
ललितपुर : किरात याक्थुङ चुम्लुङले किरात सिरिजङ्गा लिपि युनिकोड किबोर्ड एन्ड्रोइड मोबाइल एपको सार्वजनिकरणसहित याक्थुङ/लिम्बु भाषा र लिपि डिजिटलाइजेसन तथा शिलान्यास भएको छ। कियाचु संघीय समिति र किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाको संयुक्त आयोजनामा मंगलबार ललितपुरस्थित कियाचु कार्यलयमा पत्रकार सम्मेलन आयोजना गरी सो कार्यक्रम सम्पन्न गरिएको हो ।
कियाचुका महासचिव निरन्ती तुम्बापोले सहजीकरण गरेको उक्त कार्यक्रममा प्रमुख अतिथि कियाचुका संस्थापक अध्यक्ष नन्द कन्दङ्वा थिए ।
सम्मेलनमा प्रमुख अतिथिले याक्थुङ भाषा र लिपिलाई सरकारी कामकाजको भाषाको रूपमा प्रयोग गर्न पाए डिजिटलाइजेसनका सामग्रीहरू व्यापक रूपमा प्रयोगमा आउने र यसको महत्व अझ बढ्ने बताए ।
‘अहिले हामी भाषासँगै डिजिटल क्षेत्रमा अगाडि बढिरहेका छौं, टाउको चाहीँ अगाडि–अगाडि, पुच्छर चाहीँ धेरै पछाडि जस्तै भएको छ। त्यसलाई सँगै लैजान सके यसको महत्व झन् बढ्छ’, उनले भने ।
पत्रकार सम्मेलनमा प्राध्यापक अमर तुम्याहाङले याक्थुङ/लिम्बु भाषा र लिपि डिजिटलाइजेसन अभियानका सम्पन्न, जारी र भावी योजनाहरूको विवरण प्रस्तुत गरे ।
‘सुरुमा एन्ड्रोइडमा प्रयोग गर्नको लागि तयारी गरिएको थियो, अब एप्पलमा पनि यसको पहुँच सुनिश्चित गर्न प्रयास भइरहेछ’, तुम्याहाङले जानकारी दिए ।
यस्तै, आइटी प्रशिक्षक बुधराम गुरुङले “डिजिटल लिपिको अङ्गीकरण: चुनौती र सम्भावना” शीर्षकमा बोले। उनले एआईसँग सम्बन्धित भविष्यका चुनौती र अवसरहरूको चर्चा गर्दै भने, ‘जेन-अल्फाका बच्चाहरू अब प्रत्यक्ष च्याट जिपिटीसँग प्रश्न सोध्छन्। अब एआईलाई डिजाइन गर्नुपर्छ। अहिले एआईलाई किरात, चुम्लुङबारे सोध्दा धेरै कुरा गलत देखिन्छ। त्यसैले हामीले त्यसलाई सही ढंगले निर्माण गर्नुपर्छ ।’
सम्मेलनको समापन गर्दै कियाचु संघीय अध्यक्ष प्रेम येक्तेनले भने, ‘धेरै पहिले याक्थुङ किबोर्ड निर्माण भएपनि प्रयोगमा याक्थुङहरू पछि परेका छन् । कियाचु दक्षिण कोरियाले चलचित्र “मनसरा” प्रदर्शन गरी भाषा, लिपि र समग्र विकासमा योगदान गरेको थियो। यसले हाम्रो डिजिटलाइजेसनको सुरुवात गर्यो ।’
उहाँले थपे, ‘युनिकोड सन् २००३ मा इन्डियाबाट रजिष्टर्ड भइसकेको रहेछ। तर प्रयोगमा ल्याउन हामी यति पछि पर्यौं। नेवारी र नेपाली भाषाले हामीभन्दा अघि बढिसकेका छन्। हामीले बीस वर्ष सुतेर बस्यौं ।’























































