जिल्लामै उत्कृष्ट बन्यो जुनतारा सामुदायिक वन, विविध सामाजिक कार्यक्रमबाट समुदायलाई प्रत्यक्ष लाभ

  नयाँ बुलन्द
154 Shares

इलाम : इलामको माइ नगरपालिका–९ स्थित जुनतारा सामुदायिक वन उपभोक्ता समूह आर्थिक वर्ष २०८२/०८३ मा इलाम जिल्लाभरका सामुदायिक वन उपभोक्ता समूहहरूमध्ये प्रथम हुन सफल भएको छ । उत्कृष्ट कार्यसम्पादनका आधारमा डिभिजन वन कार्यालय इलामले आयोजित एक कार्यक्रममा समूहलाई सम्मान तथा पुरस्कार प्रदान गरेको हो ।

समूहले आर्थिक वर्ष २०८२/०८३ मा स्वीकृत वार्षिक कार्यक्रमअनुसार वन संरक्षणसँगै समुदायमुखी विभिन्न सामाजिक तथा पूर्वाधार विकासका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गरेको समूह अध्यक्ष चक्र एक्तेन (अभिषेक) ले बताए । वन क्षेत्रमा आगलागी नियन्त्रण तथा जैविक संरक्षणका गतिविधि सञ्चालन गर्नुका साथै पुस्तक प्रकाशन, खानेपानीका लागि ड्रम वितरण, सामुदायिक भवन निर्माण, ज्येष्ठ नागरिकलाई रेडियो वितरण, १० हजार बिरुवा उत्पादन तथा वृक्षरोपण, सडक क्षेत्रमा विद्युत् बत्ती जडानलगायतका कार्यक्रम सम्पन्न गरिएको अध्यक्ष एक्तेनले बताए ।

यसैगरी उपभोक्ताको जीवनस्तर सुधारलाई लक्षित गर्दै बिरुवा वितरण, विद्यालयस्तरीय खेलकुद कार्यक्रम सञ्चालन, सुत्केरी महिलालाई जनही दुई हजार रुपैयाँ आर्थिक सहयोग वितरण तथा उपभोक्तालाई घर निर्माणका लागि सङ्कलन खर्चबाहेक २० क्युबिक फिट काठ निःशुल्क उपलब्ध गराइएको समूहले जानकारी दिएको छ । उपभोक्ताका परिवारमा मृत्यु संस्कारका बेला आवश्यक पर्ने काठ तथा दाउरा समेत निःशुल्क वितरण गर्दै आएको समूहले जनाएको छ ।

समूहका अध्यक्ष एक्तेनले सामुदायिक वन केवल वन संरक्षणमा सीमित नभई सामाजिक उत्तरदायित्व बहन गर्ने संस्थाका रूपमा विकास भइरहेको बताए । ‘वन संरक्षणसँगै उपभोक्ताको जीवनस्तर उकास्ने कार्यक्रमलाई प्राथमिकता दिएका छौं । समुदायलाई प्रत्यक्ष लाभ पुग्ने कामकै कारण हाम्रो समूह जिल्लामै उत्कृष्ट बन्न सफल भएको हो,’ अध्यक्ष एक्तेनले भने, ‘यसमा सबै उपभोक्ताहरुको उत्तिकै योगदान छ ।’

डिभिजन वन कार्यालय इलामले जुनतारा सामुदायिक वन उपभोक्ता समूहले वन संरक्षण, जैविक विविधताको संवर्द्धन तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा गरेको काम अन्य सामुदायिक वनका लागि पनि अनुकरणीय रहेको जनाएको छ ।

जिल्लामा सामुदायिक वनमार्फत वन संरक्षणसँगै सामाजिक विकासका गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने उत्कृष्ट उदाहरणका रूपमा जुनतारा सामुदायिक वन उपभोक्ता समूह स्थापित हुँदै गएको स्थानीयहरुको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार