
इलामः योङहाङ समाज, इलामको आयोजनामा बनभोज तथा सम्मान कार्यक्रम माङसेबुङ गाउँपालिका–१ स्थित गजुरमुखी खेलमैदानमा भव्य तथा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। कार्यक्रमको मुख्य आकर्षणका रूपमा शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजा हासिल गर्ने छ जना विद्यार्थी तथा दुई जना कलाकार गरी जम्मा आठ जनालाई नगदसहित सम्मान गरिएको थियो।
निजी विद्यालयतर्फ सिजल योङहाङ माङसेबुङ–१, जुबिलेन्ट इलामबाट ३.७८ जिपीए, बिनुमा योङहाङ फाकफोकथुम–७, जुबिलेन्ट इलामबाट ३.६४ जिपीए तथा आप्लुहाङ योङहाङ देउमाई नगरपालिका–४, जुबिलेन्ट इलामबाट ३.४३ जिपीए सहित सम्मानित भए ।

त्यसैगरी, सामुदायिक विद्यालयतर्फ मौसम योङहाङ माङसेबुङ–२, चिसोपानी माध्यमिक विद्यालय, मिक्लुङबाट ३.५३ जिपीए, निसाम योङहाङ माङसेबुङ–२, दुर्गा माध्यमिक विद्यालय, बाझोबाट ३.४४ जिपीए तथा सुदिप योङहाङ माङसेबुङ–१, महेन्द्रोदय माध्यमिक विद्यालयबाट ३.३१ जिपीए सहित सम्मानित भएको समाजका सचिव दिपक योङ्हाङले जानकारी दिए । यस वर्षको एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने तीन छात्र र तीन छात्रालाई सम्मान गरिएको समाजले जनाएको छ। कार्यक्रममा शैक्षिक सम्मानसँगै सांगीतिक तथा साहित्यिक क्षेत्रमा योगदान पुर्याउने कलाकारहरूलाई पनि विशेष सम्मान गरिएको थियो। सम्मानित कलाकारहरूमा माङ्सेबुङ-१ इलाम निवासीद्वय गायिका स्वस्तिका योङहाङ र गायक तथा रचनाकार इन्द्रप्रसाद योङहाङ रहेका छन् । उनीहरूले कार्यक्रममा सांगीतिक प्रस्तुति दिँदै कार्यक्रमलाई थप आकर्षक बनाएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि माइ नगरपालिका इलामका प्रमुख खम्बसिं योङहाङ, विशेष अतिथि समाजका सल्लाहकार केहेर सिं योङहाङ तथा किराँत योङहाङ कुल वंश प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष दुर्गा योङहाङलगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा इलाम जिल्लाका सातै स्थानीय तहका समाजका प्रतिनिधि, वडा समिति, विभिन्न संघ–संस्थाका प्रतिनिधि, कर्मचारी, पत्रकार, कलाकार तथा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता रहेको थियो। योङहाङ समाज, इलामका अध्यक्ष पञ्चबहादुर योङहाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य समाजका उपाध्यक्ष एनबी योङहाङले राखेका थिए भने कार्यक्रमको सञ्चालन सचिव दीपक योङहाङले गरे ।

यसैबीच, प्रमुख अतिथि माइ नगरपालिकाका प्रमुख खम्बसिं योङहाङले आगामी वर्षको बनभोज तथा योङहाङ समाजको भेला सम्पूर्ण व्यवस्थापनसहित माइ नगरपालिकामै आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे ।

योङहाङ समाज, इलामले सम्मानित विद्यार्थी तथा कलाकारहरूको उज्ज्वल भविष्यको कामना गर्दै आगामी दिनहरूमा शैक्षिक, सांस्कृतिक तथा सामाजिक विकासका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। समाजको जिल्ला कार्यालय निर्माणका लागि फाकफोकथुम गाउँपालिका–७, रुपटारमा जग्गा खरिद प्रक्रिया सुरु भइसकेको र त्यसका लागि आर्थिक संकलन कार्य भइरहेको जानकारी पनि गराइएको छ।
२०७६ सालमा दर्ता भएको योङहाङ समाज स्थापना कालदेखि नै अध्यक्ष पञ्चबहादुर योङहाङको नेतृत्वमा सक्रिय रहँदै आएको छ। समाजले कोरोना महामारीको कठिन समयमा आर्थिक सहयोग संकलन गरी विभिन्न स्थानमा सहयोग पुर्याउनुका साथै निरन्तर समाजसेवाका गतिविधिहरू सञ्चालन गर्दै आएको जनाएको छ।



















































