
इलाम : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनालाई लक्षित गरी इलामका ५५ वटा मतदान स्थललाई अति संवेदनशील सूचीमा राखिएको छ । जिल्लाको सुरक्षा अवस्थाको समग्र मुल्याङ्कन गर्दै जिल्ला सुरक्षा समितिले ती मतदान स्थललाई उच्च जोखिमयुक्त ठहर गर्दै अत संवेदनशील सूचीमा राखेको हो ।
निर्वाचनलाई शान्तिपूर्ण, स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षात्मक तयारी कडा पारिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कुलदिप चन्दले बताए । जिल्लामा एक सय ५० मतदान स्थलमध्ये ५५ वटा अति संवेदनशील, ४८ वटा संवेदनशील र ४७ वटा सामान्य वर्गमा राखिएको प्रहरी प्रमुख चन्दले जानकारी दिए ।
आइतबार आफ्नै कार्यालयमा जिल्लाका सञ्चारकर्मीहरुसँग अन्तर्क्रिया गर्दै प्रहरी प्रमुख चन्दले तुलनात्मक रुपमा बढी अति संवेदनशील देखिएका क्षेत्रमा विशेष सुरक्षा रणानीति तयार गरी आवश्यक स्थानमा थप जनशक्ति र निगरानीको मिलाइने बताए ।
‘तुलनात्मक रुपमा बढी अति संवेदनशील देखिएका क्षेत्रमा विशेष सुरक्षा रणानीति तयार गरी आवश्यक स्थानमा थप जनशक्ति र निगरानीको मिलाइनेछ,’ प्रहरी प्रमुख चन्दले भने, ‘त्यसका लागि सुरक्षा संयन्त्र तयारी छ ।’
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि इलामका दुई क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी २७ जना उम्मेद्वार चुनावी मैदानमा छन् । क्षेत्र नं. १ मा १३ दल र क्षेत्र नं. २ मा एक स्वतन्त्र र १३ दलका उम्मेद्वार चुनावी मैदानमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय इलामले जनाएको छ ।
जिल्ला निर्वाचन कार्यालय इलामको तथ्याङ्क अनुसार इलाममा एक सय ५० मतदानस्थलमा दुई सय ९० मतदान केन्द्र तोकिएका छन् ।
यसपटक इलाममा फागुन २० गतेसम्म १८ वर्ष पूरा मतदाता दुई लाख ३१ हजार आठ सय नौ जना रहेका छन् । यो अघिल्लो प्रतिनिधिसभा निर्वाचन-२०७९ को मतदाता सङ्ख्या भन्दा छ हजार नौ सय ३२ ले बढी हो । अघिल्लो निर्वाचनमा इलाममा दुई लाख २४ हजार आठ सय ७७ मतदाता थिए । जसमध्ये एक लाख १५ हजार नौ सय ५२ पुरुष, एक लाख आठ हजार नौ सय २३ महिला र दुई जना तेस्रो लिङ्गी मतदाता थिए ।
क्षेत्र नं. १ मा एक लाख १२ हजार तीन सय २० मतदाता रहेका छन् । ५८ हजार छ सय ७३ पुरुष, ५३ हजार द्ध सय ४६ महिला र एक जना तेस्रो लिङ्गी मतादाता रहेको निर्वाचन कार्यालयका सूचना अभिमकारी कृष्णबहादुर लिम्बूले जानकारी दिए ।
क्षेत्र नं. २ मा एक लाख १९ हजार चार सय ८९ मतदाता रहेका छन् । ६० हजार नौ सय ७५ पुरुष, ५८ हजार पाँच सय १२ महिला र दुई जना तेस्रो लिङ्गी मतदाता रहेका छन् ।
भिडियो हेर्नुहोस् :

















































