
इलाम : इलामको चुलाचुली गाउँपालिका अहिले शिक्षा सुधार, सामुदायिक विद्यालय सुदृढीकरण र परिणाममुखी नेतृत्वको सफल उदाहरणका रूपमा स्थापित हुँदै गएको छ ।
माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजाले चुलाचुलीलाई केवल एउटा सफल पालिकाको रूपमा मात्र होइन, ग्रामीण क्षेत्रमै पनि स्पष्ट योजना, निरन्तर लगानी र जिम्मेवार नेतृत्व भए गुणस्तरीय शिक्षा सम्भव छ भन्ने प्रमाणका रूपमा प्रस्तुत गरेको छ ।
यस वर्षको एसईई नतिजाअनुसार चुलाचुली गाउँपालिका इलाम जिल्लाका १० स्थानीय तहमध्ये उत्कृष्ट स्थानीय तह बनेको छ । एसईईको नजिता अनुसार गाउँपालिकाभित्र रहेका ९ वटा विद्यालयबाट परीक्षामा सहभागी विद्यार्थीमध्ये ८१ दशमलव ६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यो प्रतिशत जिल्लाकै सबैभन्दा उच्च हो । गतवर्ष पनि चुलाचुलीले जिल्लामै प्रथम स्थान हासिल गरेको थियो ।
चुलाचुली-२ बाह्रगोठेस्थित जनता माध्यमिक विद्यालयले त जिल्लामै सामुदायिक विद्यालयतर्फ शतप्रतिशत नजिता ल्याएर इतिहास कायम गर्न सफल बन्यो । यसले पनि चुलाचुली गाउँपालिकाको चर्चा चुलिएको छ ।

चुलाचुलीको सफलताले जिल्लाभर चर्चा पाइरहँदा धेरैको चासो एउटै विषयमा केन्द्रित छ, आखिर के कारणले चुलाचुलीले लगातार दोस्रो वर्ष पनि जिल्लामै पहिलो स्थान कायम राख्न सफल भयो ?
स्थानीय शिक्षक, अभिभावक र शिक्षा सरोकारवालाहरूका अनुसार यसको केन्द्रमा गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङको शिक्षा केन्द्रित नेतृत्व र योजनाबद्ध लगानी छ । गाउँपालिका अध्यक्ष केरुङको योजनाबद्ध लगानीमा विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक र स्वयम् विद्यार्थीको मेहनत र परिश्रमका कारण बर्सेनि शिक्षा क्षेत्रमा फड्को मार्न सफल बनेको बाह्रगोठेस्थित जनता माविका प्रधानाध्यापक लक्ष्मेश्वर प्रसाद बनबरियाले बताए ।
नेतृत्व परिवर्तनसँगै शिक्षा क्षेत्रमा ‘कायापलट’

प्रधानाध्यापक बनबरियाका अनुसार राजेन्द्र केरुङ अध्यक्षमा निर्वाचित भएपछि चुलाचुलीमा शिक्षा क्षेत्रले नयाँ गति पायो ।
नेपालका धेरै स्थानीय तहमा सडक, भवन र भौतिक पूर्वाधारलाई प्राथमिकता दिइरहेका बेला चुलाचुलीले शिक्षा क्षेत्रमा प्रत्यक्ष लगानी बढायो ।
अध्यक्ष केरुङले पदभार सम्हालेपछि शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेका थिए । उनले सामुदायिक विद्यालयको स्तर उकास्न विद्यालय पूर्वाधार, शिक्षक व्यवस्थापन, यातायात सुविधा, अतिरिक्त कक्षा र भाषिक शिक्षालाई एकसाथ अघि बढाए ।
केरुङ अध्यक्ष बनेलगत्तै उनले गरेको सबैभन्दा चर्चित निर्णयमध्ये एउटा थियो, बाह्रगोठेस्थित जनता माध्यमिक विद्यालयलाई ५० लाख रुपैयाँ बराबरको विद्यालय बस उपलब्ध गराउने निर्णय । प्राय अन्य पालिकाका अध्यक्षले आफ्नो लागि गाडी खरिद गरेर आलोचना खेपेका बेला अध्यक्ष केरुङले विद्यालयका लागि बस किनिदिएपछि प्रसंशा र चर्चा सुरु भएको थियो ।
धेरै विद्यार्थी लामो दूरी हिँडेर विद्यालय पुग्नुपर्ने अवस्था थियो । विशेषगरी वर्षायाममा नियमित विद्यालय जान कठिन हुन्थ्यो । विद्यालय बस सञ्चालनपछि विद्यार्थी उपस्थितिमा उल्लेखनीय सुधार आएको प्रधानाध्यापक बनबरिया बताउँछन् ।
‘त्यो बस केवल सवारी साधन थिएन, सामुदायिक विद्यालयप्रतिको विश्वास जगाउने अभियान थियो,’ उनले भने, ‘त्यसपछि धेरै अभिभावकले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमै पढाउन थाले ।’
पालिकाको आफ्नै लगानीमा थप शिक्षक नियुक्ति
ग्रामीण विद्यालयको अर्को ठूलो समस्या थियो, शिक्षक अभाव । अध्यक्षमा केरुङ निर्वाचित भएपछि चुलाचुलीले भने यही समस्यालाई प्राथमिकतामा राखेर समाधान खोज्यो ।
गाउँपालिकाले आफ्नै स्रोतबाट २४ जना शिक्षक राखेर तलब उपलब्ध गराउँदै आएको छ । अंग्रेजी, गणित, विज्ञान, कम्प्युटरलगायत विषयमा शिक्षक व्यवस्थापन गरिएको छ । दरबन्दी कम भएका विद्यालयमा विषयगत शिक्षक नियुक्त गरी शिक्षक अभाव हटाइएको अध्यक्ष केरुङले बताए । ‘सरकारी दरबन्दी पर्याप्त नहुँदा गाउँपालिकाले आफ्नै स्रोत खर्च गरेर शिक्षक राख्नु निकै महत्वपूर्ण निर्णय थियो,’ अध्यक्ष केरुङ भन्छन्, ‘गुणस्तरीय शिक्षा दिन शिक्षक अभाव हुन दिनु हुँदैन भन्ने हाम्रो स्पष्ट सोच हो । हामीले शिक्षा क्षेत्रमा गरेको लगानी खर्च होइन, भविष्य निर्माण हो ।’
शिक्षकहरूको नियमितता, विषयगत अध्यापन र अतिरिक्त अभ्यास कक्षाले विद्यार्थीको सिकाइ स्तर सुधार्न मद्दत पुगेको स्थानीयहरूको भनाइ छ ।
मातृभाषा शिक्षा : पहिचानसँग जोडिएको अभियान
चुलाचुली बहुभाषिक र बहुजातीय समुदायको बसोबास रहेको क्षेत्र हो । गाउँपालिकाले औपचारिक शिक्षासँगै मातृभाषा शिक्षालाई पनि प्राथमिकतामा राखेको छ ।
हाल गाउँपालिकाले ६ जना लिम्बू भाषिक शिक्षक व्यवस्थापन गरेको छ भने कुलुङ भाषामा पनि शिक्षण सुरु गर्ने तयारी भइरहेको छ ।
स्थानीय लिम्बू समुदायका अगुवाहरूका अनुसार यसले भाषा संरक्षण मात्र होइन, बालबालिकाको प्रारम्भिक सिकाइ क्षमतामा समेत सकारात्मक प्रभाव पारेको छ ।
विद्यालय पूर्वाधारमा व्यापक सुधार

चुलाचुलीमा पछिल्ला वर्षहरूमा विद्यालय पूर्वाधारमा उल्लेखनीय सुधार भएको देखिन्छ । चुलाचुलीका अधिकांश विद्यालयमा १ देखि २ वटासम्म नयाँ पक्की भवन निर्माण भएका छन् । चुलाचुलीका विद्यालयमा सुरक्षित कक्षाकोठा, कम्प्युटर कक्षा, शैक्षिक सामग्री र सिकाइ वातावरणमा सुधार ल्याउने प्रयास गरिएको छ ।
बालेन सरकार बनेपछि पनि चुलाचुलीमा बजेट ल्याउने काम भएको छ । अहिले किरातेश्वर माध्यमिक विद्यालयमा ६४ लाख रुपैयाँ लागतमा चुलाचुली–३ मा ३४ लाख रुपैयाँ लागतमा सामुदायिक स्वास्थ्य इकाइ भवन निर्माण कार्य पनि अघि बढेको छ । यसमा अध्यक्ष केरुङको विशेष पहल रहेको छ ।
शिक्षा र परिवारको भावनात्मक सम्बन्ध
राजेन्द्र केरुङको शिक्षा क्षेत्रप्रतिको सक्रियता केवल राजनीतिक प्रतिबद्धतामा सीमित छैन, त्यो पारिवारिक इतिहाससँग पनि गहिरो रूपमा जोडिएको छ ।
चुलाचुलीकै पहिलो विद्यालय मानिने किरातेश्वर माध्यमिक विद्यालयका संस्थापक प्रधानाध्यापक तथा जग्गादाता स्वर्गीय हर्कप्रसाद केरुङका छोरा हुन् राजेन्द्र केरुङ ।
स्थानीयवासीका अनुसार हर्कप्रसाद केरुङले गाउँमा शिक्षा विस्तार गर्न ठूलो संघर्ष गरेका थिए । विद्यालय स्थापना गर्नु त्यतिबेला सामाजिक अभियानजस्तै थियो ।
राजेन्द्र केरुङ स्वयं पनि सोही विद्यालयको विद्यालय व्यवस्थापन समिति अध्यक्ष भइसकेका छन् ।
एसईई पूर्वतयारी कक्षा : नतिजामाथि प्रत्यक्ष प्रभाव
चुलाचुलीले एसईई केन्द्रित पूर्वतयारी कक्षा सञ्चालनलाई पनि विशेष प्राथमिकता दिएको थियो । गाउँपालिकाले अतिरिक्त कोचिङ, विषयगत पुनरावृत्ति कक्षा, अभ्यास परीक्षा तथा नियमित परामर्श कार्यक्रम सञ्चालन गरेको थियो । त्यसका लागि गाउँपालिकाले ९ वटा माध्यमिक विद्यालयलाई एक/एक लाख रुपैयाँका दरले शैक्षिक सहयोग उपलब्ध गराएको थियो ।
यस वर्ष एसईईमा ३.६१ देखि ४ को रेन्जमा जीपीए ल्याउने विद्यार्थीहरूको संख्या उल्लेखनीय देखिएको छ । गाउँपालिकाले उत्कृष्ट विद्यार्थीलाई सम्मानसमेत गरेको छ ।
इलाम जिल्लाको शैक्षिक चित्र
एसईई २०८२ को नतिजाअनुसार चुलाचुली गाउँपालिकाले ८१ दशमलव ६ प्रतिशत विद्यार्थी उत्तीर्ण गरी प्रथम स्थान हासिल गर्दा इलाम नगरपालिका ८० प्रतिशत उत्तीर्ण दरसहित दोस्रो स्थानमा रहेको छ ।
त्यसैगरी देउमाई नगरपालिका ७३ दशमलव ३३ प्रतिशतसहित तेस्रो स्थानमा हुँदा माई नगरपालिकामा ६८ दशमलव ५० प्रतिशत तथा सूर्योदय नगरपालिकामा ६२ दशमलव ८१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
रोङ गाउँपालिकाको उत्तीर्ण प्रतिशत ५९ दशमलव ७१ रहेको छ भने फाकफोकथुम गाउँपालिकामा ४६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
त्यस्तै माइजोगमाई गाउँपालिकामा ४१ दशमलव ७१ प्रतिशत, सन्दकपुर गाउँपालिकामा ३६ दशमलव ८९ प्रतिशत तथा माङसेबुङ गाउँपालिकामा ३३ दशमलव ९० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
ग्रामीण शिक्षा सुधारको उदाहरण
चुलाचुली गाउँपालिकाको सफलताले ग्रामीण क्षेत्रमै पनि स्पष्ट योजना, निरन्तर अनुगमन र स्थानीय नेतृत्वको प्रतिबद्धता भए सामुदायिक विद्यालयलाई उत्कृष्ट बनाउन सकिन्छ भन्ने महत्वपूर्ण सन्देश दिएको छ ।
शिक्षा क्षेत्रमा लगानी, शिक्षक व्यवस्थापन, भाषिक शिक्षा, पूर्वाधार विकास, विद्यार्थी प्रोत्साहन र अभिभावक सहभागितालाई एकसाथ अघि बढाउँदा त्यसको प्रत्यक्ष प्रभाव नतिजामा देखिएको स्थानीयहरूको भनाइ छ ।
अध्यक्ष केरुङ चुलाचुलीका विद्यार्थीले राष्ट्रिय स्तरमै प्रतिस्पर्धा गर्न सक्ने वातावरण बनाउन चाहेको बताउँछन् । ‘हामी हाम्रो विद्यार्थीलाई राष्ट्रिय स्तरमै प्रतिष्पर्धा गर्न सक्ने वातावरण सिर्जना खर्न खोजिरेका छौं, यसका लागि निरन्तर अभियानमा छौं, अध्यक्ष केरुङको भनाइ छ ।



















































