
इलाम : सिर्जनशील अराजकका अभियान्ता चर्चित कवि हाङयुग अज्ञातको एकल कविता वाचन कार्यक्रम शुक्रबार इलाममा भएको छ ।
फरक आयामको आयोजनामा भएको कार्यक्रममा कवि अज्ञातले ९ वटा कविता प्रस्तुत गरेका थिए । कवस अज्ञातले ‘बाजे भर्सेज बाजे’, ‘आर्यघाटमा’, ‘अछुत’, ‘को हुन् शहिद’, ‘परिवर्तन’, ‘हजुर’, ‘चाउचाउ’, ‘भग्वान विष्णु’ लगायतका कविताहरु वाचन गरेका थिए ।
कार्यक्रममा जिल्लास्थित राजनीतिक दलका नेता, प्राध्याकप, शिक्षक, विद्यार्थी, व्यापारी, कर्मचारी, साहित्यकार लगायत दुई सय बढीको सहभागिता थियो । कार्यक्रम जिल्ला समन्वय समितिको सभाहलमा भएको थियो ।
विगत लामो समयदेखि हङकङमा रही नेपाली कविता सिर्जनारत कवि हाङयुग अज्ञात विगत केही महिनादेखि गृहजिल्ला इलाममा रहेर साहित्यिक क्षेत्रमा क्रियाशील छ ।
उपन्यासकार राजन मुकारुङ र कथाकार उपेन्द्र सुब्बासँगै ‘सिर्जनशील अराजकता’ आन्दोलनमा कवि अज्ञात पनि सक्रियताका साथ लागेका छन् ।
कवि अज्ञातका ‘रंगीत आविष्कार’, ‘ढुंगामुढाको मन’, ‘करङको हिरासत’ लगायत सातवटा कविता कृति प्रकाशित छन् ।
कवि हाङयुग अज्ञात पचासको दशकको उत्तरार्धदेखि नेपाली कवितामा प्रवेश गरेका प्रयोगशील कवि हुन् । राजन मुकारुङ, उपेन्द्र सुब्बा र उनी मिलेर नश्लबोधसहितका प्रयोगात्मक कविता लेखनलाई नेपाली साहित्यमा गति दिएका छन् । अज्ञातले मूलतः उत्तरआधुनिक चिन्तनअनुसार काव्यविम्बमा सांस्कृतिक मिथकहरूको प्रयोग गरेको पाइन्छ ।
कार्यक्रमको प्रत्यक्ष प्रशारण नयाँ बुलन्द अनलाइन टिभीबाट भएको थियो ।



















































