
इलाम : अविरल वर्षासँगै गएरातीको बाढीले इलाममा दुईवटा पक्की पुलसहित पाँचवटा मोटरेबल र एक झोलुङ्गे पुलमा क्षति पुर्याएको छ । बाढीले मेची कोरिडोर (केचना-कञ्चनजङ्घा सडक) अन्तर्गत बेलासेस्थित इलाम नगरपालिका-११ सोयाक र माई नगरपालिका-९ चिसोपानी जोड्ने माईखोलाको पक्की पुल भाँचेको छ ।
बाढीले सोही सडक अन्तर्गत इलाम नगरपालिका-९ र ११ जोड्ने पुवाखोलाको बेलिब्रिज बगाएको सडक डिभिजन इलामका डिभिजन प्रमुख इन्जिनयर पवन भट्टराईले जानकारी दिए । सो बेलिब्रिज गतवर्षमा मात्र निर्माण गरिएको थियो ।
त्यस्तै मङ्गलबारे-गजुरमुखी-इभाङ-चतुरे सडक अन्तर्गत गजुरमुखीधामस्थित देउमाई नगरपालिका र माङसेबुङ गापालिका जोड्ने देउमाई खोलाको पक्की पुल क्षतिग्रस्त बनाएको छ । त्यस्तै सिमलगोलाइ-जोगमाई-तिल्केनी सडक अन्तर्गत जोगमाई खोलाको बेलिब्रिज समेत बगाएको छ । सो बेलिब्रिज पनि गएको वर्ष मात्र निर्माण गरिएको थियो ।
त्यस्तै मेची राजमार्ग अन्तर्गत राजदुवालीस्थित इलाम नगरपालिका-९ र १० जोड्ने माईखोलाको पक्की पुलमा समेत क्षति पुर्याएको डिभिजन प्रमुख भट्टराईले बताए ।
बाढीले इलामको गजुरमुखीधामस्थित माङसेबुङ गाउँपालिका र देउमाई नगरपालिका जोड्ने देउमाई खोलाको झोलुङ्गे पुल बगाएको छ ।
बाढीले पुलमा क्षति पुर्याएपछि जिल्लाका प्रायजसो सबै सडकहरु अवरुद्ध भएका छन् । अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको भट्टराईले बताए ।
‘अवरुद्ध सडक सुचारु गराउनका कार्यालयमा उपलब्ध स्काभेटरसहित संघीय सडक सुपरीवेक्षण तथा अनुमगन कार्यालय इटहरीबाट तीनवटा स्काभेटर ल्याउँदैछौं,’ उनले भने, ‘दुई/तीन दिनभित्र मुख्य सडक सञ्चालन गर्ने प्रयासमा छौं ।’


















































