के इलाम २ मा जोगिएला त वंश र विरासतको राजनीति ?

वंश-विरासत भर्सेस इमान-निष्ठाको राजनीति

इलाम : इलाम क्षेत्र नम्बर २ मा यसपटक कुन उम्मेदवारले जित हात पार्लान् ? अहिले नै यसै भन्न सकिने अवस्था छैन । मुख्यतः यस घडी नेकपा एमालेलाई वंश र विरासतको राजनीति जोगाउन हम्मेहम्मे देखिइरहेको छ । उक्त दलबाट सुहाङ नेम्बाङ उम्मेदवार छन् । उनी एमालेका तत्कालीन नेता एवं पूर्वसभामुख स्व. सुवास नेम्बाङका पुत्र हुन् । पार्टीले पूर्वसभामुख नेम्बाङको निधनपछि सुहाङलाई उपनिर्वाचनमा उम्मेदवार बनाएको थियो । उनको जितमा तत्कालीन माओवादी निर्णायक बनेको थियो ।

सुहाङले माओवादीको साथ पाउँदा पनि २७ हजार ७ सय ७२ मत मात्र पाएका थिए । जबकि एमालेको समानुपातिक मत नै २६ हजार ५ सय ६२ थियो । माओवादीको ५ हजार १ सय ५३ मत जोड्दा त ३१ हजार ७ सय १५ मत प्राप्त गर्नुपर्थ्यो ।नेपाली कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्काले दोस्रो स्थानमा २१ हजार ९ सय ४२ मत ल्याएका थिए । जुन उक्त दलको समानुपातिक मत २२ हजार ३ सय ३३ भन्दा केही मात्र कम थियो । यसबाट कांग्रेसले पार्टीको मत जोगाउन सकेको देखिन्छ ।

यस्तै पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बूले ११ हजार ४ सय ५७ र रास्वपाका मिलनकुमार योङहाङ लिम्बूले ५ हजार ५० मत ल्याएका थिए । मिलनले पार्टीको समानुपातिक मत ४ हजार ६ सय ८६ भन्दा अलि बढी पाएका हुन् ।

सुवासले २०७९ पनि झिनो मतले मात्र जित हासिल गरेका थिए । उनले ३० हजार २० मत पाउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका डम्बरबहादुर खड्काको पक्षमा २९ हजार ९ सय ६ मत परेको थियो । मतान्तर १ सय १४ मात्र थियो । त्यस बेला कांग्रेसलाई माओवादी र एकीकृत समाजवादीले सघाएका थिए । कांग्रेस छाडेकी जुनु माखिमले स्वतन्त्र उम्मेदवारी दिएकी थिइन् ।

सुवासले २०५६ सालदेखि लगातार चुनाव जित्दै आएकामा वंश र विरासत पछ्याउँदै उनका छोरा सुहाङ राजनीतिमा आएका हुन् । उनका लागि आफू र बुवालाई जिताउँदै आएका समूह नै यसपटक फरक पार्टीमा जानु ठूलो चुनौती बनेको छ । विभिन्न पालिका तथा वडा कमिटीमा भएको विद्रोहले पनि एमालेलाई यो चुनाव जित्न असहज देखिएको छ । कतिपय त उनीसँग प्रतिनिधिसभा सदस्य पदका प्रतिस्पर्धी नै बनेका छन् ।

श्रम संस्कृति र राष्ट्रिय परिवर्तन पार्टीमा जाने पनि अधिकांश उही पार्टीका देखिन्छन् । एमाले छाडेका नेता/कार्यकर्ता भन्छन्, ‘उनी केही स्वार्थ समूहको घेरामा मात्र सीमित भए । बाउ र छोरालाई नै त्यत्रो सघाउँदा पनि केही भएन ।’
यस हिसाबले पनि यो निर्वाचन क्षेत्रमा कांग्रेस बलियो दाबेदार देखिन्छ । यो पार्टीले विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व छानेर जनतामा परिवर्तनको आभास दिलाएको छ । उम्मेदवार भेषराज आचार्य आफैं पनि निष्ठावान्, असल, इमानदार र भरोसायोग्य नेताका रूपमा चिनिन्छन् । उनी पार्टीभित्र मात्र होइन कि बाहिर पनि रुचाइएका बाौद्धिक नेता हुन् ।

त्यसमाथि पार्टी छाडेर गएका/अन्यत्र नगई बसेकाहरू पनि धमाधम फर्किन थालेका छन् । २०७९ मा स्वतन्त्र उम्मेदवार बनेकी माखिम यसपटक कांग्रेसले जित्नेमा आशावादी छिन् ।
नयाँ आएका श्रम संस्कृति र राष्ट्रिय परिवर्तन पार्टीले कुन दलका मत बेसी तान्छन् त्यसमै निर्भर रहनेछ निर्वाचन परिणाम । कांग्रेस र एमाले जसले आफ्नो मत जोगाउँछन् उही नै बलियो बन्ने अवस्था छ । त्यसमाथि थप्न सके त जितको हकदार नै बनिहाल्छन् । श्रम संस्कृतिका नेता/कार्यकर्ता पनि आफूलाई दाबेदारकै रूपमा प्रस्तुत गरिरहेका छन् । उक्त पार्टीका सुदीप राई चुनावी मैदानमा छन् ।

यस्तै नेपाली कम्युनिस्ट पार्टीका ओमबहादुर गुरुङ, रास्वपाका गोकुलबहादुर राई, राष्ट्रिय परिवर्तन पार्टीका दिवस राई, राप्रपाका गणेशप्रसाद दुलाल, मंगोल नेसनल अर्गनाइजेसनका श्यामबहादुर लिम्बू, नेपाल जनमुक्ति पार्टीका यामबहादुर लिम्बू र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सादरसिं लिङ्देन (लिम्बू) उम्मेदवार छन् । नेकपा माओवादीका होमप्रसाद खतिवडा, राष्ट्रिय जनमुक्ति पार्टीकी पवित्रा लिम्बू तुम्बाहाङ्फे, जनता समाजवादी पार्टीका बलबहादुर आङदेम्बे र स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतम पनि प्रतिस्पर्धामा छन् ।

स्वतन्त्र उम्मेदवार गौतम २०७९ मा नेपाली कांग्रेस (बीपी)बाट उठेका देखिन्छन् । उपनिर्वाचनमा पनि उनको उम्मेदवारी परेको थियो । उपनिर्वाचनमा मुढा चिह्‌नमा गएको धेरै मत यसपटक श्रम संस्कृतितर्फ ढल्केको देखिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार