
इलाम : सरकारले इलामसहित देशभर कोरोना भाइरस कोभिड-१९ विरुद्धको दोस्रो बुस्टर डोज खोप दिने भएको छ । सरकारको नियमित कार्यक्रम अन्तरगत इलाममा आउँदो ३ देखि ७ चैतसम्म सबै पालिकाका स्वास्थ्य संस्था र नियमति खोप केन्द्रमार्फत कोभिड विरुद्धको दोस्रो बुस्टर डोज लगाउन लागेको हो ।
नियमित खोप लगाएकाहरुका लागि यो चौथो डोज हो । स्वास्थ्य कार्यालय इलामले दोस्रो बुस्टर डोज खोप लगाउने तयारी तीब्र पारिएको बुधबार संचारकर्मीसँगको अन्तरक्रियामा जनाएको छ । यसअघि पहिलो बुस्टर मात्रा खोप लगाएको ६ महिना पूरा भएकालाई दोस्रो बुस्टर खोप दिने स्वास्थ्य कार्यालय इलामका प्रमुख आदित्य शाक्यले जानकारी दिए ।
पहिलो बुस्टर डोज लगाएको ६ महिना पूरा भएका ५५ वर्ष माथिका सबै नागरिक, स्वास्थ्यकर्मी, संचारकर्मी, गर्भवती, १२ वर्षमाथिका दीर्घ रोगी, रोग प्रतिरोधात्मक क्षमता कम भएका वा त्यस्ता औषधि प्रयोग गरिरहेका ११ हजार चार सय ९२ जना नागरिकलाई खोप लगाउने लक्ष्य लिएको स्वास्थ्य कार्यालय इलामले जनाएको छ ।
त्यस्तै कोभिड-१९ विरुद्धको पहिलो श्रृङ्खलाको पूर्ण मात्रा लगाएको ३ महिना पूरा भएको १२ वर्ष माथिका ६३ हजार चार सय ९३ जना नागरिकलाई पहिलो बुस्टर डोज लगाइने लक्ष्य लिएको स्वास्थ्य कार्यालयका खोप अधिकृत गंगाधर पण्डितले जानकारी दिए ।
दोस्रो खोप लगाएको तीन महिना पुगेकालाई पहिलो बुस्टर र पहिलो लगाएको ६ महिना पुगेकालाई दोस्रो बुस्टरको फाइजर बायोएनटेक खोप दिइने खोप अधिकृत पण्डितले जानकारी दिए ।
इलामका सबै स्थानीय तहका स्वास्थ्य संस्था र नियमित खोप केन्द्र गरी दुई सय २५ स्थानबाट खोप दिइने व्यवस्था मिलाइएको खोप अधिकृत पण्डितले बताए । त्यसका लागि पालिक र वडा स्तरमा समेत खोप सम्बन्धी खभिमुखीकरण भइरहेको उनले जानकारी दिए ।
स्वास्थ्य कार्यालयका प्रमुख शाक्यले कोरोना विरुद्धको खोप निर्धक्क भएर लगाउन सबैलाई आव्हान गरेका छन् । विश्व स्वास्थ्य संगठनबाट मान्यता प्राप्त भएको यस खोपले कुनै असर नगर्ने भएकाले यस खोप लगाउन आह्वान समेत गरे ।
‘पछिल्लो समय कोभिड-१९ विरुद्धको खोप लगाउने क्रम घट्दो छ । धेरैले कोभिडलाई सामान्य रुपमा लिन थालेको पाइएको छ’ शाक्यले भने, ‘तर कोभिडलाई सामान्य रुपमा लिन हुँदैन । धेरैको ज्यान लिइसकेको छ । यसपटकको खोप पछिल्लो समय देखिएको ओमिक्रोन र डेल्टालाई समेत प्रतिरोध गर्ने भएकाले सबैले लगाऔं ।’
कोभिड-१९ विरुद्धको विभिन्न मात्राको खोप लगाउनुपर्ने लक्षित संख्या इलाममा दुई लाख १७ हजार चार सय ७३ रहेकोमा पहिलो मात्राको खोप लगाउने संख्या एक लाख ९९ हजार तिन सय ८८ र दोस्रो मात्राको खोप लगाउनेको संख्या एक लाख ८४ हजार आठ सय १४ जना छन् ।
त्यस्तै पहिलो बुस्टर डोज लगाउने संख्या एक लाख २१ हजार तिन सय २१ रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । पछिल्लो समय कोरोना भाइरस नियन्त्रण हुँदै गएको र नागरिकहरुमा समेत चासो घट्दै गएकाले खोप लगाउनेको संख्या घट्दो रहेको कार्यालयको बुझाई रहेको छ ।















































