
इलाम : मिनी मुस्ताङका नामले परिचित पाँचथरको साधुटारमा हिउँ खेल्न पर्यटकको भिड लागेको छ । पानी परेसँगै भएको बाक्लो हिमपात भएपछि जनजिवन प्रभावित त बनेको छ नै तर पनि पर्यटकको भने हिउँखेल्नमा भिड लागेको हो । पौवा भन्ज्याङ आसपासका घरका छाना, रुख, बिरुवा, भिरालो जमीन, खोँच, सडक सबै हिउँले सेताम्य बनेको छ ।

बढ्दो चिसोसँगै स्थानीयको जनजीवन केही कष्टकर बनेको छ भने त्यहाँ पुगेका पर्यटक भने हिउँसँग खुब रमाएका छन् । कोही हिउँमा मानव बनाएर उसैसँग सेल्फी लिइरहेका भेटिन्छन् भने कोही हिउँको डल्लो एकअर्कालाई हिर्काउँदै रमाउँदै गरेका भेटिन्छन् । कोही हिउँ आकाशतिर फाल्दै हिउँ वर्षाको अनुभव सङ्गालिरहेका छन् ।
घुम्न आएका पर्यटक बिहानैदेखि हिउँमा खेल्दै फोटो खिच्दै रमाएका छन् । हिमपातका कारण इलामको सन्दकपुर, कालपोखरी, जौबारी, तुम्लिङलगायत सीमावर्ती पर्यटकीय बजार सेताम्य भएका छन् ।











तस्बिर सबै : प्रकाश नेपाल / नयाँ बुलन्द














































