प्रथम स्थापना कप-२०८३, खुल्ला पुरुष फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

  युद्धबहादुर बोहोरा
203 Shares


घुर्विसे पञ्चमीः प्रथम स्थापना कप-२०८३ को अवसरमा घुर्विसे पञ्चमी खेलमैदानमा आयोजित खुल्ला पुरुष फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ। स्थानीय युथ एफ.सी.को आयोजनामा सञ्चालन भइरहेको प्रतियोगितामा क्वार्टरफाइनल चरणका खेल सम्पन्न भएसँगै अन्तिम चार टोलीको टुंगो लागेको हो। प्रतियोगिताअन्तर्गत सम्पन्न क्वार्टरफाइनल खेलमा तिजोक एफसीले नाम्तोक एफसीलाई २-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। त्यस्तै फाइभ स्टार एफसीले हाङ पृथीसिंह एफसीलाई २-० गोल अन्तरले हराउँदै अन्तिम चारमा आफ्नो स्थान बनाएको छ।

अर्को प्रतिस्पर्धात्मक खेलमा कुम्मायक स्पोर्टिङ क्लबले फाल्गुनन्द ग्रिन पिस एफसीलाई ३-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गर्यो। यता आयोजक युथ एफसी भने राँके एफसीसँग ४-१ गोल अन्तरले पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको छ।भोली शुक्रबार हुने सेमिफाइनल खेलमा तिजोक एफसी र कुम्मायक स्पोर्टिङ क्लबबीच पहिलो खेल हुनेछ भने दोस्रो सेमिफाइनलमा फाइभ स्टार एफसी र राँके एफसी आमनेसामने हुनेछन्। दुवै खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ। ‘राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नारासहित जेठ २५ गतेदेखि आयोजित प्रतियोगिता जेठ ३० गते सम्पन्न हुनेछ। प्रतियोगिताको विजेता टोलीले नगद ६० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद ३५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। साथै उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई विशेष पुरस्कार प्रदान गरिनेछ।

समापन समारोहको अवसरमा विशेष मैत्रीपूर्ण खेलसमेत आयोजना गरिने भएको छ। खेल संयोजक विनोद आङ्देम्बेका अनुसार फाल्गुनन्द भेट्रान्स र फाल्गुनन्द गाउँपालिका कर्मचारी टोलीबीच हुने उक्त खेलको विजेता टोलीलाई नगद १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। उक्त पुरस्कार फाल्गुनन्द गाउँपालिका-४ राँके निवासी तथा हाल वैदेशिक रोजगारीका क्रममा माल्टामा रहेका सुमन चेम्जोङले प्रायोजन गरेका हुन्।स्थानीय स्तरमा खेलकुदको विकास, युवाहरूमा खेलप्रतिको आकर्षण अभिवृद्धि तथा खेल संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले घुर्विसे पञ्चमी क्षेत्रको खेलकुद गतिविधिलाई थप चलायमान बनाएको आयोजकको भनाइ छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार