
इलाम : पूर्वी नेपालको हरियालीले ढाकिएको, तर विकासका नाममा अझै उचाइ खोजिरहेको इलाम जिल्लाको फाकफोकथुम–६ , शिकारी भञ्ज्याङ एकतप्पाको एउटा सानो गाउँ। त्यही गाउँको एउटा सामान्य परिवारमा जन्मिए, हुर्किए रुद्र परियार।
ढिंडो र रोटिको भरमा पेट पाल्दै, गाईवस्तु चराउँदै, खेतबारी जोत्दै हुर्किएको एउटा बालक, जसको सपना भने पहाडजत्तिकै अग्लो थियो, गीत संगीतको संसारमा आफ्नो पहिचान बनाउने।
पिता स्व. हिमबिर परियार र माता स्व. शुभ माया परियारका कान्छा सन्तान रुद्रलाई सानैदेखि रेडियोमा बज्ने धुनले आकर्षित गर्थ्यो। त्यो धुनको रहस्य पत्ता लगाउने कौतुहलताले उनीभित्र एक संगीतप्रेमी आत्मा जन्मियो।
सिंहदेवी मावि, एकतप्पाबाट एसएलसी (वि.सं. २०५१) पास गरेपछि उनी काठमाडौं पस्न सफल भए। ललितकला क्याम्पस, भोटाहिटीमा आईए अध्ययन गर्दै गर्दा उनले जिन्दगीको अर्कै पाठ सिक्न थाले संघर्ष।
सानैदेखि चित्र कला र आर्ट गर्न रमाउने उनी पढाइसँगै बागबजारमा आर्ट कला सिक्दै काम गर्न थाले । विभिन्न विद्यालयका भित्ता, कम्पनीका विज्ञापनले सटर, वाल रङ्गयाउन र लेखन गरेर जीविकोपार्जन गर्थे। पछि घरमा आएर केही वर्ष पनि आर्टको काम गरे । दुःख, निराशा र भोकले थिचे पनि उनले गीत-संगीतप्रतिको मोह गुमाएनन्।
घरको आर्थिक अवस्था कमजोर भएकाले प्रशिक्षित संगीत शिक्षा लिन त पाएनन्, तर जीवन नै उनको गुरू बन्यो।
उनले नौमती बाजा, सहनाइ, सारङी, बासुरी जस्ता वाद्ययन्त्रमा आफैलाई समर्पित गरे। आज उनी नौमती बाजा प्रशिक्षक, वाद्यवादन प्रशिक्षक, अनि सारंगी-बासुरी वादकका रूपमा स्थापित छन्।

उनका स्वरमा भर्खरै रेकर्ड भइसकेका लोकगीतहरू ‘पूर्व रमाइलो’ र ‘यो मायाको संसार’ यी गीतहरूले गाउँघरको रेडियो, मोबाइल स्पीकर र मेलापातको वातावरणमा गुञ्जन थालेका छन्।
गीतहरूमा उनको पूर्वेली स्वाद, सरलपन र मौलिकता भेटिन्छ।
तर भिडियो निर्माणको अभाव, प्रविधिमा पहुँचको कमी र आर्थिक सहयोगको अभावले उनी अझै राष्ट्रिय मञ्चमा उभिन पाएका छैनन् यथार्थ त्यही हो उनको । उनका काल्पनिक गीत र कविता नभइ नेपाली ग्रामीण कलाकारको रुँदै गाइरहेको आत्मकथा हो।
उनकी जीवनसाथी चन्दा परियार, जसको साथ र समर्थनले उनलाई निरन्तर अगाडि बढ्ने प्रेरणा दिएको उनले बताए ।
दुई सन्तान एक छोरा र एक छोरीलाई दुःख गर्दै हुर्काउँदै गर्दा उनले आफ्नो संगीतको सपना त्यागेनन्, बरु त्यही सपना उनीहरूका लागि जिउँदो राखे।
रुद्र परियार कुनै चर्चित र ठुलो पहिचान कमाएका कलाकार होइनन् तर उनी नेपाली लोक संगीलाई मुटुदेखि माया गर्ने एक सरल र मिजासिलो कलाकार हुन् । कतिपयले उनलाई गाउँघरमै नचिने पनि हाल उनका गीत बजारमा आउन थाालेपछि को हुन् रुद्र परियार भनेर खोज्न भने थालेका छन् ।

उनको स्वर, संघर्ष र साधनाले प्रमाणित गर्न थालेको छ । लोकसंगीत सधैं मञ्चको चमक होइन, माटोको सुगन्ध हो।
र, रुद्र परियार त्यस सुगन्धको मौन तर चम्किलो नक्षत्र बन्दै गएका छन् । उनी भन्छन् ,”संगीतमा उमेर हुँदैन। जति उमेर ढल्दै जान्छ, त्योभन्दा बढी गीत संगीतको भोको हुँदै जान्छ।”
बेला मौका उनले गाउँघरमा बजाउने साराङ्गी र बाँसुरीको धुनमा श्रोता र दर्शकले घेर्ने गर्दछन् । यो प्रेरणले उनलाई थप उचाइमा पुग्न बल पुगेको उनको भनाइ छ ।

रुद्र परियारजस्ता ग्रामीण प्रतिभाको सम्मान, संरक्षण र प्रवर्द्धन गर्नु अहिलेको आवश्यकता हो। उनीहरूमा हाम्रो लोक संस्कृतिको वास्तविक आत्मा लुकेको छ। राज्य, संस्थाहरू र सञ्चार माध्यमले यस्ता आवाजलाई उजागर र संरक्षण गर्दै प्रोत्साहन दिन जरुरी देखिन्छ ।



















































