घरमै उद्यमको बाटो खोल्दै एकतप्पाका महिला, अचार बनाउने सीप तालिम

  युद्धबहादुर बोहोरा
280 Shares

इलामः फाकफोकथुम गाउँपालिका-७ का महिलाहरूलाई आयआर्जनसँग जोड्ने उद्देश्यले सञ्चालन गरिएको तीनदिने अचार बनाउने सीपमूलक तालिम सम्पन्न भएको छ। नेपाल आदिवासी जनजाति महासंघ ७ नम्बर वडा समन्वय परिषद्को आयोजनामा तथा वडा कार्यालयको सहयोगमा तालिम सञ्चालन गरिएको हो। तालिममा ३५ जना महिलाको सहभागिता रहेको थियो। इलाम नगरपालिका निवासी उद्यमी प्रशिक्षक उषा निरौलाले सहजीकरण गरेको तालिममा स्थानीय स्तरमा उपलब्ध कृषि उत्पादनबाट विभिन्न प्रकारका अचार तयार गर्ने, संरक्षण गर्ने तथा बजारसम्म पुर्‍याउने विषयमा व्यावहारिक ज्ञान प्रदान गरिएको थियो।

तालिम समापन कार्यक्रम वडाध्यक्ष छत्रबहादुर लिम्बुको प्रमुख आतिथ्यता तथा परिषद्का अध्यक्ष होम कुमार लायो मगरको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा बोल्दै वक्ताहरूले महिलालाई सीपसँग जोडेर आर्थिक रूपमा सबल बनाउने यस्ता कार्यक्रमको आवश्यकता रहेको बताएका थिए।समापनपछि आयोजक संस्थाले सहभागी सबै महिला, सहयोगी तथा अतिथिहरूप्रति धन्यवाद ज्ञापन गरेको छ। परिषद्ले समुदायमा सीप, नेतृत्व तथा क्षमता विकासका कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।

परिषद्का अध्यक्ष मगरका अनुसार संस्थाले यसअघि तीनदिने सिलाम साक्मा तालिम तथा नेतृत्व र क्षमता विकाससम्बन्धी तालिम समेत सञ्चालन गरिसकेको छ। आगामी दिनमा पनि महिला सशक्तीकरण र समुदायको विकासका लागि यस्ता कार्यक्रमलाई निरन्तर अघि बढाइने उनले बताए । स्थानीय महिलाहरूले तालिमबाट प्राप्त सीपलाई व्यवहारमा उतार्दै घरेलु उद्योगमार्फत आयआर्जन बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार