
इलाम : इलाम नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/०८३ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गर्दै नगरपालिकाको सेवा प्रवाह, विकास निर्माण तथा विभिन्न योजनाबारे नागरिकसँग प्रत्यक्ष संवाद गरेको छ । बिहीबार १ नं. वडा कार्यालयको प्राङ्गण नेपालटारमा आयोजित कार्यक्रममा कार्यवाहक नगरप्रमुख विष्णुकुमारी लिम्बू दाहाल, प्रमुख प्रशासकीय अधिकृत गणेशकुमार खड्का, १ नं. वडाध्यक्ष गायत्रीराम बस्नेत एवम् विभिन्न शाखाका प्रमुखहरूको उपस्थितिमा नागरिकले राखेका गुनासा, सुझाव र जिज्ञासामा खुला छलफल गरिएको थियो ।
कार्यक्रममा पहिलो चरणमा चालु आर्थिक वर्षमा १ नं. वडा र नगरपालिकाले चालु आर्थिक वर्षमा हालसम्म भएका काम, बजेट कार्यान्वयनको अवस्था, सेवा प्रवाहको स्थिति तथा आगामी योजनाबारे जानकारी र अघिल्लो सार्वजनिक सुनुवाइमा उठेका प्रश्न, गुनासो र सुझावको कार्यान्वयन अवस्थाबारे जानकारीसहितको प्रतिवेदन प्रस्तुत गरिएको थियो । वडाको तर्फबाट वडा अध्यक्ष बस्नेत र नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत खड्काले प्रतिवेदन प्रस्तुत गरेका थिए ।
त्यस्तै तेस्रो पक्ष बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिको तर्फबाट तयार गरिएको नागरिक प्रतिवेदन र बहिर्गमन प्रतिवेदन सहजकर्ता राम योङहाङले प्रस्तुत गरका थिए । नागरिक प्रतिवेदनमा सुझाव र बहिर्गमन प्रतिवेदनमा राम्रा पक्ष र सुधार गर्नुपर्ने विषय समेटिएको थियो ।
दोस्रो चरणमा सेवाप्रदायक निकाय इलाम नगरपालिका र सेवाग्राहीबीच सवालजवाफ भएको थियो । सवालजवाफमा सेवाग्राहीले विकास निर्माण, सुशासन प्रवर्द्धन र सार्वजनिक सेवा प्रवाहका सम्बन्धमा आफ्ना गुनासा, जिज्ञासा र सुझाव प्रत्यक्ष रूपमा राखेका थिए । १४ जनाले प्रत्यक्ष र ५ जनाले लिखित रुपमा सडक, विद्युत, शिक्षा, कृषि, पर्यटन एवम् सार्वजनिक सेवासम्बन्धी विभिन्न गुनासा, जिज्ञासा र सुझाव राखेका थिए । उनीहरुले विकास निर्माणका कामलाई गुणस्तरीय बनाउन, सेवा प्रवाहलाई अझ सरल बनाउन तथा योजनाको कार्यान्वयनमा पारदर्शिता कायम गर्न आग्रह गरेका थिए ।
कार्यक्रममा उठेका गुनासो र सुझावको तत्काल समाधानका लागि आवश्यक पहल गरिने नगरपालिकाले प्रतिवद्धता जनाएको छ । सार्वजनिक सुनुवाइका क्रममा कार्यवाहक नगरप्रमुख दाहालले स्थानीय सरकार नागरिकप्रति उत्तरदायी हुनुपर्ने बताउँदै यस्ता कार्यक्रमले पारदर्शिता र विश्वास बढाउन मद्दत गर्ने धारणा व्यक्त गरिन् । ‘सार्वजनिक सुनुवाइ नागरिकले प्रत्यक्ष रूपमा आफ्ना समस्या राख्ने र जनप्रतिनिधिले त्यसको जवाफ दिने महत्वपूर्ण माध्यम हो,’ दाहालले भनिन्, ‘जनताको सुझाव र गुनासालाई हामीले सुधारको अवसरका रूपमा लिन्छौँ र समाधानका लागि आवश्यक पहल गर्नेछौँ।’
प्रमुख प्रशासकीय अधिकृत खड्काले नगरपालिकाले सेवा प्रवाहलाई थप प्रभावकारी र सहज बनाउन विभिन्न सुधारका प्रयास गरिरहेको जानकारी दिए । ‘नगरपालिकाले नागरिकलाई छिटो, सहज र गुणस्तरीय सेवा दिनुपर्ने दायित्व बोकेको छ,’ उनले भने, ‘सार्वजनिक सुनुवाइबाट प्राप्त सुझावहरूले हाम्रो सेवा प्रणालीलाई अझ सुधार गर्न मद्दत पुग्ने विश्वास गरेका छौँ ।’
सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीय नागरिक, विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार तथा सरोकारवालाहरू ८९ जनाको सहभागिता रहेको थियो ।
नगरपालिकाले सेवा प्रवाहमा पारदर्शिता कायम गर्न, जनप्रतिनिधि र नागरिकबीचको सम्बन्ध मजबुत बनाउन तथा जनताको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न प्रत्येक चौमासिकमा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गर्दै आएको जनाएको छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :
तस्बिरहरु :





















































