
इलाम: फाकफोकथुम गाउँपालिकामा सामाजिक तथा राजनीतिक नेतृत्वमा महिलाको सहभागिता बढ्दै गएसँगै लैङ्गिक समानता सम्बन्धी कार्यक्रम सञ्चालन गरिएको छ। कार्यक्रमले महिलाको नेतृत्व क्षमता प्रभावकारी, समावेशी र न्यायपूर्ण बनाउन महत्वपूर्ण योगदान पुर्याउने उदेश्यसहित सातवटै वडामा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी एकदिने जानकारीमूलक कार्यक्रम सञ्चालन गरिएको थियो।

गैरसरकारी संस्था महासंघ इलामको आयोजनामा तथा गाउँपालिकाको आर्थिक सहयोगमा सम्पन्न कार्यक्रम ‘समतामूलक समाज निर्माणका लागि लैङ्गिक समानता र सामाजिक समावेशीकरणको आवश्यकता’ विषयमा केन्द्रित थियो। कार्यक्रममा शिक्षिका, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूहका प्रतिनिधि, सहकारीकर्मी, वडा सदस्य, मेलमिलापकर्ता, महिला सञ्जालका प्रतिनिधि तथा विभिन्न राजनीतिक दलका महिला नेतृहरूको सहभागिता रहेको थियो। प्रत्येक वडामा ३० जनाका दरले २१० जनालाई सहभागी गराउने लक्ष्य राखिए पनि विषयप्रतिको चासोका कारण सातवटै वडामा गरी ३०० भन्दा बढी महिलाको उपस्थिति रहेको आयोजकले जनाएको छ।
कार्यक्रममा लैङ्गिक समानता, सामाजिक न्याय, समावेशीकरण र अन्तरविविधताका विषयमा छलफल गर्दै समुदायमा रहेका विभेद, अवसरको असमान पहुँच तथा निर्णय प्रक्रियामा महिलाको भूमिकाबारे अनुभव आदानप्रदान गरिएको थियो। आयोजक संस्थाका अध्यक्ष भक्तबहादुर थामीका अनुसार लैङ्गिक समानता र सामाजिक समावेशीकरण महिलाको मात्र नभई समग्र समाजको विकास र न्यायसँग जोडिएको विषय हो। महिला नेतृत्वकर्ताहरू यसमा सचेत र सक्षम भए समुदायस्तरमै सकारात्मक परिवर्तन सम्भव हुने उनको भनाइ छ। यस संस्थाले जिल्लाका विभिन्न सचेतना मुलक कार्यकर्महरु गर्दै आएको छ ।
कार्यक्रम प्रत्येक वडाका वडाध्यक्षको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने समापन तथा समीक्षा कार्यक्रम ३ नम्बर वडामा गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न भएको हो। कार्यक्रमको सहजीकरण शर्मिला राई र गायत्री थेगिमले गरेका थिए। स्थानीय सरकार, नागरिक समाज र महिला नेतृत्वबीचको सहकार्यमार्फत समावेशी तथा न्यायपूर्ण समाज निर्माण गर्ने लक्ष्यसहित सञ्चालन गरिएको कार्यक्रमले स्थानीय तहमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।


















































