
इलाम : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नं. २ मा एक स्वतन्त्रसहित १४ जनाको उम्मेद्वारी दर्ता भएको छ । मङ्गलबार इलाम सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा क्षेत्र नं. २ को उम्मेद्वारी दर्ता भएको हो ।
इलाम क्षेत्र नं. २ मा एक स्वतन्त्रसहित १४ जनाको उम्मेद्वारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत रोशन गजुरेलले जानकारी दिए । गजुरेलका अनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सुहाङ नेम्बाङ, नेपाली कांग्रेसका भेषराज आचार्य र नेपाली कम्युनिष्ट पार्टीका ओमबहादुर गुरुङले उम्मेद्वारीको दर्ता भएको छ । विघटित प्रतिनिधिसभा सदस्य सुहाङ स्वर्गीय सुवासचन्द्र नेम्बाङका कान्छा छोरा समेत हुन् ।
त्यसैगरी श्रम संस्कृति पार्टीका सुदिप राई, राष्ट्रिय परिवर्तन पार्टीका दिवस राई, राष्ट्रिय स्वतन्त्र पार्टीका गोकुलबहादुर राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशप्रसाद दुलाल, मंगोल नेशनल अर्गनाइजेशनका श्याबहादुर लिम्बू, नेपाल जनमुक्ति पार्टीका यामबहादुर लिम्बू, राष्ट्रिय जनमुक्ति पार्टीका पवित्रा लिम्बू तुम्बाहाम्फे, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का होमप्रसाद खतिवडा, जनता समाजवादी पार्टीका बलबहादुर आङदेम्बे, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सादरसिंह मादेन (लिम्बू) र डाकप्रसाद गौतमको स्वतन्त्र उम्मेद्वारी दर्ता भएको छ । यहाँ राष्ट्रिय जनमुक्ति पार्टीले मात्र महिलालाई उम्मेद्वार बनाएको छ ।
इलाम क्षेत्र नं. १ मा दुई महिलासहित १३ जनाको उम्मेद्वारी दर्ता भएको निर्वाचन अधिकृत खुमप्रसाद भण्डारीले जानकारी दिए । सूर्योदय नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयमा क्षेत्र नं. १ को म्मेद्वारी दर्ता भएको हो । भण्डारीका अनुसार इलाम क्षेत्र नं. १ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का काजीमान कागते, नेपाली कांग्रेसका निश्कल राई र नेपाली कम्युनिष्ट पार्टीका रणबहादुर राईको उम्मेद्वारी दर्ता भएको छ । रणबहादुर राई सूर्योदय नगरपालिकाका प्रमुख पदबाट मङ्गलबार मात्र राजिनामा दिएर चुनावी मैदानमा होमिएका हुन् ।
त्यसैगरी श्रम संस्कृति पार्टीका विनोद नेम्बाङ लिम्बू, उज्यालो नेपाल पार्टीका हरिबहादुर गुरुङ, राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्वाला नेपाल, नेपाल मजदुर किसान पार्टीका तुल्सी केशरी प्रजापति, मंगोल नेशनल अर्गनाइजेशनका बुद्धलाल मेचे, नेपाल जनमुक्ति पार्टीका डम्बरसिंह लिम्बू, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का नारदमणी साङपाङ, जनता समाजवादी पार्टीका लिलाबहादुर सुनुवार र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका रामप्रसाद लिम्बूको उम्मेद्वारी दर्ता भएको छ । यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीले महिलालाई उम्मेद्वार बनाएको छ ।
जिल्लामा सबैभन्दा कान्छो उम्मेद्वार इलाम क्षेत्र नं. २ मा रास्वपाका गोकुलबहादुर राई (३२) हुन् भने जेठो उम्मेद्वार नेकपा (माओवादी) का होमप्रसाद खतिवडा (६८) हुन् ।
इलाममा दुई लाख ३१ हजार आठ सय मतदाता
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि इलाममा ६ हजार ९ सय ३२ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय इलामको तथ्याङ्क अनुसार इलाममा २ लाख ३१ हजार ८ सय ९ जना मतदाता रहेका छन् । १ लाख १९ हजार ६ सय ४८ पुरुष, १ लाख १२ हजार १ सय ५८ महिला र ३ जना तेस्रो लिङ्गी मतदाता रहेका छन् ।
यो अघिल्लो प्रतिनिधिसभा निर्वाचन-२०७९ को मतदाता सङ्ख्या भन्दा ६ हजार ९ सय ३२ ले बढी हो । अघिल्लो निर्वाचनमा इलाममा २ लाख २४ हजार ८ सय ७७ मतदाता थिए । जसमध्ये १ लाख १५ हजार ९ सय ५२ पुरुष, १ लाख ८ हजार ९ सय २३ महिला र २ जना तेस्रो लिङ्गी मतदाता थिए । फागुन २० गतेसम्म १८ वर्ष पूरा गर्ने व्यक्तिले मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ ।
१० वटा पालिका रहेको इलाममा प्रतिनिधिसधा निर्वाचनका लागि दुईवटा निर्वाचन क्षेत्र छन् । आउँदो निर्वाचनका लागि क्षेत्र नम्बर-१ मा १ लाख १२ हजार ३ सय २० मतदाता रहेका छन् । ५८ हजार ६ सय ७३ पुरुष, ५३ हजार ६ सय ४६ महिला र १ जना तेस्रो लिङ्गी मतदाता रहेको निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्णबहादुर लिम्बूले जानकारी दिए ।
क्षेत्र नम्बर-२ मा १ लाख १९ हजार ४ सय ८९ मतदाता रहेका छन् । ६० हजार ९ सय ७५ पुरुष, ५८ हजार ५ सय १२ महिला र २ जना तेस्रो लिङ्गी मतदाता रहेका छन् ।
निर्वाचनका लागि इलाममा एक सय ९० मतदानस्थालमा २ सय ५० मतदान केन्द्र कायम भएको जिल्ला निर्वाचन अधिकारी देवीचरण फुएँलले जानकारी दिए ।
—






















































