अबको राजनीतिक निकास निर्वाचनमार्फत मात्र सम्भव : इन्चार्ज गजुरेल

इलाम : नेकपा (माओवादी केन्द्र) केन्द्रीय विशेष महाधिवेशन आयोजक समिति सचिवालय सदस्य तथा कोशी प्रदेश इन्चार्ज हरिबोल गजुरेलले जेन्जी आन्दोलनले राजनीतिक दलहरुलाई राम्रो सबक सिकाएको बताएका छन् ।

मङ्गलबार जिल्ला प्रशासन कार्यालय इलाममा सुरक्षा प्रमुखसँगको छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै गजुरेलले माओवादीले गर्नुपर्ने आन्दोलन युवाहरुले गरेको भन्दै त्यसले दलहरुलाई आत्मसमीक्षा गर्न बाध्य बनाएको उल्लेख गरे ।

‘जेन्जी आन्दोलनले दलहरु सच्चिनुपर्ने स्पष्ट सन्देश दिएको छ,’ गजुरेलले भने, ‘यो आन्दोलनले हामी सबैलाई सबक सिकाएको छ ।’ उनले भ्रष्टाचार अन्त्य र सुशासन माओवादी केन्द्रको अभियान रहेको दावी गर्दै जेन्जी आन्दोलनले सोही कुरा उठाएको उल्लेख गरे ।

माओवादी केन्द्र उपमहासचिव समेत रहेका गजुरेलले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख माओवादीको पुरानै एजेण्डा भएको बताउँदै भने, ‘यो मुद्धा अहिले जेन्जी आन्दोलनले पनि उठाएको छ, त्यसैले हामी जेन्जीहरुसँग सहकार्य गर्न तयार छौं ।’

उनले अबको राजनीतिक निकास निर्वाचनमार्फत मात्र सम्भव रहेको बताउँदै सबै दलहरु निर्वाचनमा केन्द्रित हुनुपर्नेमा जोड दिए । ‘कांग्रेस र एमाले निर्वाचनसँग डराएका छन्, तर माओवादी केन्द्र त्यसका लागि पूर्ण रुपम तयार छ,’ उनले भने, ‘प्रतिनिधिसभा विघाटन असंवैधानिक भए पनि आन्दोलनको ‘आवश्यकताको सिद्धान्त’का आधारमा माओवादी केन्द्र निर्वाचनमा जान तयार भएको हो ।’

गजुरेलले अहिलेको राजनीतिक संकटका लागि प्रमुख दुई दल कांग्रेस र एमाले नै जिम्मेवार रहेको आरोप लगाए । ‘संसदीय व्यवस्थामा पहिलो र दोस्रो ठूला दल मिलेर सरकार बनाएर पनि जनताको पक्षमा काम नगरेकाले आजको अवस्था सिर्जना भएको हो,’ उनले भने, ‘यसको जिम्मेवारी उनीहरुले नै लिनुपर्छ ।’

उनले माओवादी केन्द्र विशेष महाधिवेशनबाट रुपान्तरणको दिशामा अघि बढ्ने दावी गरे । नेकपा (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग पार्टी एकताको छलफल भइरहेको उल्लेख गर्दै उनले पार्टी एकतापछि कि अघि नै विशेष महाधिवेशन गर्ने भन्ने बारेमा पार्टीमा छलफल भइरहेको बताए ।

उनले इलामसहित देशभरका बाढी-पहिरो पीडितका लागि राहत, पुनर्वास र पुनर्निर्माण अभियानमा माओवादी केन्द्र सक्रिय रुपमा जुट्ने प्रतिवद्धता पनि जनाए । उनी बाढी-पहिरो प्रभावित क्षेत्रको निरीक्षणका क्रममा इलाम आएका हुन् ।

गत असोज १८ गतेको बाढी-पहिरोले इलाममा २९ जनाको ज्यान भएको थियो भने एक जना वेपत्ता छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार