
इलाम : इलामको माङसेबुङ गाउँपालिका–३ चिबुवामा जारी प्रथम संस्करणको चिबुवा कप फुटबल प्रतियोगितामा पीएफसी महमाई र आयोजक ‘ए’ विजयी भएका छन् ।
शुक्रबा भएको पहिलो खेलमा बोझोला एफसीलाई ४-१ को गोल अन्तरमा पराजित गर्दै पीएफसी विजयी भएको हो । पीएफसीको जितका लागि उदिप लिम्बूले दुई, सुमन लिम्बू र जिसन लिम्बूले एक/एक गोलको योगदान गरेका थिए ।
दोस्रो खेलमा सिङफेरे एफसीलाई ४-० गोल अन्तरमा पराजित गर्दै आयोजक ‘ए’ अघिल्लो चरणमा प्रवेश गर्यो ।
यसअघि बिहीबारको खेलमा आयोजक चिवुवा युथ क्लब ‘बी’ लाई पराजित गर्दै दशमी एफसी, युथ अफ माङसेबुङलाई पराजित गर्दै बतासे एफसी र योङहाङ एफसीलाई पराजित गर्दै कालापानी एफसी विजयी भएको थियो ।
प्रतियोगिता अन्तर्गत शनिबार पहिलो खेलमा बतासे एफसी र पीएफसी महमाई एवम् दोस्रो खेलमा कालापानी एफसी र दशमी एफसीबीच प्रतिष्पर्धा हुनेछ ।
चिबुवा युथ क्लबले आयोजना गरेको प्रतियोगिताको विजेताले ४० हजार र उपविजेताले २५ हजार नगदसहित ट्रफि, मेडल र प्रमाणत्र पाउनेछन् ।
स्थानीय जनकल्याण आधारभूत विद्यालयको खेलमैदानमा जारी प्रतियोगिताको फाइनल आउँदो कात्तिक १० बजे हुनेछ ।
प्रतियोगितामा इलाम र पाँचथरका २४ टिमको सहभागिता रहेको छ ।






















































