प्राकृतिक विपद् नियति हो, तर क्षति – अव्यवस्था र बेवास्ताको परिणाम हो

  नरेन्द्रनाथ भट्टराई
42 Shares

                                              – नरेन्द्रनाथ भट्टराई, इलाम

भूकम्प पृथ्वीको मौन तर निरन्तर चलिरहने जीवनचक्रको अभिव्यक्ति हो। पृथ्वीका भित्री तहहरूमा रहेका टेक्टोनिक प्लेटहरू सास फेरेझैँ बिस्तारै सर्छन्, कहिलेकाहीँ एक–अर्कासँग ठोक्किन्छन र त्यही संचित दबाब एक क्षणमा विस्फोट हुँदा भूकम्प जन्मिन्छ । यो प्रक्रिया न त मानव सभ्यताले सुरु गरेको हो, न त मानव इच्छाले रोकिन्छ । त्यसैले भूकम्प आफैँमा कुनै दण्ड होइन, न कुनै क्रूरता—यो त प्रकृतिको नियतिगत चाल मात्र हो। तर जब यही नियति मानव समाजमा प्रवेश गर्छ, तब त्यसले लिने रूप प्रकृतिले होइन, मानिसले निर्धारण गर्छ।

 संसारका विभिन्न भूभागमा एउटै तीव्रताका भूकम्पले फरक–फरक परिणाम दिनु यही मानवीय हस्तक्षेपको कारण हो। कतै भूकम्पले सहरलाई श्मशान बनाउँछ, हजारौँ जीवनलाई माटोमा मिलाउँछ र पुस्तौँको सपना एकै झट्कामा भत्काइदिन्छ। कतै भने त्यत्तिकै शक्तिशाली कम्पन आए पनि जीवनको लय धेरै हदसम्म सुरक्षित रहन्छ। यो अन्तर भूकम्पको शक्ति रेखामा होइन, मानवीय चेतनाको स्तर, तयारीको गहिराइ र जिम्मेवारीबोधको परिपक्वतामा कोरिएको हुन्छ। प्रकृति त समान हुन्छ तर प्रकृतिसँग जुध्ने मानिसको विवेक समान हुँदैन।

इतिहासले यो सत्य पटक–पटक हाम्रो सामु राखेको छ। हाइटी, टर्की, इन्डोनेसिया, चीन र नेपालजस्ता देशहरूमा भूकम्पले केवल भवनहरू मात्र ढालेन, राज्यको क्षमता, समाजको अनुशासन र नागरिक चेतनाको वास्तविक अवस्था पनि नाङ्गो पारिदियो। २०१० मा हाइटीमा आएको भूकम्पले लाखौँ जीवन लियो, किनकि त्यहाँ गरिबी मात्र होइन, अव्यवस्थित निर्माण, कमजोर शासन र बेवास्ताको लामो इतिहास थियो। यसको ठीक विपरीत, जापान वा चिलीमा अत्यन्त शक्तिशाली भूकम्प आउँदा पनि क्षति सीमित रहनु संयोग होइन। त्यो दशकौँको वैज्ञानिक सोच, अनुशासित नीति, इमानदार निर्माण अभ्यास र नागरिक जिम्मेवारीको प्रतिफल हो। यसले स्पष्ट भन्छ—भूकम्पले सभ्यता नष्ट गर्दैन, सभ्यताभित्रको अव्यवस्थाले भूकम्पलाई विनाशमा रूपान्तरण गर्छ।

 विज्ञानले धेरै पहिल्यै देखाइसकेको छ कि भूकम्पसँग हार मान्नु नियति होइन। भू–संरचनाको अध्ययन, इन्जिनियरिङ मापदण्डको कडाइ, गुणस्तरीय सामग्रीको प्रयोग र नियमित निरीक्षणले भवनलाई मात्र होइन, मानिसको भरोसालाई पनि बलियो बनाउँछ। विद्यालय, अस्पताल, सरकारी कार्यालय र आवासीय क्षेत्रहरू सुरक्षित ढाँचामा निर्माण हुनु भनेको केवल संरचना ठडिनु होइन, त्यो भविष्यप्रतिको नैतिक जिम्मेवारी पूरा गर्नु हो। प्रारम्भिक चेतावनी प्रणाली, छिटो सूचना प्रवाह र प्रभावकारी उद्धार संयन्त्रले भूकम्प रोक्दैन, तर भूकम्पले लिने जीवनको संख्या अवश्य घटाउँछ। यहाँ प्रश्न प्रविधिको होइन, प्राथमिकताको हो।

            नेपालको सन्दर्भमा भूकम्पीय जोखिम भूगोलमा मात्र सीमित छैन, यो हाम्रो सोच र व्यवहारमा पनि गहिरोसँग गाडिएको छ। २०७२ सालको भूकम्पले हाम्रो समाजको आत्मा हल्लाइदियो। त्यो केवल भौतिक विनाश थिएन, त्यो हाम्रो लापरवाही, कमजोर तयारी र प्रतिक्रियामुखी संस्कृतिको कठोर ऐना थियो। भूकम्पपछि नीति बन्यो, संहिता परिमार्जन भयो, तर धेरै कुरा कागजमै सीमित रहे। आज पनि असुरक्षित भवनहरू ठडिँदै छन्, अनुगमन कमजोर छ र सचेतना कार्यक्रम औपचारिकतामा सीमित छन्। हामी अझै पनि विपद् आएपछि मात्र ब्यूँझिने बानीमा बाँचेका छौँ, जबकि वास्तविक सुरक्षा विपद् आउनुअघि सुरु हुनुपर्छ।

  संरचना सुरक्षित हुनु आवश्यक छ, तर पर्याप्त छैन। मानिसको मन सुरक्षित नभएसम्म कुनै पनि भवन पूर्ण रूपमा सुरक्षित हुँदैन। ‘भाग्यमा जे लेखिएको छ, त्यही हुन्छ’ भन्ने नियतिवादी सोचले हामीलाई जिम्मेवारीबाट मुक्त गर्दैन, उल्टै जोखिमतर्फ धकेल्छ। भूकम्प आउँदा के गर्ने, कहाँ जाने, कसरी बच्ने भन्ने साधारण ज्ञान हरेक नागरिकको जीवनदर्शनको हिस्सा बन्नुपर्छ। घरभित्र सुरक्षित स्थान चिन्ने, खुला ठाउँ पहिचान गर्ने, आपतकालीन सामग्री तयार राख्ने र परिवारसँग स्पष्ट योजना बनाउने जस्ता साना अभ्यासहरू वास्तवमा ठूलो चेतनाका सूचक हुन्। डरले मानिसलाई निष्क्रिय बनाउँछ, तर ज्ञानले उसलाई सक्षम बनाउँछ।

 भूकम्पपछि सक्रिय हुने हाम्रो प्रवृत्ति नै सबैभन्दा ठूलो विडम्बना हो। २०७२ पछि पुनर्निर्माणका नाममा धेरै संरचना बने, तर सोच धेरैजसो पुरानै रह्यो। अवसरलाई सुधारमा बदल्ने सट्टा, हामीले धेरै ठाउँमा पुरानै कमजोरीलाई नयाँ रंग लगायौँ। यसको जरो जनचेतनाको कमी, पेशागत इमानदारीको अभाव र अनियन्त्रित स्वार्थको प्रभावमा छ। भूकम्पको भौतिक नियम परिवर्तन हुँदैन, तर समाजको नैतिक र बौद्धिक धरातल परिवर्तन हुन सक्छ—यदि हामीले चाह्यौँ भने।

अन्ततः भूकम्प वा अन्य दैवी प्रकोप प्रकृतिको नियति हो, तर त्यसबाट हुने विनाश मानवीय नियतको परिणाम हो। कति जीवन सुरक्षित रहन्छन् भन्ने निर्णय पृथ्वीले होइन, हामीले गर्छौँ—हाम्रो तयारीले, हाम्रो अनुशासनले र हाम्रो जिम्मेवारीबोधले। यदि हामीले आजै सुरक्षित निर्माणलाई सस्तो विकल्पभन्दा माथि राख्यौँ, चेतनालाई व्यवहारमा उतार्यौँ र डरभन्दा ज्ञानलाई रोज्यौँ भने भोलिका भूकम्प त्रासदी होइन, चेतावनी मात्र बन्न सक्छन्। त्यसैले अब प्रश्न भूकम्प आउने–नआउने होइन, हामी कत्तिको सचेत, कत्तिको जिम्मेवार र कत्तिको तयार छौँ भन्ने हो। भविष्यका भूकम्पहरू प्रकृतिको परीक्षा मात्र होइनन्, हाम्रो विवेकको अन्तिम परीक्षा हुनेछन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार