
इलाम : नेपालकै पहिलो नमुना सुधार गृहको रूपमा भौतिक संरचना निर्माण गरिएको इलाम कारागारभित्र तास खेलेको र मदिरा पिएको भिडियो सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालयले बनाएको छानबिन समितिले प्रतिवेदन बुझाएको छ ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरीकुमार थापाको संयोजकत्वमा बनेको छानबिन समितिले छानबिन त गर्यो, तर मुख्य विषय पत्ता लगाउन सकेन । छानबिन समिति औपचारिकताको लागि मात्र बनेको देखिएको छ । छानबिन समितिले कारागारभित्र मदिरा र तास कसरी प्रवेश गराइयो भन्नेबारे कुनै तथ्य खुल्न नसकेको जनाएको छ ।
तास खेलेको र मदिरा पिएको भिडियो ११ महिना अघिको भएको दावी गरिएको प्रतिवेदनमा मदिरा र तास कारागारभित्र कसरी प्रवेश भयो भन्ने खुल्न नसकेको जनाइएको छ । ११ महिना अघिको भिडियो भएको दावी गरेपनि त्यो बेलाका कर्मचारी र सुरक्षाकर्मीहरुको बारेमा सुक्ष्म अध्ययन नगरेको पाईएको हो ।
प्रतिवेदनले त्यतिबेलाका कर्मचारी र सुरक्षाकर्मीको सेटिङलाई बचाउ गरेको देखिएको छ । प्रतिवेदनले भिडियो पुरानो भएकाले कारागारका अहिलेका कर्मचारी र सुरक्षाकर्मी उक्त घटनामा नमुछिएको देखाएको छ ।
प्रतिवेदनका अनुसार ११ महिनाअघि कारागारको २ नम्बर ब्लकमा एक कैदीको मृत्यु भएको थियो । मान्छे मरेका बेला राति जागै बस्नुपर्छ भन्दै कैदी-बन्दीले तास खेलेको र मदिरा पिएको भिडियो त्यति बेलाका असन्तुष्ट चौकीदारले खिचेको प्रतिवेदनमा उल्लेख गरेको छ । एक कैदीलाई चौकीदारबाट हटाइएपछि उनी असन्तुष्ट रहेकाले उनै चौकीदारले भिडियो रेकर्ड गरेको र एक कहिला कैदीमार्फत सार्वजनिक गराएको निष्र्कश प्रतिवेदनले निकालेको छ ।
समितिले २५ फागुनमा बुझाएको प्रतिवेदनले भिडियो अहिलेको नभएको देखाएपनि कसकसको संलग्नता रहेको खुल्न नसकेको प्रमुख जिला अधिकारी श्रवणकुमार पोख्रेलले जानकारी दिए । भिडियोमा देखिएका केही कैदी यसअघि नै स्थानान्तरण भइसकेको र हाल रहेका सुरक्षाकर्मी पनि घटनामा संलग्न नभएको प्रतिवेदनमा उल्लेख भएको प्रजिअ पोख्रेलले बताए ।
‘भिडियो पुरानो रहेको र हाल त्यतिबेलाका कर्मचारी र सुरक्षाकर्मी नरहेकाले संलग्नताबारे प्रतिवेदनमा प्रष्ट उल्लेख भएको भएन’ प्रजिअ पोख्रेलले भने, ‘तर आगामी दिनमा त्यस्ता गल्तीकमजोरी दोहोरिन नीतिगत सुधारका लागि सुझावहरु आएका छन् ।’
प्रतिवेदनमा आगामी दिनका लागि सातवटा नीतिगत सुझाव दिएको प्रजिअ प्रजिअ पोख्रेलले जानकारी दिए । प्रतिवेदनले आन्तरिक प्रशासनका चौकीदार र नाइकेलाई बढी जिम्मेवार/जबाफदेही बनाउनुपर्ने, कारागारमा लगिने खाद्यान्नको सूक्ष्म जाँच गर्नुपर्ने, कैदी भेटघाट कक्ष व्यवस्थित गरी बढी निगरानी गर्नुपर्ने, कारागार प्रशासन र सुरक्षाकर्मीबिचको समन्वय प्रभावकारी बनाउनुपर्ने, स्थानीय व्यक्तिलाई चौकीदारका रूपमा राख्न नहुने, कारागार प्रशासनका कर्मचारीलाई बढीमा १ वर्ष र सुरक्षाकर्मीलाई ६/६ महिनामा परिवर्तन गर्नुपर्ने जस्ता विषयमा सुझाव दिएको प्रजिअ पोख्रेलले जानकारी दिए
कारागारका कैदीबन्दीले जेलभित्रै तास खेलेको र मदिरा पिएको आएपछि स्थानीय प्रशासनले केही कैदी-बन्दीलाई स्थानान्तरण र सुरक्षाकर्मी हेरफेर समेत गरेको जनाएको छ । आन्तरिक प्रशासनको जिम्मेवारीमा रहेका महिला र पुरुष दुवैतर्फका चौकीदार र भिडियोमा देखिएका कैदीलाई कारागार विभागको निर्देशनमा स्थानान्तरण गरिएको जनाएको छ ।
गत १५ फागुनमा इलाम कारागारभित्रका कैदी र थुनुवाले मदिरा सेवन गरी तास खेलेर मनोञ्जन गरिहरेको भिडियो सार्वजनिक भएको थियो । भिडियो सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत थापाको संयोजकत्वमा तिन सदस्यीय छानबिन समिति गठन गरेको थियो ।
कारागारभित्र निषेधित वस्तु प्रवेश गर्नुमा कार्यालयका कर्मचारी र सुरक्षाकर्मीको सेटिङ भएको भन्द्र व्यापक आलोचना भएको थियो । इलाम कारागारको क्षमता १ सय २५ जनाको रहेको छ ।















































