महिलाका लागि सिङ्गो संसार असुरक्षित

  प्रमिशा घिमिरे
133 Shares

संखुवासभा ,   जति-जति आधुनिक समाजकाे विकास हुँदै जाँदैछ उति उति नै समाजमा महिलामाथि हिंसा दिनप्रति मौलाउँदै गईरहेको छ । साना-साना नानीहरूदेखि बृद्धा आमासम्मले विभिन्न याैन हिंसा बेहाेर्नुपरिरहेकाे छ । चाहे त्याे अश्लिल गाली गलाैज हाेस् वा बलात्कार र घरेलु हिंसा नै किन नहाेस् ।यति धेरै कडाभन्दा कडा कानुन, सचेत नागरिकहरू तथा सञ्चार माध्यमहरू हुँदाहुँदै पनि झन-झन हाम्रा वरिपरि नै पुरूष तथा महिलाबाटै महिला हिंसा किन बढिरहेकाे छ भन्ने प्रश्नकाे उत्तर खाेजी गरिनुपर्दछ । झन्-झन् किन महिला शोषित हुने क्रम समाज र समुदायबाट हट्न सकिरहको छैन ? महिलामाथि हुने विभिन्न खाले हिंसा र महिलाहरु दिन-दिनै उजूरी लिएर प्रशासनकाे पुगेका समाचारहरू सार्वजनिक भइरहँदा पनि बलात्कारको सिकार बनेका कयौँ घटनाहरु छताछुल्ल भइ नै रहेका छन् ।                                                                                                                                किन हुन सकिरहेको छैन परिवर्तन ? विभिन्न सचेतनामूलक कार्यहरु गर्ने संघ संस्थाहरुको संख्या थपिँदाे छ । त्यसका बाबजूद पनि समाज र मानवको सोचमा परिवर्तन आएन किन आखिर ?                                                                                             एउटा हालसाल कै घटना हाे । एउटी पीडित महिला आफ्नै श्रीमानद्वारा भईरहेको अन्याय सहन नसकेर अदालत सम्म पुग्नको लागि सहयोग माग्न एक जना पुरुष वकिलकोमा जाँदा सहयोग गर्छु तर बदलामा सर्त मान्नुपर्छ भन्दै पुरुष वकिलले घृणित प्रस्ताव राखेर पीडा माथी पीडा थपियो भन्दै पीडित महिला अधिकार मञ्चसम्म पीडा पोख्न आईपुगिन् । वास्तवमा नारी कहाँ चाहीँ रहेछिन त सुरक्षित ?                                                                              अन्याय पर्‍यो भनेर न्यायकाे लागि सहयाेगी हात खाेज्न पुगेकी पीडित वकिलकाे व्यवहारले झन् पीडा थपिदिँदा कस्ताे अनुभव हुन्छ हाेला ? आफ्नाे घर समाजदेखि न्यायलयसम्म पनि असुरक्षित देख्ने महिलाले सुरक्षितकाे लागि र न्यायकाे लागि कहाँ सहयाेग माग्न जाने ? अनि भने खोई कहाँ भएकाे रहेछ त सामाजिक रुपान्तरण ? पीडित महिलाकाे लागि सेवासमेत सहयाेग गर्नुपर्नेमा उल्टै याैन हिंसाजन्य कुरा गरेर थप पीडा दिने ती वकिलले कसरी न्याय देलान् ? ती महिलाले अब वकिलमाथि हेर्ने दृष्टिकाेण कस्ताे रहला ?                                                                                             पीडित महिला भन्दै थिइन् वकिलले यति निच सोच राखेर घृणित व्यवहार गर्छन भन्ने साेचेका पनि थिइनन् । मुद्दा जिताउने लालचमा शरिर माग्ने कि वकिलकाे लाग्ने शुल्क ? मुद्दा मामलामा सघाए बापत शुल्ककाे भरपाइ याैन चाहना पूर्तीबाट खाेजिनु कहाँसम्मकाे निच व्यवहार हाे । कतिपय अवस्थामा उच्च ओहदामा बसेका सरकारका मानिस तथा राजनीतिक दलका कार्यकर्ता नै सरकारकै आडमा यस्ता घटना कार्यमा संलग्न भएका घटनाहरू सार्वजनिक हुने गर्दछन् । कतिपय भ्रष्ट नेताहरुका यस्ता गतिविधिका कारण अपराधीलाई हौसला बढेको पो हो भन्दा अनौठो मानिरहनु पर्दैन । किनकी कतिपय ठाऊँमा ठूला-ठूला याैनजन्य घटनाहरूमा नेता तथा कार्यकर्ता नै संलग्न हुनु र कानुनबाट जाेगिनुले प्रष्टै हुन्छ । जघन्य अपराध हुँदा पनि तिनै राज्य सत्तामा रहेका नेताहरुले कानुनको धज्जी उडाउँदै पीडकलाई छुटाउन मरिमेटेर लागेको पनि स्पष्ट हामीले देखेका र भोगेका छौँ ।अब याैन हिंसा हुने न्यायिक क्षेत्रका यस्ता पात्रहरूमाथि पनि कानुनी कारबाही हुनपर्दछ भने पीडितले पनि हिम्मतकासाथ उजुरी हाल्न सक्नुपर्दछ । नत्र यस्तै सानातिना घटनाले गरिमामय न्यायलयकाे इज्जतमा दाग लाग्नसक्छ । यस्ता दाेषाीलाई कारबाहीको दायरामा ल्याउन अति आवश्यक छ अनि मात्र पीडितले न्यायलयप्रति हेर्ने दृष्टिकाेणमा परिवर्तन आउँछ । न्यायोचित न्यायलय मान्न सकिन्छ ।                                                                                        कयाैं परस्त्रीसँग सम्बन्ध बनाएर हिँड्ने पुरुषहरुले कार्यालयदेखि घरमा बाल बच्चा सम्हालेर बसेकी श्रीमतीलाई विभिन्न लाल्छना लगाएर बालबच्चाको भविष्यसँग खेलवाड गर्दै सम्बन्ध विच्छेदको मुद्दा दर्ता गरेर अर्कीसँग विवाह गर्न पाउनु पनि ठीक होइन । यस्ता मुद्दाहरु दर्ता गर्न पाउनु चाहिँ महिला तथा बालबालिका हिंसालाई हौसला दिए सरह होईन र ? यस्ता किसिमको हिंसा किन बढिरहेको छ । नयाँ कानुन निर्माण तथा कार्यान्वयन गरेर झन् महिलाहरुलाई पीडित बनाई पीडकलाई हौसला बढाइरहेको त छैन । कहिँ कतै संस्कार संस्कृतिको रुपमा महिलाद्वारा महिला नै हिंस्रित बन्न र विभिन्न दुर्वयवहार सहन गर्न परिरहेकाे छ । कतै न्यायलयसम्म पुग्न सहारा खोज्दा जोखिममा पर्छन् । देशमा अधिकांश.महिलाहरु लालच र क्षणिक प्रलाेभनमा परेर हिंस्रित भईरहेका छन् ।                                                                                                            महिला हिंसा बिरुद्धको काम गर्ने सञ्जालका महिलाहरु नै पुरातनवादी सोच र संस्कार अनि व्यवाहारबाट परिवर्तित हुन सकिरहेको छैनन् । हरेक घर-घरमा महिलाहरु परिवर्तन हुने हो भने समुदाय समाज अनि सिङ्गाे देश परिवर्तित हुन सजिलो छ । महिलामा आउने विभिन्न समस्याको निराकरण गर्न महिला आफैँ जागरुक भई सोच परिवर्तन गर्न जरुरी छ । नत्र नारी शोषणको कहिले अन्त्य हुने छैन । संविधान र कानुनले भन्दा पनि व्यक्तिकाे मनोमानित चलेकाे हाम्राे व्यवस्थाले अन्योलता अन्त्य हुन सकेकाे छैन । कतिपय राक्षस स्वभाव भएका पुरुषबाट नारीको इज्जत लुटेर बलात्कार गरिएको जघन्य अपराधलाई र बहुविवाह जस्ता अपराधलाई पनि धाक धम्कीको भरमा महिलालाई पीडित बनाइ हिंसा गुपचुप राखि पैसामा मिलेमतो गराइ हिंसा सहन बाध्य गराइन्छ । नयाँ संविधान बनेलगतै कानुन परिर्वतनभएपनि महिलामाथि अन्य अत्याचार गर्ने महिला वा पुरुष जो कोहीलाई बिना कारबाही छोडिएका कयाैं उदाहरणहरू छन् । अब महिलाहरूले प्रलोभनमा पारी, धाकधम्की तथा लोभलालचमा अल्झने हाेइन । न्यायकाे लागि कानुनकाे ढाेका नै ढकढकाउने हाे ।                                                                                          भएपनि महिलामाथि अन्य अत्याचार गर्ने महिला वा पुरुष जो कोहीलाई बिना कारबाही छोडिएका कयाैं उदाहरणहरू छन् । अब महिलाहरूले प्रलोभनमा पारी, धाकधम्की तथा लोभलालचमा अल्झने हाेइन । न्यायकाे लागि कानुनकाे ढाेका नै ढकढकाउने हाे ।राज्यको जिम्मेवार निकाय र सरोकारवालाहरुबाट पनि यस्ता महिला हिंसा र याैन हिंसालाई प्राथमिकतामा राखेर आवश्यक कारबाही अगाडी बढाउनुपर्दछ । पीडकलाई राज्यले कडाभन्दा कडा कारबाही सजाय दिए मात्र परिवर्तित समाजकाे अनुभूति गर्न सकिन्छ । समाजमा महिलालाई हेर्ने कुदृष्टिकाे परिवर्तन गराइ हिंसा रहित समाजको निर्माणमा टेवा पुर्‍याई बलात्कारीलाई कडा कारबाही गर्ने नियम तथा फाँसीको सजाए दिए बलात्कार तथा अन्य विविध महिलामाथी हुने हिंसा तथा अत्याचार कम हुन्छ । हामीले हाम्रा छाेरा छाेरीलाई पनि कसरी समाजमा घुलमिल हुने, कस्ताे व्यवहार गर्ने भन्ने नैतिक शिक्षाकाे पहिलाे जानकारी घरबाटै सिकाउनुपर्दछ । अन्यथा जति नै सचेत, शिक्षित र सम्पन्न भएपनि हिंसाजन्य मानसिकताले समाजलाई उधाेगतितिरनै डाेर्याउँछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार