
पाँचथरः युट्युब तथा सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई लक्षित गर्दै अपमानजनक तथा गालीगलौजपूर्ण सामग्री प्रसारण गरेको आरोप लागेका पाँचथरका एक युवा जेल चलान भएका छन् ।
फाल्गुनन्द गाउँपालिका–७ दोबाटेका रोशन पोखरेललाई जिल्ला अदालत पाँचथरले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । पोखरेलविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा दर्ता भएको थियो। मुद्दामा न्यायाधीश कुमार मास्केको इजलासले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको जिल्ला अदालत पाँचथरका श्रेस्तेदार राजकुमार निरौलाले जानकारी दिए।
प्रहरीले पोखरेललाई २०८२ चैत २६ गते पक्राउ गरेको थियो। युट्युबमा गालीगलौजयुक्त सामग्री प्रसारण गरेको आरोपमा पक्राउ परेपछि देशभर विरोध भएको थियो। त्यसपछि चर्को आलोचनाका बीच प्रहरीले चैत २९ गते उनलाई परिवारको जिम्मा लगाएको थियो।
प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दायर गरेपछि अदालतले उनलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो। अभियोगपत्रमा प्रधानमन्त्री शाह तथा उहाँको परिवारको मान, सम्मान र प्रतिष्ठामा आँच पुग्ने गरी अपमानजनक तथा अमर्यादित शब्द प्रयोग गरिएको भिडियो, स्टाटस र अन्य सामग्री युट्युब, फेसबुक, इन्स्टाग्राम तथा टिकटकमार्फत प्रसारण गरेको आरोप उल्लेख गरिएको छ।-हाम्रोमतबाट















































