जलाशय संरक्षण र आयआर्जनका लागि माइजोगमाईका जलाशयमा माछाका भुरा छाडियो

  नयाँ बुलन्द
91 Shares

इलाम : इलामको माइजोगमाई गाउँपालिकाका विभिन्न सार्वजनिक तथा प्राकृतिक जलाशयमा १० हजार १०० माछाका भुरा छाडिएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र इलामको आयोजना तथा माइजोगमाई गाउँपालिकाको पशु सेवा शाखाको समन्वयमा सञ्चालित कार्यक्रमअन्तर्गत गाउँपालिकाको उत्तरे पोखरी, छिपछिपे पोखरी, गणेश मन्दिर क्षेत्रको पोखरीमा माछाका भुरा छाडिएको हो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष कुशबहादुर थेबेको अध्यक्षता रहेको थियो । कार्यक्रममा केन्द्रका डा. राघवेन्द्र तिवारीसहित, वडा अध्यक्षहरू, कार्यपालिका सदस्य, कृषि तथा पशु सेवा शाखाका कर्मचारी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमअन्तर्गत रहु, नैनी, बिगहेड कार्प र कमन कार्प प्रजातिका माछाका भुरा जलाशयमा छाडिएको जनाइएको छ । यसबाट सार्वजनिक जलाशयको संरक्षण, मत्स्य उत्पादन वृद्धि, जैविक विविधता संरक्षण तथा स्थानीय स्तरमा आयआर्जनका अवसर विस्तार हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

गाउँपालिकाले यस्ता कार्यक्रममार्फत सार्वजनिक जलाशयको सदुपयोग गर्दै स्थानीय स्तरमा मत्स्यपालन व्यवसायलाई प्रोत्साहन गर्ने नीति अनुरूप आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार