
माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाले विभिन्न क्षेत्रमा योगदान गर्ने ५९ जना विभिन्न व्यक्ति र संस्थालाई सम्मान गरेको छ । मातृभाषा शिक्षाको प्रवर्द्धन, खेलकुद, सामाजिक तथा शैक्षिक क्षेत्रमा योगदान पु¥याउने ५६ जना व्यक्ति र तीन संस्थालाई सम्मान गरेको हो ।
जेठ १२ गते माङसेबुङ गाउँपालिकामा लिम्बू भाषा कामकाजको भाषा घोषणा सभाको अवसरमा उनीहरुलाई दोसल्ला र सम्मानपत्रसहित सम्मान गरिएको हो । कार्यक्रममा मातृभाषा अभियन्ता, उत्कृष्ट शिक्षक, विद्यार्थी, कर्मचारी, पाठ्यक्रम निर्माणकर्ता, खेलाडी तथा सामाजिक क्षेत्रमा सक्रिय व्यक्तिहरुलाई सम्मान गरिएको हो ।
सम्मानित हुनेहरुमा विद्यालयतर्फ २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सामुदायिक विद्यालयतर्फ उत्कृष्ट नतिजा प्राप्त गर्ने चिसोपानी माध्यमिक विद्यालय एवम् संस्थागत विद्यालयतर्फ शतप्रतिशत नजिता प्राप्त गर्ने फाल्गुनन्द अंग्रेजी बोर्डिङ स्कूल र इलाम नवप्रतिभा बोर्डिङ स्कूल रहेका छन् ।
विद्यार्थीतर्फ २०८२ को कक्षा–१२ को प्राविधिक शिक्षातर्फ उत्कृष्ट सरस्वती माध्यमिक विद्यालयका सनम थेगिम लिम्बू, छात्रातर्फ उत्कृष्ट महेन्द्रोदय माध्यमिक विद्यालयकी सुलोचना श्रेष्ठ र छात्रतर्फ सरस्वती माध्यमिक विद्यालयका राजन सम्मानित भएका छन् । त्यसैगरी, २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा प्राविधिक शिक्षातर्फ उत्कृष्ट सरस्वती माध्यमिक विद्यालयकी हाङ्मा लिम्बू, छात्रातर्फ उत्कृष्ट चिसोपानी माध्यमिक विद्यालयकी उषा लिम्बू र छात्रतर्फ महेन्द्रोदय माध्यमिक विद्यालयका नितेष दर्लामी सम्मानित भएका छन् । त्यस्तै, २०८२ को गाउँपालिकास्तरीय परीक्षा (कक्षा–८) मा सर्वोत्कृष्ट सरस्वती माध्यमिक विद्यालयका धनुसा थेगिम लिम्बू,छात्रातर्फ उत्कृष्ट चिसोपानी माध्यमिक विद्यालयकी प्रसंशा राई, छात्रतर्फ उत्कृष्ट इभाङ माध्यमिक विद्यालयका भिजन बस्नेत सम्मानित भएका छन् ।
स्थानीय वान्तवा भाषा पाठ्यक्रम निर्माण कार्यदलतर्फ संयोजक जीवनज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक मदनकुमार राई, सदस्यहरु शिक्षक अम्बिकाप्रसाद राई, उदय राई, शकुन्ताला राई, पूर्वशिक्षक गुञ्जकुमार राई, शिक्षा अधिकृत युवराज खनाल, सल्लाहकारतर्फ भक्तबहादुर राई, डिल्लीकुमार राई, मनकुमार राई, नरबहादुर राई र रामप्रसाद राई सम्मानित भएका छन् ।
त्यस्तै, स्थानीय पाठ्यक्रम परिमार्जन २०८२÷पाठ्यपुस्तक लेखन कार्यदलतर्फ वरभञ्ज्याङ आधारभूत विद्यालयका कुलबहादुर लिम्बू,सरस्वती माध्यमिक विद्यालयका कुलबहादुर तुम्बापो, इभाङ माध्यमिक विद्यालयका पम्फादेवी पुलामी र रत्नादेवी आधारभूत विद्यालयका सुर्य सुब्बा सम्मानित भएका छन् ।
माध्यमिक तह द्वितीय शिक्षकतर्फ विद्यासिर्जनात्मक माध्यमिक विद्यालयका सोमप्रसाद गौतम र सरस्वती माध्यमिक विद्यालयका ध्रुव पुन मगर, माध्यमिक तह तृतीय शिक्षकतर्फ महेन्द्रोदय माध्यमिक विद्यालयका कुलप्रसाद दवाडी र माध्यमिक अनुदानतर्फ नवराज लिम्बू सम्मानित भएका छन् ।
निम्नमाध्यमिक तह द्वितीय शिक्षकतर्फ महेन्द्रोदय माध्यमिक विद्यालयका लुलसी आचार्य र निम्नमाध्यमिक तह तृतीय शिक्षकतर्फ सरस्वती माध्यमिक विद्यालयका दिननाथ भट्टराई सम्मानित भएका छन् । प्राथमिक तह तृतीय शिक्षकतर्फ इभाङ माध्यमिक विद्यालयका ऐवन कठायत, जीवनज्योति माध्यमिक विद्यालयका पर्वत राई, रत्नदेवी आधारभूत विद्यालयका पुष्पलाल बराल, सरस्वती आधारभूत विद्यालयका मुगाधन राई, जयश्वरी आधारभूत विद्यालयका कर्ण राई र सरस्वती माध्यमिक विद्यालयका मुक्तिहाङ साँवा सम्मानति भएका छन् ।
विद्यालय लेखा कर्मचारीतर्फ दुर्गा माध्यमिक विद्यालयकी मासेमी नेम्बाङ र विद्यासिर्जनात्मक माध्यमिक विद्यालयका चण्डीप्रसाद राई सम्मानित भएका छन् । विद्यालय कर्मचारीतर्फ जीवनज्योति माध्यमिक विद्यालयका रेशबहादुर थापा, जनकल्याण आधारभूत विद्यालयका नुमा राई र पवित्र आधारभूत विद्यालयकी सन्तोषी परियार रहेका छन् । बालविकास सहयोगी कार्यकर्तातर्फ जयश्वरी आधारभूत विद्यालयकी मनिता आङदेम्बे र माङमालुङ आधारभूत विद्यालयकी रुपमा साङपाङ सम्मानित भएकी छन् ।
सेवानिवृत्त शिक्षकतर्फ विद्यासिर्जनात्मक माध्यमिक विद्यालयका देवीरमण ढकाल, इभाङ माध्यमिक विद्यालयका युवराज बस्नेत, गजुरमुखी आधारभूत विद्यालयका जगतबहादुर लिम्बू सम्मानित भएका छन् ।
विद्यालय व्यवस्थापन समिति अध्यक्षतर्फ चन्द्रेश्वरी आधारभूत विद्यालयका पूर्णकुमार राई र जनताकल्याण आधारभूत विद्यालयका शंकर योङहाङ लिम्बू सम्मानित भएका छन् ।
म्याराथन धावक पुष्पा शेर्मा र अन्र्तराष्ट्रिय क्रिकेट खेलाडी विद्या सिर्जनात्मक माध्यमिक विद्यालयकी शिक्षक प्रतिमा राई, खेल शिक्षक सरस्वती माध्यमिक विद्यालयका सुमन आङदेम्बे र विद्यालय नर्स चिसोपानी माध्यमिक विद्यालयकी गीता बस्नेत सम्मानित भएका छन् ।
माङसेबुङ स्काउट आयुक्त सरस्वती माध्यमिक विद्यालयकी कृष्णमाया फियाक सम्मानित भएकी छन् । गाउँ शिक्षा समितितर्फ मनोनित सदस्य मित्रकुमार खड्का र दिवस साम्बा सम्मानित भएका छन् ।
कार्यक्रममा प्रदेश प्रमुख परशुराम खापुङ, जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राई, माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईलगायतले दोसल्ला र सम्मानपत्र प्रदान गरे ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष हेमन्त राईले मातृभाषा भनेको समुदायको पहिचान र अस्तित्वसँग जोडिएको विषय भएकाले यसको संरक्षण सबैको साझा दायित्व भएको बताए । ‘मातृभाषा जोगिए मात्र हाम्रो मौलिकता र इतिहास जोगिन्छ,’ अध्यक्ष राईले भने, ‘वान्तावा भाषा पाठ्यक्रम निर्माणले अब स्थानीय भाषा विद्यालय तहसम्म पुग्ने आधार तयार गरेको छ ।’
उनले स्थानीय सरकार केवल भौतिक विकासमा मात्र सीमित नरही भाषा, कला, संस्कृति र पहिचान संरक्षणमा समेत सक्रिय रहेको उल्लेख गरे । ‘हामीले आगामी पुस्ताले आफ्नो भाषा बिर्सिन नपरोस् भनेर पाठ्यक्रम निर्माणदेखि व्यवहारिक कार्यान्वयनसम्म जोड दिएका छौं,’ उनले बताए ।
कार्यक्रममा सहभागीहरूले माङसेबुङ गाउँपालिकाले स्थानीय भाषाको संरक्षणमा थालेको अभियान उदाहरणीय रहेको बताएका थिए । सम्मानित व्यक्तित्वहरूले पनिमातृभाषा संरक्षण अभियानलाई थप सशक्त बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा पत्रकार, जनप्रतिनिधि, कर्माचारी, शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीय समुदायको उल्लेख्य सहभागिता रहेको थियो ।
















































