
इलाम : अविरल वर्षाका कारण गत असोज १८ गतेको प्रकोपले देउमाई नगरपालिकाभित्र भएका क्षतिको विस्तृत विवरण संकलन तथा राहत–पुनर्स्थापनाको कार्यलाई तीव्र बनाउन नगरपालिकामा सर्वदलिय र सर्वपक्षीय विपद् व्यवस्थापन संयन्त्रको बैठक बसेको छ ।
नगरपालिकाले स्थलगत अनुगमनका लागि खटिएका तीन वटा टोलीमार्फत क्षति विवरण संकलन र राहत सम्बन्धी सिफारिस निरन्तर गरिरहेको जानकारी दिइएको छ । सो संयन्त्रको मङ्गलबार बसेको बैठकले स्थलगत टोलीका प्रतिवेदन र आगामी कार्ययोजनाका विषयमा विस्तृत छलफल गरेको हो ।
बैठकले स्थलगत अनुगमन टोलीले सिफारिस गरेका परिवारलाई तोकिएकै मापदण्डअनुसार राहत प्याकेज उपलब्ध गराउने निर्णय गरेको छ । राहत वितरण कार्य नगर स्तरका संयन्त्रका प्रतिनिधि तथा कर्मचारीको समन्वयमा सञ्चालन गरिने बताइएको छ ।
त्यसैगरी, राहत प्याकेजअन्तर्गत आवश्यक खाद्यान्न सामग्री प्रचलित बजार मूल्यमा उपलब्ध गराउन उद्योग वाणिज्य संघ, शाखा मंगलबारेलाई जिम्मेवारी तोकिएको छ । सो संघलाई हालको संकटका बेला कृत्रिम अभाव वा अस्वाभाविक मूल्यवृद्धि हुन नदिन आवश्यक सहजीकरण गर्न पनि अनुरोध गरिएको बैठकले जनाएको छ ।
बैठकमा शिक्षालय, स्वास्थ्य संस्था, कृषि तथा पशुपालन क्षेत्रमा पुगेको क्षति, त्यसपछिका उद्धार प्रयास र राहत वितरणको अवस्थाबारे समेत विस्तृत समीक्षा गरिएको नगरप्रमुख सूर्यप्रसाद पोखरेलले बताए ।
नगरपालिकाका जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा कर्मचारीहरू सम्मिलित विपद् व्यवस्थापन संयन्त्रले प्रभावित नागरिकका लागि शीघ्र पुनर्स्थापनालाई मुख्य प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएको छ ।

















































