
इलाम : प्रतिनिधिसभा सदस्य निर्वाचन इलाम क्षेत्र नं. १ मा नेपाली कांग्रेसका युवा उम्मेदवार निस्कल राईले विजयी भएका छन् । श्रम संस्कृति पार्टीका उम्मेदवार विनोदकुमार नेम्बाङ लिम्बू र नेकपा एमालेका उम्मेदवार काजीमान कागतेसँग भएको त्रिपक्षीय रोचक प्रतिस्पर्धामा अन्तत: राईले जित निकालेका हुन् ।
राईले १४ हजार ५४३ मत प्राप्त गरेर विजयी हुँदा निकटतम प्रतिष्पर्धी श्रम संस्कृति पार्टीका लिम्बूले १३ हजार ६३२ मत ल्याएर दोस्रो स्थानमा रोकिए । एमाले उम्मेदवार कागतेले ११ हजार ९६६ मत पाएर तेस्रो स्थानमै सीमित रहे । राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदालले ९ हजार १६०, नेपाली कम्युनिस्ट पार्टीका रणबहादुर राईले ७ हजार ६६५ मत पाएर पाँचौँ स्थानमा रहे ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा यस क्षेत्रमा २६ वर्षपछि कांग्रेसको जित हो । यसअघि वि.स. २०५६ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा कांग्रेसका वेनुपराज प्रसाईं निर्वाचित हुनुभएको थियो । त्यसपछिका वि.स. २०६४ को पहिलो संविधानसभा, वि.स. २०७० को दोस्रो संविधानसभा र वि.स. २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा तत्कालनीन एमाले नेता झलनाथ खनालले जित्दै आउनुभएको थियो । वि.स. २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा भने तत्कालीन एकीकृत समाजवादीबाट उम्मेदवार बन्नुभएका उनै खलाललाई पराजित गर्दै एमालेका महेश बस्नेत निर्वाचित हुनुभएको थियो । यसपटकको निर्वाचनमा भने एमालेको विरासत तोड्न कांग्रेस सफल बनेको हो ।
यही फागुन २१ गते भएको निर्वाचनमा यस क्षेत्रमा कुल एक लाख १२ हजार ३२० मतदातामध्ये ६४ हजार १०४ मत खसेको थियो । यहाँ विभिन्न १३ राजनीतिक दलका १३ जना प्रतिष्पर्धामा थिए ।


















































