शिक्षककै पहलमा लालबहादुर आविका ८२ जना विद्यार्थीलाई पोशाक

  युद्धबहादुर बोहोरा
119 Shares

पाँचथरः फाल्गुनन्द गाउँपालिका ७, आङसाराङ वांसागुस्थित लालबहादुर आधारभूत विद्यालयमा अध्ययनरत ८२ जना विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको छ।विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक-शिक्षिकाहरूले सामाजिक उत्तरदायित्वको भावनासँगै  संकलन गरिएको कुल रु. ६६ हजार दुई सय रकमबाट ट्र्याकसुट र टिसर्ट खरिद गरी विद्यार्थीहरूलाई पोशाक उपलब्ध गराएका हुन्।

यसैबीच, स्थानीय अभिभावक तथा समाजसेवी अर्पना कुरुम्बाङले आफ्नो जन्मदिनको अवसर पारेर विद्यालयको दिवा खाजाका लागि आवश्यक ४५ थान बटुका र ४५ थान चम्चा सौजन्य प्रदान गरेकी छन्।२०२२ सालमा स्थापना भएको उक्त विद्यालयमा शुक्रबार आयोजित कार्यक्रममा पोशाक तथा सामग्री वितरण गरिएको विद्यालयले जनाएको छ। यसअघि पनि शिक्षक-शिक्षिकाहरूको सौजन्यमा विद्यार्थीहरूलाई स्वेटर वितरण गरिएको थियो।

विद्यालयको भौतिक संरचनाको अवस्था भने सन्तोषजनक छैन। हाल विद्यालयमा रहेको पुरानो ढुंगा-माटोको भवन जीर्ण अवस्थामा रहेको छ भने पर्याप्त खेलमैदानको अभाव छ। वर्षेनी खेलमैदानमा भूक्षयको समस्या देखिँदै आएको विद्यालयको भनाइ छ। अन्य संरचना भने तुलनात्मक रूपमा सन्तोषजनक रहेको जनाइएको छ। विद्यालयमा १२ जनाको दरबन्दीमध्ये हाल १ पद रिक्त रहेको र निर्वाचनपछि उक्त पदका लागि विज्ञापन प्रकाशन गरिने प्रधानाध्यापक सन्ध्या नेम्वाङले जानकारी दिइन्।

हालै शिक्षकहरूको पहलमा कार्यालय प्रयोजनका लागि दराज खरिद गरिएको छ। कार्यालय सञ्चालनमा समस्या तथा सुरक्षा अभाव देखिएपछि नयाँ दराज खरिद गर्नुपरेको विद्यालयले जनाएको छ।विद्यालयले आगामी दिनमा फाल्गुनन्द गाउँपालिकाको शिक्षा शाखामार्फत थप सहयोग प्राप्त हुने आसासहित पोशाक वितरणमा सहयोग गर्ने सम्पूर्ण सहकर्मीप्रति आभार व्यक्त गरिन् । आगामी दिनमा सहयोगी मनहरूको साथ र सहयोगको अपेक्षा गरिएको बताइन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार