सन्दकपुर गाउँपालिकाको आर्थिक वर्ष २०८१/०८२ को अन्तिम चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न (भिडियो/तस्बिरहरु)

इलाम : इलामको सन्दकपुर गाउँपालिकाको गत आर्थिक वर्ष २०८१/०८२ को तेस्रो तथा अन्तिम चौमासिक सार्वजनिक सुनुवाई बिहीबार सम्पन्न गरेको छ ।

जनप्रतिनिधि तथा कर्मचारीहरूमा जवाफदेही संस्कार बसाउने एवम् दोहोरो संवादबाट जिम्मेवार अधिकारी र नागरिक बीचको दूरी कम गरी सेवा, वस्तु र सुविधा प्रदायक अधिकारी सहजकर्तामा रुपान्तरित भई सुशासनको प्रत्याभूति दिने उदेश्यले सन्दकपुर-३ स्थित सेमिच्योङ भवनमा सार्वजनिक सुनुवाई सम्पन्न गरेको हो ।

कार्यक्रम सन्दकपुर गाउँपालिकाको आयोजना र इलाम मल्टिपेर्पोज कम्पनी प्रालिको संयोजन र सहजीकरणमा भएको कार्यक्रममा गाउँ कार्यपालिकाको कार्यालय र विभिन्न विषयगत शाखाहरुबाट भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहको सम्बन्धमा भएका प्रगति विवरण आन्तरिक लेखा परिक्षक सरोज दाहालले प्रस्तुत गरेका थिए ।

कार्यक्रममा ८१ जनाको उपस्थिती रहेको थियो । कार्यक्रममा विकास निर्माण, सुशासन, कृषि लगायत विविध विषयमा १० जनाले गुनासो र सुझाव राखेका थिए । सहभागीहरुको प्रश्नको उत्तर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ, उपाध्यक्ष हरिबहादुर लुङ्गेली, प्रमुख प्रशासकिय अधिकृत यादव राउत, २ नं. का अध्यक्ष सनम राई र ३ नं. वडा अध्यक्ष लिलfबहादुर बुर्जाले दिएका थिए ।  उनीहरुले आगामी दिनमा गुणस्तरीय सेवाप्रवाह गर्ने प्रतिवद्धता जनाए ।

त्यस्तै इलाम मल्टिपेर्पोज कम्पनी प्रालिका तर्फबाट सहजकर्ता राम योङहाङले ३० जना नागरिकसँग सार्वजनिक सेवा प्रदायक संस्थाबाट सेवा लिँदा प्रत्यक्ष अनुभव गरेका, भोगेका र देखेका कुराहरुलाई उल्लेख गरी लिएको नागरिक अभिमत प्रतिवेदन र नागरिक बडापत्रद्वारा गरिएका बाचा बमोजिम ३० जना सेवाग्राहीले सेवा सुविधाको प्राप्तिपछि कार्यालयबाट बाहिर निस्किने समयमा त्यहाँको सेवा सुविधाको विषयमा लिएको बहिर्गमन अभिमत नतिजा प्रस्तुत गरेका थिए ।

नागरिक अभिमतबाट प्राप्त प्रतिक्रियामा आगामी दिनका लागि सुझावहरु र बहिर्गमन अभिमतबाट प्राप्त प्रतिक्रियामा राम्रो पक्षसँगै र सुधार गर्नुपर्ने विषयहरु औंल्याइएको थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रमले शासन सञ्चालनमा पारदर्शिता, नेतृत्वमा जवाफदेहिता र सार्वजनिक चासोका बिषयमा आम नागरिकहरूको सूचनामा पहुँचलाई मजबुत बनाउनुका साथै सार्वजनिक सेवा, वस्तु र निर्णय प्रक्रियामा आम नागरिकको सहभागितालाई प्रवर्द्धन गर्नेछ ।

यस्तै, गत आर्थिक वर्ष २०८१/०८२ को वार्षिक समीक्षा समेत गरिएको छ । साथै सोही कार्यक्रममा सन्दकपुर गाउँपालिकाको चालु आर्थिक वर्ष २०८/०८३ का लागि स्वीकृत बजेट, नीति तथा कार्यक्रम पुस्तिका सार्वजनिक भएको छ ।

सन्दकपुर-३ स्थित सेमिच्योङ भवनमा आयोजित कार्यक्रममा कोशी प्रदेशका पूर्वपर्यटन, वन तथा वातावरणमन्त्री एवम् प्रदेशसभा सदस्य खिनु लङ्वा लिम्बू, जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राई, गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ, उपाध्यक्ष हरिबहादुर लुङ्गेलीलगायतले बजेट पुस्तिका सार्वजनिक गरेका हुन् ।

तस्बिरहरु :

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार