
इलाम : यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन लागि इलाम निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार ओमबहादुर गुरुङ ‘सौरव’ ले समृद्ध इलाम निर्माणका लागि तारा चिन्हमा मतदान गर्न इलामवासीसँग अपिल गरेका छन् । नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट उम्मेदवारी दिएका गुरुङले सुशासन, समृद्धि, जनअधिकार र समाजवादतर्फको साझा यात्रालाई केन्द्रमा राख्दै विस्तृत राजनीतिक प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।
प्रतिबद्धता पत्रमा गुरुङले कृषि क्षेत्रमा बीउ-बिजनमा अनुदान, कृषिजन्य वस्तुको व्यवस्थित बजारीकरण, सुकुम्बासी तथा भूमिहीन किसानको पहिचान र जमिन व्यवस्थापनमा पहल गर्ने प्रतिबद्धता जनाएका छन् । पाँच लाख रुपैयाँसम्म पूँजी भएका कृषिसम्बन्धी उद्योग निःशुल्क दर्ताको प्रक्रिया अघि बढाइने, दुग्ध किसानलाई उचित मूल्य सुनिश्चित गर्दै मिल्क होलिडे अन्त्यका लागि धुलो दूध उद्योग स्थापना गरिने उनले उल्लेख गरेका छन् । चिया किसानको हरियो पत्तीको मूल्य स्थायित्वका लागि उद्योगीसँग समन्वय गरिने पनि प्रतिबद्धता जनाएका छन् ।
स्वास्थ्य क्षेत्रमा आपतकालीन स्वास्थ्य कोष स्थापना, स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बनाउने, प्रत्येक स्थानीय तहमा विशेषज्ञ सेवा सहितको सुविधा सम्पन्न स्वास्थ्य केन्द्र निर्माणमा पहल गरिने प्रतिबद्धता जनाइएको छ। इलाम जिल्ला अस्पताललाई शिक्षण अस्पतालको रूपमा विकास गरी जिल्लालाई मेडिकल हब बनाउने योजना पनि प्रतिबद्धतापत्रमा समेटिएको छ ।
पर्यटन प्रवर्द्धनतर्फ सदरमुकाम आसपासका चिया बगान, पानिटार, जितपुरको ध्याउ पोखरी, सिद्धिथुम्का, गुफाथुम्की, पाटेनागी, खान्दुङ गुफालगायत क्षेत्रको सौन्दर्यकरण गरिने बताइएको छ । त्यस्तै माइपोखरी, गजुरमुखी, लारुम्बा, माइस्थान र नारायणस्थानलगायत धार्मिक क्षेत्रलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गरिने प्रतिबद्धता छ ।
युवालाई लक्षित गरी सीटीईभीटीसँग समन्वयमा सीपमूलक तालिम, स्वरोजगार कार्यक्रम, दुर्व्यसन नियन्त्रण अभियान र रोजगारमूलक शिक्षा अनिवार्य बनाउने योजना अघि सारिएको छ । साथै सार्वजनिक पदाधिकारीको सम्पत्ति छानबिन, गरिबी दर पाँच प्रतिशतमा झार्ने, वार्षिक १० हजार रोजगारी सिर्जना, दलित तथा अल्पसंख्यक युवालाई सहुलियत ऋण, सबै किसानलाई परिचयपत्र वितरण, स्वास्थ्य बीमा सर्वसुलभ बनाउनेजस्ता महत्वाकांक्षी लक्ष्यसमेत राखिएको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा तारा चिन्हबाट उम्मेदवारी दिएको उल्लेख गर्दै गुरुङले अत्यधिक बहुमतले विजय गराई समृद्ध इलाम-२ निर्माणको अभियानमा सहभागी हुन सबै मतदातासँग अपिल गरेका छन् । उनले प्रतिबद्धतापत्रलाई चुनावी दस्तावेज मात्र नभई साझा संकल्प र कार्यदिशाका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रतिवद्धतापत्र :


















































