फाकफोकथुम-७ मा नागरिकमैत्री सेवा र विकास निर्माणले गति लियो

  नयाँ बुलन्द
28 Shares

इलाम : इलामको फाकफोकथुम गाउँपालिका वडा नं. ७ ले आर्थिक वर्ष २०८२/०८३ मा सेवा प्रवाह, पूर्वाधार विकास, सामाजिक सुरक्षा, सुशासन र आर्थिक गतिविधिका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ । फाकफोकथुम गाउँपालिकाले मङ्गलबार ७ नं. वडा कार्यालयमा आयोजिना गरेको सार्वजनिक सुनुवाइमार्फत प्रस्तुत गरेको प्रगति विवरणअनुसार नागरिकमैत्री सेवा विस्तारसँगै विकास निर्माणका कामलाई तीव्रता दिइएको छ ।

वडा अध्यक्ष छत्रबहादुर लिम्बूले वडाले सेवाग्राहीको सहजतालाई केन्द्रमा राखेर विभेदरहित सेवा प्रवाहको व्यवस्था मिलाएको बताए । कार्यालयमा ‘पहिले आउनेलाई पहिले सेवा’को सिद्धान्त लागू गरिएको छ भने ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र बालबालिकालाई प्राथमिकता दिइने व्यवस्था गरिएको छ। राजस्व संकलन र सेवा शुल्कलाई अनलाइन प्रणालीमार्फत सञ्चालन गरिएको छ ।

योजना सम्झौतासँग सम्बन्धित आवश्यक कागजात वडा कार्यालयबाटै तयार गरिदिने व्यवस्था गरिएको छ । सेवाग्राहीलाई आवश्यक पर्ने कागजातका फोटोकपीदेखि अन्य प्रशासनिक सहयोगसमेत निःशुल्क रूपमा उपलब्ध गराइएको छ । जिल्ला सदरमुकाम वा अन्य सरकारी कार्यालयबाट प्रमाणित कागजात आवश्यक परेका सेवाग्राहीका लागि वडा कार्यालयले विद्युतीय मेलमार्फत कागजात पठाएर सेवा दिएको जनाएको छ । अत्यावश्यक अवस्थामा कार्यालय समयबाहेक पनि सेवा प्रदान गरिएको वडा अध्यक्ष लिम्बूले बताए ।

सामाजिक सुरक्षा भत्ता नवीकरण तथा बायोमेट्रिक प्रमाणीकरणका लागि वडा भित्र विभिन्न स्थानमा शिविर सञ्चालन गरिएको छ । अशक्त तथा बिरामी नागरिकका लागि घरदैलोमै पुगेर बायोमेट्रिक प्रमाणीकरण गरिँदै आएको छ । नागरिकता सिफारिस, व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता वितरणसम्बन्धी सेवा अनलाइन प्रणालीबाट सञ्चालनमा ल्याइएको छ ।

विकास निर्माणका काममा पारदर्शिता कायम गर्न योजनाको प्रत्यक्ष निगरानी जनप्रतिनिधि र प्राविधिकमार्फत गरिँदै आएको छ । पाँच लाख रुपैयाँभन्दा माथिका योजनामा गाउँपालिकाको उपाध्यक्षसहितको अनुगमन टोलीले स्थलगत निरीक्षण गरेपछि मात्र भुक्तानी सिफारिस गर्ने व्यवस्था रहेको जनाइएको छ ।

चालु आर्थिक वर्षमा वर्षाका कारण क्षतिग्रस्त सडकहरूको मर्मत तथा सरसफाइ गरिएको छ । भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन सम्पन्न भएको छ । आदिवासी जनजाति चेतना कार्यक्रमअन्तर्गत तीन दिने अचार बनाउने तालिम सञ्चालन गरिएको थियो । एकतप्पा आयुर्वेद औषधालयमार्फत स्वास्थ्य जीवनशैली सम्बन्धी अभिमुखीकरण र सात दिने निःशुल्क योग शिविर सम्पन्न भएको छ ।

महिला सञ्जालमार्फत महिलाका लागि लैङ्गिक हिंसा न्यूनीकरण, नेतृत्व विकास तथा हस्तकला तालिम सञ्चालन गरिएको छ । त्यस्तै एकतप्पा द्वितीय बजार तथा कक्फेवा तङ्नाम भव्य रूपमा सम्पन्न गरिएको वडा कार्यालयले जनाएको छ ।

जेठ मसान्तसम्म वडा कार्यालयले नगदी रसिदमार्फत तीन लाख ५६ हजार १६८ रुपैयाँ र मालपोतमार्फत दुई लाख पाँच हजार ६९९ रुपैयाँ राजस्व संकलन गरेको छ । कुल राजस्व आम्दानी पाँच लाख ६१ हजार ८६७ रुपैयाँ पुगेको छ ।

व्यक्तिगत घटना दर्ताअन्तर्गत ३५ जन्मदर्ता, २० मृत्यु दर्ता, २० विवाह दर्ता तथा सात सम्बन्ध विच्छेद दर्ता भएको छ । यस अवधिमा ६ परिवारका १४ सदस्य बसाइँसराइ गरी वडामा आएका छन् भने १० परिवारका २३ सदस्य अन्यत्र बसाइँ सरेका छन् ।

सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत तेस्रो त्रैमासिकसम्म ३४० जना लाभग्राहीले भत्ता प्राप्त गरेका छन् । ज्येष्ठ नागरिक, विधवा महिला, अपाङ्गता भएका व्यक्ति तथा दलित बालबालिका लाभग्राही रहेका छन् ।

जेठ मसान्तसम्म वडा कार्यालयबाट ४०३ वटा सिफारिस जारी गरिएको छ। यसमा ४७ वटा नागरिकता सिफारिस, ५२ वटा नागरिकताको प्रतिलिपि सिफारिस, ४७ वटा घरजग्गासम्बन्धी सिफारिस तथा २३४ वटा अन्य प्रकारका सिफारिस रहेका छन् ।

चालु आर्थिक वर्षमा वडा नं. ७ का लागि कुल ४० लाख रुपैयाँ बजेट विनियोजन गरिएको थियो । आर्थिक विकासतर्फ कृषि प्रवर्द्धनका लागि एक लाख ५० हजार र पशु प्रवर्द्धनका लागि छ लाख रुपैयाँ विनियोजन गरिएको छ । सामाजिक विकास क्षेत्रमा १६ लाख ५० हजार रुपैयाँ र पूर्वाधार क्षेत्रमा आठ लाख रुपैयाँ विनियोजन भएको छ । प्रशासनिक खर्चतर्फ आठ लाख रुपैयाँ खर्च गरिएको विवरणमा उल्लेख छ ।

आर्थिक विकास कार्यक्रमअन्तर्गत ७५ प्रतिशत वडा र २५ प्रतिशत कृषकको लागत साझेदारीमा प्लास्टिक टनेल खरिद गरी ३० जना कृषकलाई वितरण गर्ने प्रक्रिया अघि बढाइएको छ । पशु प्रवर्द्धन कार्यक्रममार्फत ५०-५० प्रतिशत लागत साझेदारीमा १० वटा गोठ र १५ वटा खोर निर्माणको प्रक्रिया अघि बढेको छ ।

गाउँपालिका तथा अन्य निकायबाट सञ्चालित योजनामध्ये पेलेवा-खम्बुवा-सिलागु खानेपानी मर्मत, कोइराला गाउँ खानेपानी मर्मत, कुम्भदेवी देवस्थल व्यवस्थापन, सालघारी मलामी टहरो निर्माण तथा तिवाखोला-मालिङ्गे सडक निर्माण सम्पन्न भएका छन्। युवा स्वरोजगार कार्यक्रमअन्तर्गत १७० मिटर सडक सोलिङ सम्पन्न भएको छ ।

मदनज्योति आधारभूत विद्यालय भवन निर्माणका लागि वडा, गाउँपालिका र अपर देउमाई जलविद्युत आयोजनाको सहकार्यमा पाँच लाख ५० हजार रुपैयाँ व्यवस्थापन गरी भवन निर्माण सुरु गरिएको छ ।

प्रदेश सरकारअन्तर्गत शिकारिभञ्ज्याङ-डुङ्गेपानी सडक स्तरोन्नतिका लागि २० लाख र जटेश्वर–रुपटार–खम्बुवा–आङचेरेङ सडक स्तरोन्नतिका लागि ५० लाख रुपैयाँ विनियोजन भई काम अघि बढिरहेको छ ।

वडाले सुशासन प्रवर्द्धनलाई विशेष प्राथमिकतामा राखेको जनाएको छ । नागरिक वडापत्रको व्यवस्था, सूचना पाटी तथा सामाजिक सञ्जालमार्फत सूचना प्रवाह, जनसहभागितामूलक शासन अभ्यास तथा पारदर्शी प्रशासनिक प्रणालीलाई वडाको प्रमुख उपलब्धिका रूपमा प्रस्तुत गरिएको छ ।

सार्वजनिक सुनुवाइमा वडा कार्यालयले नागरिकको अपेक्षाअनुसार छिटो, छरितो र प्रभावकारी सेवा प्रवाह गर्दै समृद्ध वडाको आधार निर्माणतर्फ आफूहरू अग्रसर रहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार