
माङसेबुङ : आफ्ना नागरिकहरुलाई सहज रुपमा स्वास्थ्य सेवा प्रवाह गराउन माङसेबुङ गाउँपालिकाले सामुदायिक स्वास्थ्य इकाइ विस्तार गरेको छ । वडा नम्बर ३ को मनीपुरमा सामुदायिक स्वास्थ्य इकाइको शाखा विस्तार गरेको हो ।
जनघनत्वका आधारमा मनीपुरमा स्वास्थ्य इकाइको शाखा विस्तार गरिएको माङसेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिङ्गोले बताए । स्वास्थ्य चौकी नभएका वडामा सामुदायिक स्वास्थ्य इकाइ मार्फत सेवा प्रवाह गर्ने प्रावधान अनुसार सो वडामा यसअघिदेखि नै सामुदायिक स्वास्थ्य इकाइ संचालनमा थियो ।
वस्तीस्तरमा स्वास्थ्यको पहुँच विस्तार गर्ने काम सुरु भएको बताउँदै अध्यक्ष इदिङ्गोले जनतालाई पायक पर्ने र ठूलो भूगोलमा बस्ने सर्वसाधारणलाई स्वास्थ्यको सेवा लिन सहज बनाउन सामुदायिक स्वास्थ्य इकाईको शाखाको रुपमा विस्तार गरिएको जानकारी दिए ।
अर्को व्यवस्था नभएसम्मका लागि भन्दै सो शाखामा एक जना अनमी कर्मचारी खटाइएको छ । तत्कालका लागि कर्मचारी नयाँ नियुक्ति गरिएको छैन । माङसेबुङ गाउँपालिका स्वास्थ्य शाखाबाटै एकजना कर्मचारी कामकाजका लागि परिचालन गरिएको छ ।

सो शाखाबाट सामान्य प्राथिमक उपचारको सेवाप्रवाह गर्ने गरिएको त्यहाँ कार्यरत अनमी विमला योङहाङले बताइन् । ‘अन्य सामुदायिक स्वास्थ्य इकाइबाट प्रवाह गरिने सेवा नै प्रवाह भइरहेको छ’ योङहाङले भनिन् ।
गाउँमै सामुदायिक स्वास्थ्य इकाईको शाखा विस्तार भएपछि स्थानीय हर्षित भएका छन् । गत ८ मंसिरदेखि प्रस्तावित आत्मानन्द स्वास्थ्य इकाइको भवनबाट मनीपुर शाखाको सेवा प्रवाह सुरु भएको हो ।
सो भवन निर्माणका लागि स्थानीय केहरसिंह योङहाङले ३ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका थिए । त्यहाँ एक विदेशी नागरिकको सहयोगमा ५ वटा भवन समेतथ निर्माण भएका छन् । तर कानुनी जटिलताका कारण भवन गाउँपालिकाको नाममा रजिस्ट्रेशन हुन सकेको छैन ।
माङसेबुङ गाउँपालिका वडा नम्बर ३, ४ र ५ मा सामुदायिक स्वास्थ्य इकाइ स्थापना भइ सेवा प्रवाह भइरहेको छ । वडा नम्बर १, २ र ६ मा भने स्वास्थ्य चौकी नै रहेको छ ।














































