
इलाम नगरपालिका–९, राजदुवाली माइखोलास्थित श्री पञ्चकन्या पाथिभरा माता मन्दिर परिसरमा ‘वृहद् श्रीमद्भभागवत सप्ताह ज्ञान महायज्ञ तथा संगीतमय धार्मिक महोत्सव–२०८३’ आयोजना हुने भएको छ। आयोजकले बुधबार फिदिममा पत्रकार सम्मेलन गर्दै महायज्ञको तयारी तीव्र गतिमा अघि बढिरहेको र लगभग अन्तिम चरणमा पुगेकाे जानकारी दिएको हो।
यस महायज्ञ वैशाख १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने कार्यक्रम छ। महायज्ञमा प्रसिद्ध कथावाचक पण्डित कपिलदेव भट्टको मुखारविन्दबाट भागवत कथा वाचन हुने जनाइएको छ। कथा वाचनसँगै पाठ पारायण, भजन–कीर्तन, देवलिलानाटक लगायतका धार्मिक तथा सांगीतिक कार्यक्रमहरू पनि समावेश गरिनेछ।
आयोजकका अनुसार मन्दिरको पूर्ण संरचना निर्माण तथा अक्षयकोष स्थापना गर्ने मुख्य उद्देश्यसहित महायज्ञ आयोजना गर्न लागिएको हो। कार्यक्रममा श्रद्धालु भक्तजनले तन, मन, धन र वचनका साथ सहभागिता जनाई सेवा अर्पण गर्न सक्ने व्यवस्था मिलाइएको छ। महायज्ञ अन्तर्गत वैशाख १५ गते विहान कलश यात्रा र समुद्घाटन कार्यक्रम आयोजना गरिनेछ भने दैनिक रूपमा बिहान र बेलुका कथा प्रवचन तथा पूजाआजा सञ्चालन हुनेछ। प्रत्येक साँझ संगीतमय कार्यक्रमसमेत हुने आयोजकले जनाएको छ । समापन कार्यक्रम वैशाख २२ गते बिहान हुने तालिका छ।
कार्यक्रमलाई इलाम नगरपालिका वडा नं ९ ले सह–आयोजनाको रूपमा सहयोग गरेको छ भने मूल आयोजना श्री पञ्चकन्या पाथिभरा माता मन्दिर व्यवस्थापन समितिले गरेको हो । आयोजकले धार्मिक तथा सांस्कृतिक महत्वको यस महायज्ञलाई सफल बनाउन सबै सरोकारवालालाई सहयोग र सहभागिताका लागि आह्वान गरेको छ।




















































