
पाँचथर : उज्यालो नेपाल पार्टीका अध्यक्ष तथा पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले आफू काममा विश्वास गर्ने व्यक्ति भएकाले अनावश्यक आश्वासन बाँड्ने पक्षमा नरहेको बताएका छन्।
मंगलबार पाँचथरको सदरमुकाम फिदिममा आयोजित उज्यालो नेपाल पार्टी र राष्ट्रिय परिवर्तन पार्टीको ‘उज्यालो युग घोषणा सभा’लाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै घिसिङले विकास भाषणले होइन, कामले सम्भव हुने स्पष्ट पारे।
उनले भने, “विद्युत, खानेपानी र पर्यटनसँगै नागरिकको जीवनशैली बदल्ने धेरै काम अझै बाँकी छन्। हामीलाई अवसर दिनुभयो भने गरेर देखाउँछौं। मैले विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुँदा काम गरेर देखाएँ, सरकारको नेतृत्व गर्ने मौका पाए अझ धेरै काम गर्नेछौं।”
विगतमा लोडसेडिङका कारण देश अन्धकारमा डुबेको स्मरण गर्दै घिसिङले आफ्नो नेतृत्वमा छोटो समयमै देशलाई लोडसेडिङ मुक्त बनाइएको बताए। विद्युत नपुगेका गाउँघरमा बिजुली पुर्याइ सिँचाइ, उद्योग तथा कलकारखानामा सहुलियत दरमा विद्युत आपूर्ति व्यवस्थापन गर्न सफल भएको उनको दाबी थियो।
उज्यालो नेपाल पार्टीलाई मतदान गर्नुपर्ने तीन मुख्य आधार रहेको उल्लेख गर्दै उनले विगतमा गरेका काम, नयाँ राजनीतिक विकल्पको आवश्यकता र देशको समृद्धिका लागि तयार पारिएको स्पष्ट योजना नै पार्टीको बलियो पक्ष भएको बताए।
नेपाल विद्युत प्राधिकरणलाई घाटाबाट नाफामा पुर्याई भारत र बंगलादेशमा विद्युत निर्यात गर्न सफल भएको उल्लेख गर्दै यसले देशको आर्थिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको उनको भनाइ थियो। उनले आगामी निर्वाचनमा आफूलाई अत्यधिक मत दिएर विजयी गराउन मतदातासमक्ष आग्रहसमेत गरे।

















































