
पाँचथरः फाल्गुनन्द गाउँपालिकाले आयोजना गरेको दोस्रो उपाध्यक्ष कप ब्याडमिन्टन प्रतियोगिता २०८२ बुधबार घुर्विसे पञ्चमीस्थित कवर्डहलमा सुरु भएको छ। “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारासहित मंसिर १७ देखि १९ गतेसम्म तीन दिनसम्म प्रतियोगिता सञ्चालन हुने छ। कार्यक्रमको उद्घाटन पालिका उपाध्यक्ष ठाकुरसिं नेम्वाङको अध्यक्षतामा भयो।

उद्घाटन समारोहमा जिल्ला समन्वय समिति पाँचथरका सभापति रामराज आङदेम्बे प्रमुख अतिथि तथा मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष सन्तकुमार शेर्मा विशेष अतिथिका रूपमा उपस्थित थिए।

साथै प्रमुख प्रशासकीय अधिकृत देवी तुम्वापो, लेखा शाखा प्रमुख चन्द्रकुमार योङहाङ, फालेलुङ गाउँपालिका लेखा शाखाका प्रमुख दिपेन्द्र चेम्जोङ, वडाध्यक्षहरू नारायण प्रसाद आङ्देम्बे, सन्तोष कुमार नेम्वाङ, बिष्णु कुमार चेम्जोङ, योजना तथा प्रशासन शाखाका प्रमुख निर्मल अधिकारी र जिल्ला ब्याडमिन्टन संघ पाँचथरका उपाध्यक्ष निराजन श्रेष्ठगायतको उपस्थिति रह्यो। खेल सञ्चालनको औपचारिक जिम्मेवारी अम्पायर राजु राई, गणेश राई र अशिम श्रेष्ठले सम्हालेका छन्।

प्रतियोगिता मुख्यतः खुला बी लेवल डब्बल तर्फ केन्द्रित छ, जहाँ टप फाएब रेङकिङ बाहेकका खेलाडीहरूबीच प्रतिस्पर्धा हुने छ। स्थानीय खेलकुदको विकास, प्रतिभा पहिचान तथा युवाहरूलाई सकारात्मक क्रियाकलापतर्फ आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ भने विभिन्न जिल्लाका सह्भागी रहेका छन् ।आवश्यक पूर्वाधार र व्यवस्थापनको तयारी पूरा उद्घाटन गरिएको खेल संयोजक दर्पण अधिकारीले जानकारी गराए ।
यस वर्षको प्रतियोगितामा बी लेवल, फाल्गुनन्द गाउँपालिका डब्बल, कर्मचारी/पदाधिकारी डब्बल, महिला डब्बल, सी लेवल तथा विगिनर डब्बल गरी कुल छ समूहमा खेलहरू सञ्चालन हुँदैछन्। विभिन्न समूहका विजेताले ५ हजारदेखि ३० हजार रुपैयाँसम्मका नगद पुरस्कार प्राप्त गर्नेछन्। प्रवेश शुल्क समूहअनुसार १,५०० देखि २,००० रुपैयाँ तोकिएको छ।
प्रतियोगिताका सबै खेलहरू विडब्लूएफ र एनबीएका नियमअनुसार सञ्चालन गरिने जनाइएको छ । फाल्गुनन्द गाउँपालिकाले खेलकुदमार्फत स्वास्थ्य, अनुशासन र भाइचारा बढ्ने विश्वास व्यक्त गर्दै प्रतियोगिताले स्थानीय युवा तथा खेलकुद वातावरणलाई थप सशक्त बनाउने अपेक्षा जनाएको छ। उद्घाटन खेल विगिनर र सी लेवल बीच पहिलो चरणको प्रतिस्पर्धा भएको छ ।



















































