
इलाम : अघि–अघि पञ्चै वाजा, पछि बाहुसे र रोपाहार । पञ्चैबाजाको तालमा संगितमय रोपाइँ गर्दै मनाईने यो पर्व इलाम जिल्लाका विभिन्न ठाउँहरुमा मनाइने गरिन्छ ।
एक सय वर्षभन्दा लामो समयदेखि इलामको मौलिक संस्कृतिका रूपमा स्थापित रोपाइँजात्रा भव्यता रुपमा सदरमुकाममा आज मनाईएकाे हाे ।
पञ्चै वाजाको तालमा रोपाहार र बाहुसेले वजार परिक्रमा गर्दै रोपाइँको अभिनय गरेर यो पर्व मनाउने गरिन्छ । राणा शासनका समयमा इलामका तत्कालीन बडाहाकिम गजराजसिंह थापाले वि.स १९७२ मा सुुरु गरेको रोपाइजात्रा आजकल नेपाल भाषा तथा संस्कृति समाजको अगुवाईमा निकालिन्छ । यसले जिल्लाको पर्यटन प्रवद्र्धनसँगै मौलिक संस्कृतिको संरक्षणमा समेत सहयोग पु¥याउँदै आएको छ । नेवार समुदायमा गठेमंगले मनाएपछि चाडपर्वको आगमन हुने विश्वास रहँदै आएको छ । इलाम कलासंस्कृतिको धरोहर भएकाले युवा पुस्तामा कला संस्कृति जर्गेना गराउन सिकाउने उद्धेश्यका साथ विगत १० वर्षदेखि नेपाल भाषा तथा संस्कृति समाजको पहलमा रोपाइजात्रा संचालन भइरहेको छ ।

जात्रालाई स्थानीय पर्वका रूप मनाउँदै आएकाले इलाम सदरमुकामका साथै जिल्लाका विभिन्न स्थानहरुका विद्यालयहरूमा बिहीबार बिदा समेत दिइएको थियाे । रोपाइँको झल्को दिन अघि–अघि गोरु हली र बाउसे तथा पछि–पछि रोपहारले धान रोपेझैं गरेर यो जात्रा मनाईएकाे हाे । यो जात्रामा पुरुषले महिलाको पहिरन लगाएर धान रोपेको हेर्न पाइएकाे थियाे । रोपाइँजात्राको रौनक हेर्न विगत वर्षहरुमा झैं यस वर्ष पनि पाँचथर, झापा, ताप्लेजुङका आन्तरिक र भारतको दार्जिलिङ, सिक्किम, गान्तोकका बाह्य पर्यटकहरु आएका थिए ।

नेवार र लिम्बू संस्कृतिसँग मिल्दोजुल्दो देखिने जात्रामा पछिल्लो समयमा सबै समुदायको सहभागिता रहेकाे थियाे । जनैपुर्णिमा सकिएपछि कृष्णाजन्माष्टमी आउनुअघिको बिहीबार पारेर इलाम सदरमुकाममा रोपाइँजात्रा निकालिने प्रचलन अनुरुप यसपटक रोपाइँ जात्रा निकालिएको नेवार देय दबुका केन्दिय सदस्य कमल श्रेष्ठले बताए ।
इलाम जिल्लाका अन्य क्षेत्रमा भने यो जात्रा बेग्ला–बेग्लै दिन पारेर निकालिन्छ । संगिनी, बालन लगायतका साँस्कृत झल्कने विभिन्न प्रस्तुती र लोकभाकाले आज सदरमुकाम गुन्जयामान बनेको थियाे ।बर्खा सिजनमा धान रोपेर गलेका स्थानियलाई वजार सम्म गएर एकदिन भएपनि मन भुलाउन मद्धत पुग्ने भएकाले पनि यो पर्व मनाइने गरेको छ ।




















































