पुरानो पुस्ताका पत्रकार, नयाँ प्रविधि सिक्दै

इलाम : इलामका पत्रकार सोम सुनुवार जिल्लाका पुरानो पुस्ताका पत्रकारमध्येका एक हुन् । तत्कालिन समयको हस्तलिखित पत्रकारिताबाट यस क्षेत्रमा आएका सुनुवार हाल उमेरले ५० वर्ष पार गरिसकेका छन् । विभिन्न साहित्यिक पत्रपत्रिका हुँदै रेडियो पत्रकारितामा आएका सुनुवार पत्रकारिताबाट टाढा कदापी हुन सकेनन्  । सुनुवारसँगै पत्रकारितामा आएका अधिकांश पत्रकारहरु हाल यो क्षेत्रबाटै पलायन भइसकेका छन् ।

तर सुनुवारलाई भने यही क्षेत्र प्यारो लागेको छ । उमेरले पाको हुँदै गएपनि उनको इच्छाशक्ति भने जवानी नै छ । पछिल्लो समय प्रविधिको विकाससँगै सुरु भएको पत्रकारितामा समेत उनको रुचि उत्तिकै छ । संचारमाध्यमहरुले अपनाउन थालेको मल्टिमिडिया प्रणालीमा आफूलाई समेत सँगसँगै डोर्‍याउन चाहन्छन् सुनुवार ।

इलाम सदरमुकाममा आयोजित मल्टिमिडिया पत्रकारिता तालिममा सहभागी भएर सुनुवार नयाँ प्रविधि सिक्दै छन् । बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिले आयोजना गरेको तालिममा आफ्ना थुप्रै विद्यार्थी पत्रकारसहित सुनुवार समेत सहभागी भएका हुन् ।

‘हाम्रो पालामा यस्तो प्रविधि केहि थिएन । सुरुसुरुमा हातले लेख्ने र फ्याक्स गर्ने व्यवस्था मात्र थियो । पछि इमेलको व्यवस्थाले केही सहज बनायो । ‘अहिले त के-के हो के-के । टेक्स, अडियो र भिडियो एकैठाउँमा, त्यो पनि तुरुन्तै’ सुनुवार भन्छन्, ‘छिनछिनमा पाठक, श्रोता र दर्शकलाई सूचना प्रवाह गर्न पछिल्लो समय प्रविधिले ल्याएको सुविधामा जोडिनकै लागि म पनि सहभागी भएको हुँ ।’

सुनुवारसँगै जिल्लामा स्थापित अन्य थुप्रै पत्रकारहरु पनि तालिममा सहभागी भएर नयाँ प्रविधि सिक्दैछन् । नागरिक दैनिकका संवाददाता भीम चापागाई, गोरखापत्र दैनिककी संवाददाता कोकिला ढकालसहित राष्ट्रिय तथा स्थानीय संचारमाध्यममा कार्यरत २२ जना पत्रकारहरु सहभागी छन् ।

आफू पत्रकारितामा नै रहेपनि पछिल्लो प्रविधिसँग नजिक हुनका लागि मल्टिमिडिया पत्रकारिता तालिममा सहभागी भएको नागरिकका संवाददाता चापागाईं बताउँछन् । ‘पत्रकारिता सुरु गरेको झण्डै २० वर्ष जति भयो । तर हरेक तालिममा केही न केही नयाँ कुरा जान्न पाइन्छ’ चापागाईं भन्छन्, ‘मल्टिमिडिया तालिम जिल्लामा पहिलो पटक संचालन भएकाले पनि सहभागी भएको हुँ ।’

तालिममा अधिकांश जिल्लाका अनलाइन संचारमाध्यमका संचालक र सम्पादकहरु समेत सहभागी छन् । प्रविधिमैत्री पत्रकारिता गर्नका लागि तालिमम सहभागी भएको उनीहरुले बताएका छन् ।

सहभागीलाई अनलाइन खबरका सम्पादक वसन्त बस्नेत र नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भिषण राईले सैद्धान्तिक र व्यवहारिक प्रशिक्षण दिईरहेका छन् ।

तालिममा पत्रकारलाई अनलाइन पत्रकारितासँगै मल्टिमिडिया तथा मोबाइलमा भिडियो रिपोर्ट तयार गर्ने कला सिकाईरहेको प्रशिक्षक भिषण राईले बताए । मल्टिमिडिया पत्रकारिता तालिम जिल्लामा पहिलो पटक संचालन भएकाले पनि पत्रकारहरुको उत्साहजनक सहभागीता पाएको उनको भनाई छ ।

तालिम शनिबारसम्म संचालन हुनेछ । पछिल्लो समय इन्टरनेटको प्रयोगले डिजिटल मिडिया प्रयोग ह्वात्तै बढेसँगै यसको गुणस्तर वृद्धिका लागि यस्तो तालिम सञ्चालन गरिएको बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिले जनाएको छ ।

बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिद्वारा संचालित अनलाइन पत्रिका नयाँ बुलन्दको सातौं वार्षि उत्सवको अवसरमा तालिम आयोजना गरेको हो ।  २०७४ वैशाखदेखि संचालित नयाँ बुलन्दले छोटो समयमा लोकप्रियता कायम गर्न सफल भएको छ ।

नेपाल सरकार सूचना तथा प्रशारण विभागमा दर्ता गरेर २०७४ वैशाखदेखि संचालित नयाँ बुलन्दले नागरिकलाई सूचना प्रदान गर्न पहरेदार बन्दै समाजमा व्याप्त भ्रष्टाचार, कालोबजारी, अनियमितता जस्ता नराम्रा पक्षलाई निरुत्साहित गर्दै सत्य, तथ्य र निष्पक्ष सूचना निरन्तर आम नागरिकसामू पुर्याउँदै आएको छ ।

नयाँ बुलन्द प्रेस काउन्सिल नेपाल र विज्ञापन बोर्डमा समेत सूचिकृत छ । नयाँ बुलन्दले युट्युब च्यानल नयाँ बुलन्द अनलाईन टिभी समेत संचालनमा ल्याएको छ

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार