‘माङसेबुङका जनप्रतिनिधिहरुको चिनारी’ पुस्तक विमोचन हुँदै

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका क्षेत्रको राजनीतिक इतिहास, लोकतान्त्रिक अभ्यास र विभिन्न कालखण्डका जनप्रतिनिधिहरूको योगदान समेटिएको पुस्तक ‘माङसेबुङका जनप्रतिनिधिहरूको चिनारी पुस्तक’ यही जेठ १२ गते विमोचन हुने भएको छ । पत्रकार राम योङहाङद्वारा लिखित र सम्पादित एवम् माङसेबुङ गाउँपालिकाद्वारा प्रकाशित पुस्तकमा वि.सं. २०१९ देखि २०७९ सालसम्म विभिन्न निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूको चिनारी समावेश गरिएको छ ।

नेपालमा निर्वाचनको इतिहास धेरै पुरानो नभए पनि माङसेबुङ क्षेत्रबाट वि.सं. २०१९ सालदेखि मात्र जनप्रतिनिधि निर्वाचित भएको तथ्य फेला परेकाले सोही समयदेखि हालसम्मका निर्वाचित प्रतिनिधिहरूको विवरण पुस्तकमा समेटिएको लेखक तथा सम्पादक योङहाङले जानकारी दिए । पुस्तकमा वि.सं. २०१९, २०२८, २०३४, २०३९, २०४३, २०४९, २०५४÷०५५, २०७४ र २०७९ सालमा भएका विभिन्न निर्वाचनबाट माङसेबङ क्षेत्रबाट निर्वाचित जनप्रतिनिधिहरूलाई समावेश गरिएको छ । यसले माङसेबुङको राजनीतिक इतिहास, नेतृत्व विकास, स्थानीय शासन प्रणाली र जनसहभागिताको विकासक्रमलाई चित्रण गरेको लेखक तथा सम्पादक योङहाङको भनाइ छ ।

माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले पुस्तकले स्थानीय इतिहास संरक्षणसँगै भावी पुस्तालाई लोकतान्त्रिक अभ्यास र नेतृत्व विकासबारे जानकारी दिने विश्वास व्यक्त गरेका छन् । ‘स्थानीय तहको इतिहास, जनप्रतिनिधिहरूको भूमिका र राजनीतिक यात्रालाई दस्तावेजीकरण गर्नु महत्वपूर्ण काम हो,’ अध्यक्षले राईले भने, ‘यसले माङसेबुङको राजनीतिक तथा सामाजिक इतिहासलाई संस्थागत गर्न मद्दत पुग्नेछ ।’

गाउँपालिका उपाध्यक्ष विनोदकुमार नेम्बाङले यस्ता दस्तावेजले स्थानीय शासन व्यवस्थाको विकासक्रम बुझ्न सहज हुने बताए । ‘विगतदेखि वर्तमानसम्म जनप्रतिनिधिहरूले निर्वाह गरेको भूमिकालाई पुस्तकमार्फत एकै ठाउँमा ल्याइनु सकारात्मक प्रयास हो,’ उनले भने, ‘यसले नयाँ पुस्तालाई नेतृत्व र जनउत्तरदायित्वबारे प्रेरणा दिनेछ ।’

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत दिलशेस राईले पुस्तक केवल जीवनी संग्रह मात्र नभई स्थानीय इतिहासको अभिलेख भएको बताए । ‘स्थानीय सरकारसँग सम्बन्धित इतिहास, निर्णय प्रक्रिया र जनप्रतिनिधिको योगदानलाई दस्तावेजीकरण गर्नु संस्थागत स्मृतिका हिसाबले पनि महत्वपूर्ण विषय हो,’ उनले भने, ‘यस्ता प्रकाशनले स्थानीय तहको अध्ययन अनुसन्धानमा दीर्घकालीन सहयोग पुग्ने अपेक्षा गरेका छौं ।’

१४८ पृष्ठको पुस्तकमा ४३ जना जनप्रतिधिको जीवनी, ९८ जना जनप्रतिनिधिको व्यक्तिगत विवरण र ४०३ जना जनप्रतिनिधिको चिनारी समावेश गरिएको लेखक तथा सम्पादक योङहाङले जानकारी दिए । योङहाङले सो पुस्तक भविष्यका अनुसन्धानकर्ता, विद्यार्थी, योजनाकार तथा समाजप्रेमीहरूका लागि उपयोगी सन्दर्भ सामग्री बन्ने विश्वास व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार