
इलाम : यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट इलाम क्षेत्र नं. १ का उम्मेदवार रणबहादुर राईले ‘समृद्ध इलाम’ निर्माणका लागि आफ्नो विस्तृत संकल्पपत्र सार्वजनिक गरेका छन् ।
दुई कार्यकाल सूर्योदय नगरपालिकाको नगर प्रमुखको अनुभवलाई राजनीतिक पूँजीका रूपमा प्रस्तुत गर्दै उनले अब त्यो अनुभव सिङ्गो निर्वाचन क्षेत्रको समृद्धिमा लगाउने प्रतिबद्धता जनाएका छन् ।
राईले भ्रष्टाचारमुक्त, पारदर्शी र जनउत्तरदायी प्रशासनका लागि डिजिटल सुशासन लागू गर्ने तथा जेनजी पुस्ताको भावनाअनुरूप जवाफदेहिता सुनिश्चित गर्ने प्रतिबद्धता जनाएका छन् । ‘मेरो उम्मेदवारी पदका लागि होइन, समृद्ध इलामको स्पष्ट मार्गचित्र कार्यान्वयनका लागि हो,’ उनले संकल्पपत्रमा भनेका छन्, ‘निर्वाचित भएपछि प्रत्येक ६ महिनामा प्रगति प्रतिवेदन सार्वजनिक गर्नेछु ।’
कृषि र औद्योगिक विकासमा जोड
राईले अलैंची, चिया, अदुवा, सुपारी, कफी र किबीजस्ता नगदेबालीको व्यवसायीकरण, ब्रान्डिङ र अन्तर्राष्ट्रिय बजार विस्तारका लागि पहल गर्ने योजना अघि सारेका छन् । निजी, सहकारी र सार्वजनिक साझेदारी मोडेलमार्फत उद्योगमा लगानी भित्र्याउने, किबी र गाई जोनलाई ‘सुपरजोन’ बनाउने तथा आलु विकास केन्द्रमार्फत टीपीएस प्रविधि भित्र्याउने प्रतिबद्धता जनाएका छन् । कृषि तथा पशु बीमालाई घरदैलोमा पुर्याउने, सुपारी खेतीलाई औपचारिक कृषि उपजमा सूचीकृत गर्ने र खोरेतमुक्त क्षेत्र घोषणा गरी पशुपालन आधुनिकीकरण गर्ने लक्ष्यसमेत राखिएको छ।
पर्यटन र पूर्वाधार
अन्तर-पालिका पर्यटन गुरुयोजना निर्माण गरी धार्मिक, सांस्कृतिक, कृषि तथा साहसिक पर्यटन सर्किट विकास गरिने उल्लेख गरिएको छ । मदन भण्डारी राजमार्गलाई आर्थिक मेरुदण्डका रूपमा विकास गर्दै क्षेत्रका विभिन्न केन्द्र जोड्ने, सडक सञ्जाल वर्गीकरण गरी अन्तरपालिका तथा अन्तरजिल्ला सम्पर्क सुदृढ गर्ने योजना सार्वजनिक गरिएको छ ।
शिक्षा र डिजिटल नवप्रवर्तन
इलामलाई कोशी प्रदेशकै ‘एजुकेसन हब’ बनाउने लक्ष्यसहित विद्यालय र क्याम्पसमा डिजिटल ल्याब तथा अनुसन्धान केन्द्र स्थापना, विद्यालय तहदेखि नै कोडिङ र आइ शिक्षा लागू गर्ने र सीपमूलक तथा रोजगारमूलक शिक्षामा नीतिगत सुधार गर्ने प्रतिबद्धता गरिएको छ ।
स्वास्थ्य, खानेपानी र सिँचाइ
सुविधासम्पन्न क्षेत्रीय अस्पताल निर्माण, सबै नागरिकलाई राष्ट्रिय स्वास्थ्य बीमामा आबद्ध गराई डिजिटल हेल्थ रेकर्ड प्रणाली लागू गर्ने योजना अघि सारिएको छ । अधुरा खानेपानी आयोजना सम्पन्न गरी प्रत्येक घरमा शुद्ध पानी पुर्याउने तथा आधुनिक प्रविधियुक्त सिँचाइ आयोजना विस्तार गर्ने प्रतिबद्धता जनाइएको छ ।
सामाजिक सुरक्षा र युवा
भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका समस्या समाधान, वैदेशिक रोजगारीबाट फर्केकाको सीप र पूँजी उत्पादन क्षेत्रमा परिचालन तथा अनौपचारिक श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने योजना रहेको छ । युवा लक्षित खेलकुद एकेडेमी, परामर्श केन्द्र स्थापना र ‘संसद–युवा संवाद’ कार्यक्रममार्फत युवालाई नीति निर्माणमा सहभागी गराइने जनाइएको छ ।
भाषा, संस्कृति र वातावरण
आदिवासी तथा स्थानीय समुदायको भाषा, लिपि र संस्कृतिको संरक्षण गर्दै सांस्कृतिक पर्यटनसँग जोडिने कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ । हात्ती, बाँदर र बदेलबाट हुने क्षति न्यूनीकरण, बाढी–पहिरो जोखिम नियन्त्रण र चुरे संरक्षणका लागि तटबन्ध तथा विपद् बीमा कार्यक्रम ल्याइने राईले उल्लेख गरेका छन् ।
डिजिटल इलामको अवधारणा
‘इलाम डिजिटल हब’ स्थापना गरी स्थानीय युवालाई गाउँमै बसेर आइटी आउटसोर्सिङमार्फत आम्दानी गर्ने वातावरण बनाइने योजना सार्वजनिक गरिएको छ । तीन तहका सरकार, निजी क्षेत्र र सहकारीबीच समन्वय गर्दै दिगो विकास लक्ष्य हासिल गरिने राईले दाबी गरेका छन् ।
उम्मेदवार राईले उज्यालो इलाम निर्माणका लागि आफ्नो निर्वाचन चिन्ह ‘तारा’मा मतदान गर्न अपिल गर्दै एक मतले इलामको समृद्धिको आधार तयार हुने विश्वास व्यक्त गरेका छन् ।
संकल्पपत्र :



























































