दुई सय वर्ष पुरानो ऐतिहासिक फुङसिङ मेला वैशाख १८ देखि सुरु, वडास्तरीय भलिबल प्रतियोगिता हुने

  युद्धबहादुर बोहोरा

 

घुर्बिसे पञ्चमी: इलाम र पाँचथरको साझा आस्थास्थल फुङसिङ डाँडामा धार्मिक, सांस्कृतिक र खेलकुदसहित भव्य मेला लाग्ने भएको छ। पाँचथर, फाल्गुनन्द ५ फाक्तेपस्थित फाक्तेप युथ क्लबको आयोजनामा वैशाख १८ देखि २० गतेसम्म वडास्तरीय पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ ।

निर्माणधीन राँके- रवि-भेडेटार  सडक अन्तर्गत पर्ने फुङसिङ डाँडा इलाम र पाँचथर जिल्लाको संगमस्थलका रूपमा परिचित छ। करिब दुई सय वर्ष अघिदेखि निरन्तर रूपमा लाग्दै आएको यो मेला पूर्वी पहाडी क्षेत्रकै एक महत्वपूर्ण धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पर्वका रूपमा स्थापित छ। यस मेलामा इलाम र पाँचथरका विभिन्न थुम्का तथा बस्तीहरूबाट भक्तजन तथा दर्शकहरूको ठूलो भीड लाग्ने परम्परा रहँदै आएको छ।

मेलाको अवसरमा परम्परागत पूजा–पाठलाई विशेष महत्व दिइनेछ। साथै धान नाच, च्याब्रुङ नाच, चण्डी नाच लगायतका मौलिक सांस्कृतिक प्रस्तुतिहरूले फुङसिङ डाँडाको वातावरणलाई झनै रंगीन र उत्सवमय बनाउनेछन्।

मेलाको प्रमुख आकर्षणमध्ये वडास्तरीय पुरुष भलिबल प्रतियोगिता पनि रहनेछ। प्रतियोगितामा प्रथम हुने टोलीले रु. ७१ हजार एक सय , दोस्रो हुने टोलीले रु. ४१ हजार  एक सयसहित ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन्। प्रवेश शुल्क रु. ३ हजार पाँच सय तोकिएको छ।

खेलाडी संख्या ६+३ रहने प्रतियोगितामा आफ्नै वडाबाहेक अन्य वडाबाट अधिकतम २ जना खेलाडी मात्र समावेश गर्न पाइने नियम रहेको छ। आवश्यक प्रमाण–पत्र अनिवार्य गरिएको आयोजकले जनाएको छ।

मेलामा खेलप्रेमी, जनप्रतिनिधि तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको समेत उपस्थिति रहने अपेक्षा गरिएको छ। टाढा–टाढाबाट आउने दर्शकहरूको भिडले फुङसिङ डाँडालाई झनै उत्सवमय बनाउने विश्वास गरिएको छ।

पूर्वी पहाडी क्षेत्रका विभिन्न थुम्काहरूमा मौसमअनुसार लाग्ने यस्ता मेलाहरू स्थानीय परम्परा र संस्कृतिको महत्वपूर्ण हिस्सा मानिन्छन्। हालै मात्र फाल्गुनन्द–५ नेब्चोक डाँडामा मेला सम्पन्न भएको थियो भने मिक्लाजुङ क्षेत्रको हिवारी (हिले डाँडा) मा पनि सांस्कृतिक मेला सम्पन्न भएको थियो।

फुङसिङ मेला धार्मिक आस्था, सांस्कृतिक पहिचान र खेलकुदको त्रिवेणी संगमका रूपमा यस क्षेत्रकै गौरवपूर्ण र ऐतिहासिक उत्सव मानिन्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार