
माङसेबुङ : इलामको चुलाचुली गाउँपालिकाको चालु आर्थिक वर्ष २०७९।०८० को अन्तिम सार्वजनिक सुनुवाई कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
वडा वडामा सार्वजनिक सुनुवाई गरेको चुलाचुलीले सोमबार गाउँपालिकाको कार्यालय र ४ नं. वडा कार्यालयको सार्वजनिक सुनुवाई कार्यक्रम संयुक्त रुपमा सम्पन्न गरेको हो ।
गाउँपालिकाको कार्यालय, विभिन्न विषयगत शाखा र ४ नं. वडा कार्यालयबाट भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहको सम्बन्धमा गाउँपालिका कार्यालयको प्राङ्गणमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो ।
चुलाचुली गाउँपालिकाको आयोजना र बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिको संयोजन र सहजीकरणमा भएको कार्यक्रममा ६५ जनाको उपस्थिती रहेको थियो । कार्यक्रममा कार्यक्रममा ९ जना सेवाग्राहीले प्रत्यक्ष रुपमा चासो, गुनासो, प्रश्न र सुझाव राखेका थिए ।
कार्यक्रममा थाङसाङ लावती, रामप्रसाद तामाङ, मानबहादुर पौडेल, दिलु राई, चक्र गजमेर, पर्वत लिम्बू, भवानी आचार्य, ऋतुप्रसाद अधिकारी र विद्यानाथ पोख्रेलले प्रत्यक्ष चासो, गुनासो, प्रश्न र सुझाव राखेका थिए ।
उनीहरुले विकास निर्माणका विभिन्न पक्षहरुको विषयमा गुनासो, प्रश्न र सुझाव राखेका थिए ।

सेवाग्राहीको प्रश्नको जवाफ चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङ, उपाध्यक्ष दिलकुमारी लिम्बु योङहाङ, प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदी, आर्थिक प्रशासन प्रमुख मिलनकुमार भट्टराई, कृषि शाखा प्रमुख अनिल तिमल्सिना, पूर्वाधार शाखा प्रमुख क्षितिज दाहाल, शिक्षा शाखा प्रमुख राम मिश्र र वडा अध्यक्ष सागर जवगूले दिएका थिए ।
उनले सेवाग्राहीको प्रश्न र सुझावलाई सम्पतिको रुपमा ग्रहण गर्दै आगामी दिनमा कार्यान्वयन गरेर अगाडी बढ्ने प्रतिवद्धता जनाए । गाउँपालिका अध्यक्ष केरङले सबै प्रश्नकर्ता र सुझावकर्ताहरुलाई धन्यवाद ज्ञापन गर्दै सेवाग्राहीको सुझावलाई ग्रहण गरेर अघि बढ्ने प्रतिवद्धता जनाए ।
कार्यक्रमको उदेश्यसहित स्वागत प्रशासन शाख प्रमुख तीर्थराज खरेलले, वडाको विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहबारे वडा अध्यक्ष जवेगूले र गाउँपालिकाको विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहबारे आर्थिक प्रशासन भट्टराईले प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिका सहजकर्ता राम योङहाङले ४६ जनाको नागरिक अभिमत प्रतिवेदन पत्र र ४६ जनाको बहिर्गमन अभिमतको नतिजा प्रस्तुत गरेको थिए । नागरिक अभिमतबाट प्राप्त प्रतिक्रियामा आगामी दिनका लागि सुझावहरु औंल्याईएको छ ।

त्यस्तै बहिर्गमन अभिमतबाट प्राप्त प्रतिक्रियामा राम्रो पक्षसँगै र सुधार गर्नुपर्ने विषयहरु औंल्याइएको थियो ।
कार्यक्रमको प्रत्यक्ष प्रशारण नयाँ बुलन्दको अफिसियल फेसबुक पेज नयाँ बुलन्द बाट भएको थियो ।
चुलाचुली गाउँपालिकाले चालु आवमा यसअघि वड नं. १, २, ३, ५ र ६ मा सार्वजनिक सुनुवाई कार्यक्रम संचालन गरेको थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रमले शासन सञ्चालनमा पारदर्शिता, नेतृत्वमा जवाफदेहिता र सार्वजनिक चासोका बिषयमा आम नागरिकहरूको सूचनामा पहुँचलाई मजबुत बनाउनुका साथै सार्वजनिक सेवा, वस्तु र निर्णय प्रकृयामा आम नागरिकको सहभागितालाई प्रवर्द्धन गर्नेछ ।
जनप्रतिनिधि र कर्मचारीहरूमा जवाफदेही संस्कार बसाउने एवम् दोहोरो संवादबाट जिम्मेवार अधिकारी र नागरिक बीचको दूरी कम गरी सेवा, वस्तु र सुविधा प्रदायक अधिकारी सहजकर्तामा रुपान्तरित भई सुशासनको प्रत्याभूति दिने उदेश्यले सार्वजनिक सुनुवाई कार्यक्रम संचालन गरेको हो ।
कार्यक्रमका तस्विरहरु




















































