
इलाम : आउँदो ५ चैतमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि मनोनयन दर्ता सकिएसँगै विभिन्न क्याम्पसहरुमा राजनीतिक चहलपहल बढेको छ । विद्यार्थी संगठनहरु कहीँ एकल त कहीँ गठबन्धन बनाएर चुनावी मैदानमा उत्रिएका छन् । उम्मेद्वारहरु विद्यार्थीहरुमाझ आफ्ना चुनावी प्रतिवद्धताहरु राख्दै भोट माग्न व्यस्त हुन थालेका छन् । कतिपय उम्मेद्वारहरु क्याम्पसमा उपस्थित भएर त, कतिपय उम्मद्वारहरु विद्यार्थीको घर तथा डेरामा पुगेर मत माग्न व्यस्त छन् ।
स्ववियु चुनावको लागि आआफ्ना प्रतिवद्धताहरु लिएर उम्मेद्वाररुमात्र होइन, विद्यार्थी संगठनका नेताहरु समेत विद्यार्थी भेटघाट, अन्तरक्रिया तथा भोट माग्न व्यस्त छन् ।
तर अधिकांश विद्यार्थीहरु भने स्ववियुको बारेमा अनविज्ञ छन् । न उनीहरुलाई चासो छ, न त चिन्ता नै । विद्यार्थी संगठनका नेताकार्यकर्ताको सक्रियताले क्याम्पसमा चुनाव हुँदैछ भन्ने थाहा छ तर स्ववियुबारे धेरै विद्यार्थीलाई मतलब छैन । उम्मेद्वारहरु र नेताहरुलाई चुनाव लागेपनि विद्यार्थीहरुलाई स्ववियु चुनावले छुन सकेको छैन ।
पूर्वी नेपालको इलामस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसमा यस्तै दृश्य देखिएको छ । मंगलबार महेन्द्ररत्न बहुमुखी क्याम्पसमा स्ववियु उमेद्वारको परिचायात्मक कार्यक्रममा यस्तो देखिएको हो । महेन्द्ररत्न बहुमुखी क्याम्पस निर्वाचन समितिले आयोजना गरेको कार्यक्रममा उम्मेद्वारहरुभन्दा केही संख्या बढी मात्र सहभागी विद्यार्थीहरु देखियो ।
लामो समयसम्म स्ववियुको निर्वाचन नभएका कारण विद्यार्थीहरुमा स्ववियु निर्वाचनको उत्साह नभएको विद्यार्थी संगठनका नेताहरु बताउँछन् । विद्यार्थी संगठनहरुले समेत विद्यार्थीमाझ स्ववियुको बारेमा पर्याप्त जानकारी दिने कार्यक्रम गर्न नसकेको स्वीकार्छन् ।
नेपाल विद्यार्थी संघ इलामका अध्यक्ष टिकाराम पुरीले विद्यार्थीहरुलाई स्ववियुको बारेमा पर्याप्त ज्ञान नभएकाले त्यस्तो भएको बताउँछन् । ‘इलामको हकमा स्ववियु चुनाव नभएको १७ वर्ष भइसक्यो । यतिका समयसम्म चुनाव नभएकाले विद्यार्थीलाई मतलब नभएको हुनसक्छ’ अध्यक्ष पुरीले भने, ‘तर हामी विद्यार्थीको घरघर र कोठाकोठामा गएर बुझाउने प्रयास गरिरहेका छौं ।’
अखिल (क्रान्तिकारी) का अध्यक्ष नयन वान्तवा पछिल्लो समय युवा विद्यार्थीहरु राजनीति चेतनाभन्दा टाढा रहेकाले चुनावी गतिविधिमा कम देखिएको बताउँछन् । ‘यहाँ स्ववियु चुनाव नभएको १७ वर्ष भएछ । ‘यो अवधिमा स्ववियुबारे कहीँ कतै वहस भएन’ अध्यक्ष वान्तावा भन्छन्,’तसर्थ धेरै विद्यार्थीहरु राजनीति भन्दा टाढा रहेकाले यस्तो भएको हुनसक्छ ।’ उनले विद्यार्थी संगठनहरुले समयानुकुल योजनाहरु ल्याउन र राजनीतिक मुद्धाहरु उठान गर्न नसकेका कारण समेत विद्यार्थीहरुमा राजनीतिप्रति वितृष्णा हुँदै गएको बताए ।
नेपाल विद्यार्थी संघ महेन्द्ररत्न बहुमुखी क्याम्पसका पूर्व क्याम्पस इकाई सभापति बबिन राईले स्ववियुले के गर्छ भन्ने नै विद्यार्थीलाई थाहा नभएका कारण विद्यार्थीले चुनावमा ध्यान नदिएको बताउँछन् । ‘स्ववियुका बारेमा कतिपय नेताहरु नै अष्पष्ट छन्’ उनले भने, ‘तर हामी विद्यार्थीको घरघर र कोठाकोठा गएररै भएपनि स्ववियुबारे बुझाइरहेका छौं ।’

महेन्द्ररत्न बहुमुखी क्याम्पसमा अध्यक्षमा तिनजनाले उम्मेद्वारी दर्ता गरेका छन् । दुई जनाले संयुक्त प्यानल बनाएर र एकजनाले एकल उम्मेद्वार छन् ।
एकातिर अनेरास्ववियु, अखिल (क्रान्तिकारी) र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको संयुक्त प्यानल ‘स्वतन्त्र विद्यार्थी प्यानल’ बाट अनेरास्ववियुका दर्शन राईको नेतृत्वमा चुनावी मैदानमा छ भने अर्कोतिर नेपाल विद्यार्थी संघ, अनेरास्ववियू र समाजवादी विद्यार्थी युनियनको संयुक्त प्यानल ‘लोकतान्त्रिक समाजवादी विद्यार्थी प्यानल’ नेविसंघका याकु राईको नेतृत्वमा चुनावी मैदानमा छ । उता अनेरास्ववियु (क्रान्तिकारी) विप्लव एकल रुपमा अध्यक्षमा मात्र विनोद पुलामी मगर चुनावी मैदानमा छन् ।
स्वतन्त्र विद्यार्थी प्यानलबाट प्रत्यक्षतर्फ सचिवमा अखिल (क्रान्तिकारी) का राजेन्द्र लोहार (विक) र कोषाध्यक्षमा अनेरास्ववियुका विशाल कार्कीले उम्मेदवारी दिएका छन् । समानुपातिकर्फ सबैले आआफ्नो संगठनका तर्फबाट उम्मेद्वारी दिएका छन् ।
उता लोकतान्त्रिक समाजवादी विद्यार्थी प्यानलबाट सचिवमा अनेरास्वियूका किरण गौतम र कोषाध्यक्षमा निवाता राईले उम्मेद्वारी दिएका छन् । समानुपातिकर्फ भने आआफ्नो संगठनका तर्फबाट उम्मेद्वारी दिएका छन् ।
महेन्द्ररत्न बहुमुखी क्याम्पस इलाममा २०६२ यता स्ववियु चुनाव भएको छैन ।
चारवटा क्याम्पस भएको इलाममा दुईवटा क्याम्पसमा अनेरास्ववियुको नेतृत्वमा स्ववियु गठन भइसकेको छ । फाकफोकथुम गाउँपालिकास्थित एकतप्पा बहुमुखी क्याम्पस र माई नगरपालिकास्थित गरुवा बहुमुखी क्याम्पसमा अनेरास्ववियुको नेतृत्वमा स्ववियु गठन भईसकेको हो । उता देउमाई नगरपालिकास्थित मंगलबारे बहुमुखी क्याम्पसमा पनि अनेरास्वियु र नेविसंघको नेतृत्वमा चुनाव हुँदैछ ।
यस्तो छ, स्ववियु चुनाव सम्बन्धी व्यवस्था
आउँदो ५ चैतमा हुने स्ववियु निर्वाचन मिश्रित निर्वाचन प्रणालीमा हुनेछ । यसअनुसार स्ववियुको अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहायक सचिव तथा ५० प्रतिशत सदस्य समानुपातिक प्रणालीबाट चयन हुनेछन् ।
दुई सय विद्यार्थी बराबर ११ जनाको कार्यसमिति, दुई सय एकदेखि एक हजारसम्म विद्यार्थी भए १३ जनाको कार्यसमिति, एक हजार एकदेखि तीन हजारसम्म विद्यार्थी भए १९ जनाको र तीन हजार एकदेखि पाँच हजारसम्म विद्यार्थी भए २१ जनाको कार्यसमिति हुनेछन् ।
त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ । उमेरहद २८ वर्ष तोकिएकाले यो निर्वाचनमा १८ चैत २०५१ भन्दा पछि जन्मेका विद्यार्थी मात्र उम्मेदवार बन्न पाउनेछन् ।
पछिल्लो पटक २०७३ सालमा यही प्रणाली (मिश्रित) मा काठमाडौं उपत्यकाका ९ र बाहिरका १७ क्याम्पसमा स्ववियु निर्वाचन भएको थियो । हरेक दुई/दुई वर्षमा हुनुपर्ने स्ववियु निर्वाचन २०६५ सालयता नियमित हुनसकेको छैन ।















































