होइन उसको शवलाई ।

अब केवल सूर्यसँगका सम्झना, उसँगका सामिप्यता उसँगका अन्तरंग कुराकानी सम्झनामा छन् । उसको शव हेरेपछि उसका बुबाले भनेको बचन बिझेको छ ‘एक्लै गइस हैन ?’

१३ दिन भइसक्यो ऊ हामीबाट टाढा भएको । सूर्यसँग अब भेट हुँदैन । उसका नयाँ गीत अब सुन्न पाइँदैन । अनामनगर जाँदा ‘हाउ लाखे, आउन चिया खाउँ’ भन्न पाइदैन । तर अहँ मनले यो सबै मान्दै मान्दैन । शायद मनमा भएको मान्छेसँग त भेट भइरहन्छ नि भनेर पो हो कि ।

हाँस्दै आउ है सपनीमा विपनीमा जस्तै
खाउँला पिउँला रमाउँला फेरि उस्तैउस्तै
अल विदा सूर्यकुमार ।।

उज्यालोबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार