
माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिकाले सार्वजनिक सुनुवाई आइतबार सम्पन्न गरेको छ ।
गाउँकार्यपालिकाको कार्यालय र विषयगत शाखा/फाँटबाट भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहको सम्बन्धमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको हो ।
माङसेबुङ गाउँपालिकाको आयोजना र बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिको संयोजन र सहजीकरणमा भएको कार्यक्रममा ९३ जनाको उपस्थिती रहेको थियो । कार्यक्रममा कार्यक्रममा ७ जना सेवाग्राहीले प्रत्यक्ष र ६ जन सेवाग्रहीले अप्रत्यक्ष रुपमा चासो, गुनासो, प्रश्न र सुझाव राखेका थिए ।
कार्यक्रममा रोमियो राई, निर्मला कार्की, जीवन वाङदेल, कमल कार्की, आनन्द राई, जीतबहादुर जोशी र हरी राईले प्रत्यक्ष चासो, गुनासो, प्रश्न र सुझाव राखेका थिए । त्यस्तै वसन्त लिम्बू योङहाङ, प्रमेश वान्तवा, शुभ इसारा किराती, गिरीराज शंकर, सुमन राई र टिवी केसीले अप्रत्यक्ष रुपमा चासो, गुनासो, प्रश्न र सुझाव राखेका थिए ।
सेवाग्राहीले सिलाईकटाई तालिम भएको भएपनि जनप्रतिनिधिले पोसाक नलगाएको, कृषिजन्य वीउविजन र मल समयमा नपाइएको, वडा नम्बर २ मा टोल विकास गठन नभएको, जंगली जनावर बाँदरले बालीनाली नष्ट गरिरहेकाले त्यसको नियन्त्रणका लागि पालिकाको पहल हुनुपर्ने, शिक्षामा गुणस्तर वृद्धि गरिनुपर्ने, विद्यालय व्यवस्थापन समितिमा दक्ष र योग्य व्यक्ति राख्नुपर्ने, विज्ञलाई शिक्षा समितिमा राख्नुपर्ने, अनुगमन कार्यलाई प्रभावकारी बनाइनुपर्ने, सूचना प्रकाशन र प्रशारणलाई प्रभावकारी बनाइनुपर्ने, अनुदान कार्यलाई प्रभावकारी बनाइनुपर्ने, पर्यटन, कृषि र पशु क्षेत्रमा व्यापक लगानी गर्नुपर्ने, आदिवासी जनजाति समन्वय समितलाई पूर्णता दिनुपर्नेलगायत सुझाव राखेका छन् ।
त्यस्तै योजना अनुगमनमा स्थानीयलाई समेत समावेश गरिनुपर्ने, माङसेबुङले स्थायी प्रकाशनिक संरचना बनाउनुपर्ने, स्वच्छ खानेपानीको व्यवस्था गरिनुपर्नेलगायतका सुझावहरु राखेका छन् ।
सेवाग्राहीको प्रश्नको जवाफ गाउँपालिका अध्यक्ष हेमन्त राई, उपाध्यक्ष विनोद नेम्बाङ, प्रमुख प्रशासकीय अधिकृत विनोद चौहान र २ नं. वडा अध्यक्ष कृष्णबहादुर बस्नेत, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख बुद्धिप्रसाद खतिवडा, पूर्वाधार विकास शाखा प्रमुख इन्जिनियर सन्दिप लामिछाने, कृषि विकास शाखाका कृषि अधिकृत सुरज अधिकारीलगायतले दिएका थिए ।
उनीहरुले सेवाग्राहीको प्रश्न र सुझावलाई सम्पतिको रुपमा ग्रहण गर्दै आगामी दिनमा कार्यान्वयन गरेर अगाडी बढ्ने प्रतिवद्धता जनाए । गाउँपालिका अध्यक्ष राईले सबै प्रश्नकर्ता र सुझावकर्ताहरुलाई धन्यवाद ज्ञापन गर्दै सेवाग्राहीको सुझावलाई सरोकारवालाहरुसँग छलफल गरेर आगामी गाउँसभाबाट समेटेर अघि बढ्ने प्रतिवद्धता जनाए ।
उपाध्यक्ष नेम्बाङले सेवाग्राहीहरुको सुझावलाई अनुसरण गरेर अगाडी बढिने बताए । प्रमुख प्रशासकीय अधिकृत चौहानले जनताका यस्तै गुनासो र सुझावहरु संकलन गर्नकै लागि कार्यक्रम आयोजना गरिएको बताउँदै आएका सुझावहरु कार्यालयले आगामी दिनमा सम्बोधन गर्दै लैजाने प्रतिवद्धता जनाए ।
कार्यक्रमको उदेश्यसहित स्वागत सूचना प्रविधि अधिकृत ओमप्रकाश खड्काले गरेका थिए । त्यस्तै सेवाप्रवाहबारे शाखागत र फाँटगत रुपमा शाखा प्रमुख र फाँट प्रमुखले प्रस्तुत गरेका थिए । आर्थिक प्रशासन फाँट प्रमुख मञ्जु भट्टराई, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख बुद्धिप्रसाद खतिवडा, स्वास्थ्य शाखा प्रमुख प्रदिपकुमार राई, पशुसेवा शाखा प्रमुख सहायक चिकित्सक मनोज ठगुन्ना, पूर्वाधार विकास शाखाप्रमुख इन्जिनियर सन्दिप लामिछाने, कृषि विकास शाखाका कृषि अधिकृत सुरज अधकारी, रोजगार सेवा केन्द्रका रोजगार संयोजक दिपेशकुमार दास, लघुउद्यम विकास कार्यक्रम (मेड्पा) का उद्यम विकास सहजकर्ता नविन खनालले आआफ्नो शाखा र फाँटको सेवाप्रवाह सम्बन्धीको प्रगतिविवरण प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिका सहजकर्ता राम योङहाङले ३० जनाको नागरिक अभिमत प्रतिवेदन पत्र र ३० जनाको बहिर्गमन अभिमतको नतिजा प्रस्तुत गरेको थिए । नागरिक अभिमतबाट प्राप्त प्रतिक्रियामा आगामी दिनका लागि सुझावहरु औंल्याईएको छ । नागरिक अभिमतबाट कार्यालयमा भएको नागरिक बडापत्रबारे सेवाग्राहीलाई जानकारी दिनुपर्ने र सोहीअनुसार सेवा प्रवाह गरिनुपर्ने, पालिका तहमा सञ्चालन गरिने सार्वजनिक कार्यक्रममा सीमान्त वर्गको उपस्थिति बढाइनुपर्ने, उजुरी पेटिकाको उपयोग प्रभावकारी बनाइनुपर्ने, गाउँपालिकाको आम्दानी र खर्च बाहिर सूचना पाटीमा नियमित टाँस गर्ने व्यवस्था गरिनुपर्ने, सभाबाट कानुन बनाउँदा र कार्यपालिकामा नीति, नियम, निर्देशिका, मापदण्ड तयार गर्दा सरोकारावालाई छलफलमा प्रतिनिधित्वि गराईनुपर्ने, गाउँपालिकाले निर्माण गरेका ऐन, नियम, नीति, निणर्य, बजेट, कार्यक्रम, कार्यप्रगति आदि सम्बन्धी विविरण नियमित रुपमा सार्वजनिक गरिनुपर्ने सुझाव औंल्याइएको छ ।
त्यस्तै बहिर्गमन अभिमतबाट प्राप्त प्रतिक्रियामा राम्रो पक्षसँगै र सुधार गर्नुपर्ने विषयहरु औंल्याइएको थियो । बहिर्गमन अभिमतबाट गाउँपालिकाको हरेक गतिविधि पारदर्शी हुनुपर्ने, सूचना पाटी सबैले देख्ने र बुझ्ने गरी राख्नुपर्ने, सामाजिक सुरक्षाभत्ता घरघरमा पुर्याइदिनुपर्ने, योजनाका कामहरु समावेशी बनाइनुपर्ने, दरबन्दी अनुसार कर्मचारी व्यवस्था गनुपर्ने, कृषि विकास शाखाको कार्यक्रम प्रभावकारी बनाइनुपर्ने, स्वास्थ्य चौकीमा आवश्यकताअनुसारको कर्मचारी र औषधिको व्यवस्थापन गरी सेवा गर्नुपर्नेलगायतका सुधार गर्नुपर्ने विषयहरु औंल्याइएको छ ।
कार्यक्रमको प्रत्यक्ष प्रशारण नयाँ बुलन्द डटकमको अफिसियल पेज https://www.facebook.com/nayabulanda/ बाट भएको थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रमले शासन सञ्चालनमा पारदर्शिता, नेतृत्वमा जवाफदेहिता र सार्वजनिक चासोका बिषयमा आम नागरिकहरूको सूचनामा पहुँचलाई मजबुत बनाउनुका साथै सार्वजनिक सेवा, वस्तु र निर्णय प्रकृयामा आम नागरिकको सहभागितालाई प्रवर्द्धन गर्नेछ ।
जनप्रतिनिधि र कर्मचारीहरूमा जवाफदेही संस्कार बसाउने एवम् दोहोरो संवादबाट जिम्मेवार अधिकारी र नागरिक बीचको दूरी कम गरी सेवा, वस्तु र सुविधा प्रदायक अधिकारी सहजकर्तामा रुपान्तरित भई सुशासनको प्रत्याभूति दिने उदेश्यले माङसेबुङ गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम संचालन सुरु गरेको हो ।
बाँकी सबै वडामा सार्वजनिक सुनुवाई कार्यक्रम संचालन हुने गाउँपालिकाले जनाएको छ ।
कार्यक्रमका तस्विरहरु :


















































